८ वैशाख २०८१ शनिबार
शिक्षा

सुरक्षा मापदण्ड बिनै विद्यालय संचालन

विद्यार्थीमा कोराेना संक्रमण हुन सुरु

नयाँ भेरियन्टसहितकाे कोराेना भाइरसले बालबालिकालाई बढी असर हुने सम्भावना रहेको भनेर विज्ञहरुले बताइरहेका बेला स्वास्थ्य सुरक्षाका कुनै उपाय र मापदण्ड पालना नगरि कैलालीमा विद्यालय संचालन गरिएका छन्। समुदायमा कोराेना संक्रमण फैलिरहेकै अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड बिना विद्यालय संचालनले बालबालिका कोराेना संक्रमणको उच्च जोखिममा परेका छन्।

साे बारे स्वास्थ्य मन्त्रालयले समेत विज्ञप्ती निकालिसकेको अवस्थामा स्वास्थ्य मापदण्ड नअपनाएरै विद्यालय संचालन गरिनुले बालबालिका कोराेनाको उच्च जोखिममा परेको सेती प्रादेशिक अस्पताल कोराेना उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए। ‘नयाँ भेरियन्टको तेश्रो लहर फैलिएर बालबालिकामा बढी असर गर्छ भनेर विज्ञको राय अनुसार मन्त्रालयले सेमत विज्ञप्ती निकालेको छ’, कमरले भने,‘यो अवस्थामा विद्यालय संचालन गर्न हतार गर्नु हुन्थेन।’

समुदायमा संक्रमण छैन भने मात्र स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय संचालन गर्नुपर्ने उनको भनाइ छ। ‘बालबालिकालाई खोप पनि दिइएको छैन, समुदायमा पनि संक्रमण छ’, उनी भन्छन्,‘यो अवस्थामा विद्यालय संचालन गर्दा बालबालिका कोराेना संक्रमणको उच्च जोखिममा परेका छन्।’ विद्यालय संचालन हुँदा विद्यार्थीहरु बिहानदेखि साँझसम्म सँगै हुने भएकाले एक विद्यार्थीमा संक्रमण भएमा सबै विद्यार्थी संक्रमणको जोखिममा पर्ने उनी बताउँछन्। मास्क लगाए पनि विद्यार्थी दिनभरी सँगै बस्दा एकबाट अर्कोमा सर्ने सम्भावना हुने उनले बताए।

प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो पार्दै स्वास्थ्य मापदण्ड कडाईका साथ शैक्षिक संस्था संचालन गर्न पाउने आदेश जारी गरेपछि कैलालीमा विद्यालय, कलेज लगायतका शैक्षिक संस्था संचालन गरिएका छन्।

विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गरिएका छैनन्

कोराेना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपाय तथा मापदण्ड अनिवार्य अवलम्बन गरेर विद्यालय संचालन गर्ने भनिए पनि विद्यालयहरुले कुनै मापदण्ड पालना नगरि पहिलेको सामान्य अवस्थामा जस्तै विद्यालय संचालन गरेको पाइएको छ। एक मिटरभन्दा नजिकको दूरीमा १५ मिनेटभन्दा बढी समय बस्दा एक व्यक्तिबाट अर्कोमा संक्रमण सर्ने गर्छ। विद्यालयहरुमा पहिलेको जस्तै एउटा बेन्चमा ३ विद्यार्थी बसाएर पठनपाठन गर्ने गरेका छन्। 

ज्वरो नाप्ने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गरिराख्ने जस्ता सावधानीका उपाय अधिकांश विद्यालयलले लागु गरेका छैनन्। कक्षा कोठामा एउटा बेन्चमा ३ जना बस्छन्, एउटै कोठामा ३०, ४० जना विद्यार्थी बसाएर पढाउने गरिएको विद्यार्थीले बताएका छन्। 

