coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

त्रिविमा बेथितिः नेविसघं दिउँसै मैनबत्ती बालेर पदाधिकारी खोज्दै, पदाधिकारी जति युरोपमा

त्रिभुवन विश्वविद्यालयमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ। र, दिउँसै मैनबत्ती बालेर पदाधिकारीहरु खोजिरहेको छ। तर त्यहाँका जिम्मेवार पदाधिकारीहरु भने फिनल्याण्ड भ्रमणमा छन्।

ती पदाधिकारी अनलाइन तथा प्रविधिमैत्री शिक्षाको गुणस्तर सुधार गर्न नयाँ शिक्षण सिकाई पद्धति अध्ययन गर्न गएका हुन्। आन्दोलन र तालाबन्दीले विश्वविद्यालय र विद्यार्थीको भविष्य ध्वस्त बनाइरहेका  बेला पदाधिकारीहरु भ्रमणमा गएका हुन्।

विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बासकोटालगायत रजिष्ट्रार डा. पेशल दहाल, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, खुला तथा दुर शिक्षा निर्देशक गांगा गौतम, अनलाइन शिक्षा कार्यन्वयन गरेका त्रिविका विभिन्न आंगिक कलेजका प्रमुख गरि ११ जनाको टोली फिनल्यान्ड गएको त्रिविले जनाएको छ।

आन्दोलन र तालाबन्दी गर्ने पनि नेपाली कांग्रेसको भातृ संगठन र ती पदाधिकारीलाई विदेश जान स्वीकृत दिने पनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हुन्। 

त्रिविका प्राडा. टंकनाथ धमला भन्छन्, ‘पदाधिकारीहरु विदेश जानु भन्दा पहिले विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफल गर्नुपर्छ, तर गरेनन्। कुलपति तथा सह कुलपतिले पनि विश्वविद्यालयमा राजनीति गन्धलाई रोक्न सकेनन्। आफ्ना भातृ संगठनहरुलाई छुट दिनुको साटो विश्वविद्यालय भित्र राजनीति नगर भनेर सिकाउनुपर्छ।’ उनले पदाधिकारीहरु नियुक्ती लिन घरघर पुग्ने गलत विकृतीका कारण त्रिविको अवस्था जर्जर भएको उल्लेख गरे।

त्रिवि शिक्षाध्यक्ष शिवलाल भूषालका अनुसार त्रिविका पदाधिकारीसहित भ्रमणमा नेपाल खुला विश्वविद्यालयका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका पदाधिकारीलगाएतका २५/२६ जनाको टिम फिनल्यान्डको हम्क र जम्क विश्वविद्यालयमा गएको हो। तर नेपाल विद्यार्थी संघ(नेविसंघ) का विद्यार्थीहरु भने दिउँसै मैनबत्ती बालेर पदाधिकारीहरु खोजिरहेका छन्।

अस्तव्यस्त बनाएर त्रिवि पदाधिकारी विदेश भ्रमणमा गएको बहाना फेरीपनि उनीहरु आन्दोलनमै छ्न्। विरोधका विभिन्न कार्यक्रमहरु गरिरहेका छन्। यही बहानामा मंगलबार उनीहरुले त्रिवि परिसरमा मैनबत्ती बालेका थिए। हातहातमा उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टारको तस्वीर लिएर बसिरहेका थिए।

शिक्षाअध्यक्ष भूषालका अनुसार सबै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै स्वीकृतीमा उनीहरु विदेश भ्रमणमा गएका हुन्। एकातिर नेपाली कांग्रेसका सभापति देउवाले नै भ्रमण स्वीकृत दिएका छन् भने अर्कोतिर त्यही कांग्रेसका भातृसंगठन नेविसले तालावन्दी गरेर आन्दोलन गरिरहेको छ।

