खोटाङ– ‘लकडाउन’को मारमा परेका एसईईका विद्यार्थीलाई लक्ष्यीत गर्दै नेपाल विद्यार्थी संघ खोटाङले रेडियो ट्यूसन कक्षा सुरु गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)का कारण एसईईको परीक्षा स्थगन हुँदा घरैमा बसिरहेका विद्यार्थीलाई लक्षित गर्दै नेविसंघले हलेसी एफएम १०२.४ मेघाहर्जबाट एक महिने ट्यूसन कक्षा सुरु गरेको हो । नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसर पारेर शनिबारदेखि गणित, अंग्रेजी र विज्ञान विषयको रेडियो ट्यूसन कक्षा सुरु गरिएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार बस्नेतले बताए ।
रेडियोबाट दैनिक बिहान ९.१५ बजेदेखि १० बजेसम्म ट्यूसन कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सो अवधिमा विद्यार्थीले रेडियोमा फोन गरेर गणित, अंग्रेजी र विज्ञान सम्बन्धी आफ्नो समस्या लाइभमा जोडिएका विषय शिक्षक समक्ष राख्ने छन् । विद्यार्थीले राखेको प्रश्नको आधारमा लाइभमा जोडिएका शिक्षकले समाधानसहित जवाफ दिने व्यवस्था मिलाइएको नेविसंघका अध्यक्ष बस्नेतले बताए । पहिलो दिन गणित, दोश्रो दिन अंग्रेजी र तेश्रो दिन विज्ञान विषयको ट्यूसन चलाइने छ । अन्य दिन क्रमशः विषय दोहोर्याइने संघले जनाएको छ ।
एसईईको तयारी गरिरहेका खोटाङबाट ३ हजार ६८४ जना परिक्षार्थीले लकडाउनका कारण अन्यत्र ट्यूसन पढ्ने अवस्था नभएकाले बसिरहेकै ठाउँबाट अध्ययन गर्ने वातावरण बनाउने प्रयास स्वरुप रेडियो ट्यूसन कक्षा सुरु गरिएको संघले जनाएको छ । नेविसंघले अघिल्लो वर्ष पनि एसईई लक्षित ट्यूसन कक्षा सञ्चालन गरेको थियो ।
प्रकाशित: ७ वैशाख २०७७ ११:१४ आइतबार