५ मंसिर २०८१ बुधबार
image/svg+xml
शिक्षा

जुम्लाको तिला गाउँपालिका साक्षर घोषणा

<br>

जुम्लाको तिला गाउँपालिका साक्षरता घोषणा भएको छ। मंसिर ५ गते मंगलबार आयोजित एक कार्यक्रमका दौरान तिला गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो। जिल्लाका प्रमुख गौरीनन्द आचार्यले उक्त घोषणा गरे। सर्भेका आधारमा तिला गाउँपालिकामा ९५.४ प्रतिशत साक्षरता दर रहेको जानकारी दिइएको छ।  

तिला गाउँपालिकामा १ देखि ९ सम्मका वडाहरू छन्। शिक्षा शाखा प्रमुख झनमाया खत्रीका अनुसार कुल जनसंख्या १४,५३९ रहेकोमा १५ देखि ६० वर्ष उमेर समूहका ८ सय ६७ जना निरक्षर भएकोमा ८ सय २७ जना साक्षर बनाइएको छ।  

समन्वय समितिका प्रमुख आचार्यले नेपाल सरकारको मापदण्ड अनुसार तिला गाउँपालिका साक्षर घोषणा गरेकोमा धन्यवाद दिँदै, जुम्लामा साक्षरता अभियानलाई उच्च प्राथमिकता दिएको बताए।  तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले भौगोलिक विकटता भएको तिलामा साक्षरता अभियान घोषणाका लागि खटिने सबैलाई धन्यवाद दिए। 

शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश मल्लले जुम्लालाई साक्षरता घोषणाको तयारी भइरहेको बताए। समन्वय प्रमुख आचार्यको अध्यक्षतामा जिल्ला स्थित सरोकारवालासँग साक्षर जिल्ला घोषणा गर्ने विषयमा प्रारम्भिक छलफल गरिसकेको छ।

साक्षर जिल्ला घोषणाका लागि सहयोग तथा व्यवस्थापन समिति समेत गठन गरेको छ। सामाजिक विकास कार्यालय जुम्लाका शिक्षा अधिकृत शिव शंकर चौलागाँईको संयोजकत्वमा ९ सदस्य समिति गठन गरिएको छ। साक्षर जिल्ला घोषणाका लागि स्थानीय तहसँग समन्वय गरिनेछ। 

जुम्लामा तिलासहित हिमा गाउँपालिका, सिँजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिका साक्षरता घोषणा भईसकेका छन्। अब गुठिचौर गाउँपालिकालाई साक्षर घोषणा गर्ने तयारी भइरहेको छ।  

कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९६ प्रतिशत, सिंजामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ। 

तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन्। कनकासुन्दरी गाउँपालिकामा कुल १३ हजार ६ सय २५ जनसंख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर छन्।  

यता पातारासी गाउँपालिकामा १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसंख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर भएका छन्।यता चन्दनाथ नगरपालिकाको तथ्यांक अनुसार  कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर छन्। 

यस्तै सिंजा गाउँपालिकाले कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ। यस्तै हिमा गाउँपालिको कुल जनसंख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन्। हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर छन्।

 

प्रकाशित: ५ मंसिर २०८१ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App