यसैगरि विद्यालयमा कक्षा संचालन सुरु हुनु अघि र विद्यालयको पढाई सकिएर घर जाने बेला एक आपसमा दूरी कायम नगरि एक अर्कालाई छोएर, टाँसिएको अवस्थामा विद्यार्थीको भिडभाड हुने गरेको छ। विद्यार्थी बोक्ने विद्यालयका गाडीमा सबैभन्दा बढी लापरबाही हुने गरेको छ। सामान्य अवस्थामा पनि गाडीको सिट क्षमता अनुसार मात्र विद्यार्थी बोक्नु पर्नेमा सिटमा मात्र नभई उभ्याएर कोचाकोच गरेर विद्यार्थीलाई ओसार्ने गरिएको छ।

‘कोराेनाको संक्रमण फैलिरहेका बेला विद्यालय खोलेर स्वास्थ्य सुरक्षाको कुनै मतलव नै गरेको छैन विद्यालयले। बेन्चमा दुई विद्यार्थी बसाल्नु पर्नेमा ३ जना बसालेको छ, कक्षा कोठामा, विद्यालयमा उस्तै भिडभाड छ, गाडीमा कोचाकोचा छ’, अभिभावक किशोर जोशी भन्छन्,‘जथाभावी विद्यालय संचालनले बच्चाहरुलाई धेरै जोखिम छ।’

‘मास्क लगाउन नजान्ने बालबालिकालाई मास्क लगाउनु पनि हानिकारक’

मास्क लगाउने भनिएकाले विद्यालयमा तल्लो कक्षामा पढ्ने ससना बालबालिका पनि मास्क लगाएर विद्यालय जाने गरेका छन्। तर विज्ञहरुले बिधि पुर्याएर मास्क प्रयोग गर्न नजान्ने बालबालिकालाई मास्क लगाउनु बढी हानिकारक भएको बताएका छन्। ‘मास्क लगाउने बिधि नजानेमा कोराेना संक्रमण फैलिने बढी खतरा हुन्छ’, कमर भन्छन्,‘यसैले बालबालिकालाई मास्क लगाउनु उपयोगी देखिँदैन।’ मास्क खोल्ने, लगाउने गर्नाले हातको माध्यमबाट पनि कोराेना संक्रमण फैलिने उनी बताउँछन्।

विद्यार्थीमा कोराेना संक्रमण हुन सुरु

विद्यालय संचालनसँगै विद्यार्थीमा कोराेना संक्रमण देखा पर्न सुरु भएको छ। ऐश्वर्य बिद्या निकेतनका कक्षा ९ मा पढ्ने एक छात्र र दुई शिक्षकमा कोराेना संक्रमण देखिएको छ। विद्यार्थी र शिक्षकमा कोराेना संक्रमण देखिएपछि विद्यालय संचालन गरेको केही दिनमै उक्त विद्यालयमा पठन पाठन बन्द गरिएको छ। बुधबारदेखि असोज ११ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालयका प्राचार्य प्रेम निधी ओझाले बताएका छन्। 

यसैगरि अन्य बालबालिकाहरूमा पनि कोराेना संक्रमण हुने क्रम बढेको छ। ‘कोरानाको संक्रमण भएका बालबालिका अस्पताल भर्ना हुने क्रम सुरु भएको छ’, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने,‘अहिले पनि अस्पतालमा दुई बालक भर्ना भएका छन्।’

‘स्वास्थ्य मापदण्ड पालना नगरेका विद्यालय बन्द गरिन्छन्’

कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो पार्दै भदौ १८ गतेदेखि सरकारले जारी गरेको लकडाउन सम्बन्धी कार्यबिधिको प्रावधानभित्र रहि जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्ने गरि शैक्षिक संस्थामा पठनपाठन गर्न दिने गरि आदेश जारी गरेका थिए। स्वास्थ्य मापदण्ड पालना भए नभएको स्थानीय तहले अनुमगन गरि पालना नभएको पाइएमा ती शैक्षिक संस्था तत्काल बन्द गराउने भनिएको थियो। 

तर स्वास्थ्य मापदण्ड पालना नगरि विद्यालय संचालन हुँदा पनि विद्यालयमा अनुगमन गरिएको छैन। प्रजिअ रिजालले स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतलाई अनुगमनको जिम्मा दिइको बताए। ‘अब म आफै विद्यालयको अनुगमन गरेर मापदण्ड कडाईका साथ पालना नभएका शैक्षिक संस्था बन्द गराउँछु,’ उनले भने।

प्रकाशित: ७ आश्विन २०७८ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App