coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप

बाँकेका एक शिक्षकलाई यौन दुर्व्यवहारको आरोप लागेको छ। कोहलपुरस्थित ज्ञानज्योति माध्यमिक विद्यालय चप्परगौडीका शिक्षक बासुदेव पौडेललाई यहाँ अध्ययनरत एक छात्राले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन्।

यौन दुव्र्यवहारको आरोपव लागेपछि शिक्षक पौडेलले बिहीबार विद्यालय व्यवस्थापन समितिलाई राजीनामासमेत बुझाएका छन्। विद्यालयमा अध्ययनरत सिभिल इन्जिनियरिङ विषयका विद्यार्थीहरुले छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक पौडेलको राजीनामा माग गर्दै बुधबार र बिहीबार प्रदर्शन गरेका थिए। विद्यार्थीहरुको प्रदर्शन उग्र बन्दै जान थालेपछि छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक पौडेलले बिहीबार दिउँसो राजीनामा बुझाएका हुन्। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद लम्सालले शिक्षक पौडेलले राजीनामा दिएको बताए। ‘पौडेल सरको राजीनामा आएको छ,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समितिले स्वीकृत भने गर्न बाँकी छ।’ छात्रालाई यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक विद्यालयमा सञ्चालित सिभिल इन्जिनियरिङ धारका टेक्निकल संयोजक थिए। विद्यालय स्रोतका अनुसार उनलाई निजी स्रोतबाट तलब भत्ता दिनेगरी नियुक्ति गरिएको थियो।

कक्षाकोठामै छात्रामाथि शिक्षक पौडेलले अनेक नाममा यौन दुव्र्यवहार गर्ने गरेको सिभिल इन्जिनियरिङकी एक छात्राले बताइन्। ‘पौडेल सरले हामी छात्रामाथि विभिन्न तरिकाले यौन दुर्व्यवहार गर्नुहुन्थ्यो,’ ती छात्राले भनिन्, ‘सरको यौन दुव्र्यवहार हामीले कहिलेसम्म सहने?’ शिक्षक पौडेलमाथि कक्षाकोठामा कपाल काटेको भन्दै छात्राको शरीर छुने गरेको, चेकिङको नाममा छात्राका गोजीमा हात हाल्ने गरेको लगायतका आरोप लागेका छन्।

सिभिल इन्जिनियरिङ अध्ययनरत एक विद्यार्थीले छात्रालाई काठमाडौं दुई दिनको लागिसँगै जान शिक्षक पौडेलले अफर गरेको जानकारी दिए। ‘एक छात्रा एउटा विषयमा फेल हुँदा उहाँका अभिभावकले रिटोलिङ (पुनः परीक्षण) को लागि निवेदन दिन खोज्नुभयो,’ उनले भने, ‘सरलाई काठमाडौं जान आग्रह गर्दा अभिभावकसँग दुई दिनको लागि छात्रालाई समेत पठाउनुपर्ने बताउनुभयो। एक्लै जानुहोस् भन्दा जान मान्नु भएन।’ सिभिल इन्जिनियरिङमै अध्ययनरत अर्का एक विद्यार्थीले समेत एक छात्रा कपाल काटेर आएको बेला कस्तो नसुहाएको भन्दै शरीरमा धाप मारेको बताए।

‘साथी कक्षाकोठामा कपाल काटेर आएको बेला उहाँले कस्तो केटीजस्तो नदेखिएको भन्दै पछाडिबाट शरीरमा धाप मार्नुभयो,’ उनले भने, ‘उहाँले अनेक तरिकाले छात्राहरुमाथि यौन दुव्र्यवहार गर्नुहुन्छ।’

‘राजीनामाका लागि दबाब दिइयो’

बिहीबार राजीनामा बुझाएका शिक्षक बासुदेव पौडेलले भने आफूले कुनै पनि छात्रालाई यौन दुर्व्यवहार नगरेको दाबी गरेका छन्। आफ्नो जिम्मेवारीका कारण विद्यार्थीहरुलाई केही कडाइ गरिए पनि त्यस्तो दुर्व्यवहार नगरेको उनले बताए। ‘एउटा प्रशासकको रुपमा अलि कडा भएर प्रस्तुत भएको हुलाँ,’ शिक्षक पौडेलले भने, ‘त्यो सबै मैले विद्यार्थीहरुको लागि नै गरेको हुँ। उनीहरुकै भविष्यका लागि थियो त्यो।’

आफूले राजीनामा दिएको नभएर राजीनामा दिन बाध्य पारिएको उनले बताए। ‘मैले राजीनामा दिएको भन्दा पनि दिन बाध्य पारिएको हो भन्दा हुन्छ,’ शिक्षक पौडेलले भने, ‘ममाथि लागेका निराधार आरोप हुन्। बिस्तारै पर्दा पछाडिका कुराहरु खुल्लान्।’

आफ्ना विद्यार्थीहरुलाई दुर्व्यवहार गर्नुभन्दा पनि अभिभावकको भूमिका आफूले निर्वाह गरेको उनले दाबी गरे। परीक्षामा कडाइ गरिएको रिस फेर्न आफूलाई केही विद्यार्थीहरुले हुँदै नभएको आरोप लगाएर राजीनामा दिन बाध्य पारेको शिक्षक पौडेलले बताए। ‘अहिले त्यहाँ भएका अन्य छात्राहरुलाई समेत सोध्दा हुन्छ, म कस्तो शिक्षक हुँ भनेर,’ उनले भने, ‘केहिले रिस फेर्न आरोप लगाउँदा मात्रै हुन्छ र?’

प्रकाशित: ११ पुस २०७८ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App