१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

स्याङजाको भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

स्याङजाको भीरकोटमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा सहभागि विभिन्न विद्यालयका विद्यार्थी । तस्बिरः नागरिक

स्याङजाको भीरकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक तथा आर्थिक सहयोग गरिएको छ। विद्यालयका कक्षा १ देखि ९ कक्षासम्म अध्ययनरत गरिब, असहाय, जेहेन्दार, अल्पसंख्यक बालबालिकालाई शैक्षिक सामाग्री सहित विद्यालय पोशाक पनि वितरण गरिएको हो।  

सबैगरि ८१ जना बालबालिकालाई एकवर्षको लागि पुुग्ने शैक्षिक सामाग्री, पोशाक र प्रोत्साहन स्वरुप केही आर्थिक सहयोग गरिएको छ। भीरकोट–पोखरा सामीप्य सदन र मुक्तिनाथ विकास बैंकको सहकार्यमा यो सहयोग गरिएको हो। नगरपालिकाको बालमैत्री दिवस पारेर यो सहयोग गरेको सदनका अध्यक्ष श्यामप्रसाद रेग्मीले बताए।

नगरपालिकाभित्र मावि तहका १२ वटा सामुदायिक विद्यालय छन्। ती मध्ये आइतबार नौवटा विद्यालयका विद्यार्थीलाई सामाग्री दिइएको थियो। यसअघि तीनवटा विद्यालयका विद्यार्थीलाई पनि शैक्षिक सामाग्री वितरण गरिएको रेग्मीले जानकारी दिए।  

शिक्षण सामाग्री र पोशाक बापत एकलाख रुपैयाँ भन्दा बढी रकम खर्च भएको रेग्मीले जानकारी दिए। आइतबार नगरपालिकामा कार्यक्रम आयोजना गरेर सहयोग गरिएको उनले बताए। ‘बैंकले सामाजिक उत्तरदायित्व निभाएको र सदनको पहलमा यो कार्यक्रम गरिएको हो,’ उनले भने, ‘थोरै भएपनि गाउँका बालबालिकालाई सहयोग पुगेको छ।’

कार्यक्रममा बैंकका वरिष्ठ म्यानेजर बाबुराम ढकालले सामाजिक उत्तरदायित्व निभाउने क्रममा यो सहयोग गरिएको बताए। बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निभाउने क्रममा विभिन्न कार्यक्रम गर्दै जाने क्रममा यो पटक विद्यालयका बालबालिकाका लागि सहयोग गरिएको उनले बताए।

प्रकाशित: २३ फाल्गुन २०७८ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App