‘उहाँहरु कुलपति ज्यूकै स्वीकृति लिएर जानु भएको हो,’ शिक्षाध्यक्ष भूषालले नागरिकसँग भने, ‘कोरोना कालमा विश्वविद्यालयले अनलाइन र डिजिटल शिक्षाको आवश्यकता महसुस गर्‍याे। त्यतिखेर पनि फिनल्यान्डका यी दुई विश्वविद्यालयका प्राध्यापकहरुले  शिक्षण सिकाईको सवालमा निकै सहयोग गरेका थिए।’

उनले स्पष्ट पारे ‘त्रिवि, केयु र खुला विश्वविद्यालय र हम्कजम्क विश्वविद्यालयबीच फिनल्यान्डमै शैक्षिक आदान प्रदान गर्ने, पाठ्यक्रम निर्माणलगायतका काम गर्नेबारे सहमतिपत्रमा हस्ताक्षर हुन्छ। त्रिवि सुधारकै लागि पदाधिकारीहरु फिनल्यान्ड जानु भएको हो।’ यसलाई मुद्दा बनाएर नेविसंघको  आन्दोलनको कुनै औचित्य नरहेको उनको ठहर छ।

‘विश्वविद्यालयमा परिक्षा र प्रश्नपत्र सम्बन्धी उठेका सवालहरुमा छानविन र अध्ययन अनुसन्धान समितिले गरिरहेकै छ। दोषी  देखिएका शिक्षक, कर्मचारीलाई काराबाही हुन्छ भन्दा भन्दै पनि त्रिविमा नेविसंघले अराजक मचाउँदै आएका छन्, ’उनले भने ‘हामी पदाधिकारीहरु त्रिवि जोगाउन र शैक्षिक गुणस्धार सुधारको काम निरन्तर गरिरहने छौं। विद्यार्थीको धाक, धमकी र त्रासका कारण कुनै काम रोकिने छैन।’

कांग्रेसभित्रको अन्तरकहलका कारण नेता पिच्छे खुलेका नेविसंघका विद्यार्थी संगठनले त्रिविमा शक्ति प्रदर्शन गरी आफनो अस्तित्व कायम गर्न खोजेको त्रिविका शिक्षक तथा कर्मचारीहरु गूनासोको छ। यता नेविसंघका नेता श्यामराज ओझा भने पदाधिकारीहरु विश्वविद्यालयलाई अस्तव्यस्त बनाएर मोजमस्ती गर्न फिनल्यान्ड गएको आरोप लगाए। मंगलबार उनकै नेतृत्वमा मैनबत्ती बालेर पदाधिकारी खोज्ने सांकेतिक आन्दोनल भएको थियो।

‘पछिलो समय त्रिविको परीक्षा प्रणाली एकदमै फितलो बन्दै गएको छ। त्रिविले आजसम्म प्रदान गरेको शैक्षिक योग्यताको प्रमाणपत्र तथा त्रिविको विश्वसनीयता माथिनै प्रश्न खडा भएको छ,’ ओझाले भने ‘एमए तेस्रो सेमेस्टरको पब्लिक इकोनोमिक्स र प्रथम सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयका प्रश्नपत्र गत वर्षकै हुबहु दोहर्‍याएर सोधिनु ठूलो अपराध हो।’

उनले औल्याए ‘यति मात्र कहाँ हो र बिबिए छैठौ सेमेस्टरको अर्गनाइजेसन विहिभियर विषयको बोर्ड परीक्षामा निजी कलेजको प्रीबोर्डमा सोधिएको प्रश्न सोधिनु साथै बिबिएकै अन्य चार पेपरहरुमा त्रुटि देखिनु त्रिविका शिक्षक, कर्मचारी र पदाधिकारीहरुको चरम लापरवाही विरुद्ध नेविसंघको आन्दोलन हो।’ उनले त्रिविले दोषीलाई सार्वजनिक गरी कारबाही नगरेसम्म नेविसंघको आन्दोलन जारी रहने जानकारी दिए।

प्रकाशित: २२ भाद्र २०७९ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App