६ मंसिर २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विज्ञान, नैतिकता र समसामयिक मुद्दामा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

विज्ञान, नैतिकता  र समसामयिक मुद्दाहरूमा केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन (आइएसएक्ससी–२०२४) सेन्ट जेभियर्स कलेजमा सुरु भएको छ। विश्वभरका विद्वान, अनुसन्धानकर्ता, विकास कार्यकर्ता र शिक्षाविद् सहभागी सो सम्मेलन बिहिबारदेखि कलेजमा सुरु भएको हो। 

नैतिक ज्ञान र बौद्धिकताको विकास: अन्तर विषय अभ्यास र अनुसन्धान विषयक सो सम्मेलन मार्फत विश्वव्यापी चुनौतीहरूको आलोचनात्मक संवाद सुरु गर्ने लक्ष्य लिइएको छ । सम्मेलनका प्रमुख अतिथि स्लोभाकिया स्थित ट्रान्भा विश्वविद्यालयका प्रा. थलिक मिलोस लिचनर एसजेले यस प्रयासले नैतिक सिद्धान्तको आलोचनात्मक बहस सृजना गर्न, पूर्वीय र पश्चमा दृष्टिकोणको प्रवर्द्धन र विश्वव्यापी संवादका निम्ति पुलको काम गर्ने विश्वास व्यक्त गरे। 

सम्मेलनका मूल वक्ता अमेरिकास्थित सान फ्रान्सिस्को विश्वविद्यालयका प्राडा. रिचर्ड काल्हानले सम्मेलनको महत्त्व संवादमा मात्र सीमित नहुनुपर्ने बताए। बरु ज्ञान वा मान्यतालाई चुनौती दिएर होस् वा पठनपाठनबाट होस्, ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड उनको छ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कलेजका प्राचार्य डा.अगस्टिन थोमस एसजेले सम्मेलन शैक्षिक ज्ञान आदानप्रदानको मात्र नभई यसले सामाजिक, प्राविधिक, प्राकृतिक विज्ञान, र मानविकीलगायतका अभ्यासहरूमा नैतिक सुधार गर्न सक्ने र भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको बताए। विश्वभर छरिएर रहेका विद्धानहरूलाई साझा मञ्च उपलब्ध गराएर आइसिएसएक्ससी–२०२४ एक अभियानको रूपमा अघि बढेको उनको भनाई छ।  

दुई दिने सो सम्मेलनमा रिचुमेकान विश्वविद्यालय जापानकी प्राडा. मिवा हिरोनो, सेन्ट जेभियर्स इन्स्टिच्युट अफ एजुकेसन, भारतका प्राडा. विनी सेवास्टियन, त्रिभुवन विश्वविद्यालय, नेपालका प्राडा. रामेश्वर अधिकारी,  क्युसु युनिभर्सिटी, जापानका प्राडा. शास्वत श्रेष्ठमली र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले आफ्नो प्रस्तुति दिनेछन्।

सम्मेलनको पूर्ण सत्रपछि विभिन्न तीन सभाकक्षमा नेपाल, अमेरिका, भारत, फिलिपिन्स, स्लोभाकिया, जापान तथा दक्षिण अफ्रिकाका ५० अनुसन्धान पत्र प्रस्तुत कार्यक्रम जारी छ। सन् २०२२ पछि कलेजले आयोजना गरेको यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो।

प्रकाशित: २९ कार्तिक २०८१ १७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App