७ वैशाख २०८१ शुक्रबार
शिक्षा

अब परिवारका जुनै सदस्य पनि शिक्षक बन्न पाउने, मूल्यांकन विद्यालयले गर्ने

सरकारले गृह विद्यालय(होम स्कूलिङ) व्यवस्थापनका लागि आवश्यक सहजीकरण सामग्री तयार गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले होम स्कूलिङको अवधारणा कार्यान्वयनका लागि गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ तयार गरेको हो।

कोभिड १९ को प्रभावबाट नेपाल पनि अछुतो नहुँदा शैक्षिक सत्र २०७६ को अन्त्यमा लिइने विद्यालय तहका अन्तिम परीक्षाहरु सामान्य रुपमा प्रभावित भए भने नयाँ सत्रको सुरुवातसँगै शैक्षिक सत्र २०७७ र २०७८ का प्रत्यक्ष पठनपाठन र आवधिक परीक्षाहरु प्रभावित भएका छन्। यही अवस्थालाई मध्यनजर गरी केन्द्रले सो अवधारणा अघि सारेको छ।

प्रत्यक्ष साक्षात्कारमा आधारित सिकाइ प्रक्रिया अवरुद्ध हुँदा ७० लाख बढी विद्यालय उमेर समूहका बालबालिकाको सिकाइ निरन्तरताका लागि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ र विद्यालय शिक्षाको आकस्मिक कार्ययोजना २०७७ स्वीकृत भई हाल कार्यान्वयनमा रहेको जनाउँदै केन्द्रले सो कार्ययोजनाको वुंदा नं. ११ मा प्रत्येक घर परिवारलाई आफ्ना बालबालिकाको सिकाइमा सघन रुपमा सहभागी बनाउने गरी गृह विद्यालयको अवधारणा कार्यान्वयन गर्ने भनी उल्लेख गरिएकाले सो अवधारणा कार्यान्वयनका लागि सहजीकरण सामग्री तयार गरिएको जनाएको छ।

निर्देशिकामा होम स्कूलिङको परिचय, आवश्यकता, उद्देश्य, होम स्कुलिङ सञ्चालन प्रक्रिया, गृह शिक्षकले गर्न सक्ने दैनिक पाठसँग सम्बन्धित क्रियाकलापहरु, सिकाइ सहजीकरणका लागि अभिभावक, विद्यालयको  कक्षा शिक्षाक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहको शिक्षा हेर्ने शाखा, शिक्षा विकास तथा समन्वय इकाइ र गैरसरकारी संस्थाहरुको भूमिका उल्लेख गरिएको केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले बताए।

अवधारणाले परिवारको जोकोही सदस्य पनि शिक्षक हुने जनाएको छ। ‘गृह विद्यालयको अवधारणा कार्यान्वयनका लागि परिवारका सदस्यहरु जस्तै : आमा, बुबा, दाइ, दिदी, बाजे, बज्यै, पढेलेखेका अन्य सदस्य नै शिक्षक हुन सक्दछन्। उनीहरुले बालबालिकालाई प्रत्येक दिनको कार्ययोजना बनाएर सोही अनुसार पठनपाठनमा सहयोग गर्न सक्छन्। परिवारका सदस्यहरुले बालबालिकाको व्यक्तिगत सरसफाइ, घरको सरसफाइ उनीहरुको संरक्षकको बारेमा ध्यान दिन सक्छन्। सम्बन्धित सेवा क्षेत्रभित्रका विद्यालयका शिक्षकहरुले आवश्यकता अनुसार सम्बन्धित टोलमा गएर गृह शिक्षकलाई अप्ठेरो परेको विषयमा सहजीकरण गर्न सक्छन्। त्यसैगरी गृह शिक्षकले आफूलाई अप्ठेरो परेको विषयमा शिक्षकहरुसँग फोन गरेर वा भेटेर सहयोग लिन सक्छन्।’ कार्यविधिमा भनिएको छ।

यसरी पठनपाठन गराएका विद्यार्थीको मूल्यांकन भने विद्यालय स्वयम्ले गर्ने कार्यविधिमा उल्लेख छ। सो सम्बन्धमा ‘बालबालिकाकाले घरमा सिकेका विषयवस्तुसमेत समेटेर विद्यालयले विद्यार्थीको निरन्तर मूल्यांकनको व्यवस्था गर्ने’ वुंदा उल्लेख छ।

प्रकाशित: १६ भाद्र २०७८ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App