२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

पिपल्स क्याम्पस: जस्ताको छानोदेखि अत्याधुनिक भवनसम्म

‘कुनै बेला पानी पर्दा क्याम्पस नै बिदा गर्नुपर्ने अवस्था थियो। अहिले त्यसमा आमूल परिवर्तन भएको छ’, समुदाय स्तरमा सञ्चालित पकनाजोलस्थित पिपल्स क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष एवं निवर्तमान क्याम्पस प्रमुख निर्मलमणि पन्थी भन्छन्, ‘स्थापनादेखि यहाँसम्म आइपुग्दा धेरै उतारचढाव खेप्नुपरेको छ। अहिले स्रोत साधन उपलब्ध भएको छ। अब हामीले गुणस्तर र अनुसन्धानमा जोड दिएका छौं।’

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसले अनेक उकालीओरालीका यात्रा पार गर्दै बयालीसाैं स्थापना दिवस मनाएको छ। विसं २०३८ मा युवक माध्यमिक विद्यालयको जस्ताको छानाबाट सुरु भएको सो क्याम्पस हाल अत्याधुनिक र सुविधासम्पन्न दुई भवनबाट सञ्चालित छ।

क्याम्पसले व्यवस्थापन संकायमा कक्षा ११ र १२, स्नातक तहमा बीए, बिबीए, बिबीएस र स्नातकोत्तर तहमा एमबीएस कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले बताए।

‘मुनाफारहित यस क्याम्पसले निरन्तररूपमा गुणस्तरीय शिक्षा दिंदै आएको छ। यस छविलाई कायम राख्नेमा हामी विश्वस्त छौं‘, प्रमुख कुँवरले भने। क्याम्पसमा हाल स्नातक र स्नातकोत्तरमा एक हजार तीन सय १० विद्यार्थी र ९९ शिक्षक कर्मचारी छन्।

स्थापना दिवसका अवसरमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालका विश्वविद्यालय र क्याम्पसहरूले गुणस्तरीय उच्च शिक्षा दिन सक्छन् भन्ने आत्मविश्वासका साथ काम गर्नुपर्नेमा जोड दिंदै पिपल्स क्याम्पस एक सफल र उदाहरणीय शैक्षिक संस्था बनेको बताए।

संघीय सांसद गणेश पराजुलीले आफूले सानो छँदा भर्ना गर्ने क्षमता नहुँदा लुकेर पिपल्स क्याम्पसमा पढ्न गएको स्मरण गर्दै आजका युवा र विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न कुनै समस्या भोग्नु नपरोस् भनेर आफूहरूले नीति र कानुन निर्माण काम गरिरहेको बताए।

क्याम्पसका प्राध्यापक संघका अध्यक्ष प्रमोदराज शर्माले क्याम्पसका कुनै पनि समस्या सामूहिक रूपमा छलफल गरेर समाधान खोज्ने गरिएको जनाए। क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति रञ्जित भण्डारीले सो क्याम्पसले आम विद्यार्थीका लागि सर्वसुलभ र गुणस्तरीय शिक्षा दिँदै आएको बताए।

–रासस

प्रकाशित: १२ पुस २०८० ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App