११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिविले ल्यायो पिजिडी कार्यक्रम

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन कार्यालयले तीन दशकभन्दा बढी अवधिदेखि पठनपाठन गराउँदै आएको एक वर्षे बिएड कार्यक्रम हालको समयमा प्रभावकारी नभएको भन्दै खारेजी गरेको छ। साथै, तीन सेमेस्टरको शैक्षिक कार्यक्रम बनाएर ‘पोष्ट ग्राजुएट डिप्लोमा’ नयाँ भर्ना खुलाइएको विश्वविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले जानकारी दिए।

शिक्षा ऐन २०२८ सालकै आधारमा हालसम्म त्रिवि शिक्षा शास्त्र संकायले शिक्षक उत्पादन गर्दै आए पनि ती शिक्षकहरूले परिवर्तित समयअनुसारको कक्षाकोठामा शिक्षण सिकाइ गर्न नसकेको सरकारी अनुसन्धानले औंल्याएको छ।

सोहीअनुसार त्रिविले तीन सेमेस्टरको नयाँ पाठ्यक्रमअनुसार पोष्ट ग्राजुएट डिप्लोमा कार्यक्रम ल्याएको उनले बताए।

‘त्रिवि शिक्षाशास्त्र संकायले तीन वर्षपछि बल्ल नयाँ पाठ्यक्रमअनुसारको पिजिडी कोर्ष ल्याएर विश्वविद्यालयस्तरबाटै तालिम प्राप्त शिक्षक उत्पादन गर्ने जमर्को गरेका छौं,’ डिन बुढाथोकीले भने।

उनका अनुसार शिक्षाशास्त्र संकायले पिजिडीअन्तर्गत विज्ञान, अंग्रेजी, नेपाली, गणित, सामाजिक शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा र आइसिटी विषयमा तीन सेमेस्टरको पोस्ट ग्राजुएट डिप्लोमा कोर्ष सञ्चालन गर्नेगरी भर्ना आवेदन माग गरेको छ।

पहिलो वर्ष त्रिविका १३ आंगिक कलेजमा मात्र यो कार्यक्रम लागु गर्ने अनुमति दिइएको छ। नयाँ कार्यक्रमअनुसार माघ ११ गतेसम्म आवेदन दिने र माघ १४ गते प्रवेश परीक्षा तय गरिएको छ भने २१ देखि कक्षा सञ्चालन हुनेछ। प्रत्येक विषयमा ४० विद्यार्थी कोटा निर्धारण गरी पठनपाठन अघि बढाउने तयारी त्रिविले गरेको उनले बताए।

‘एक वर्षे बिएडले विद्यालयस्तरको बालबालिकाको सिकाइ प्रभावकारी भएन। तीन दशक पुराना कोर्षले कक्षाकोठामा काम गर्न नसकेको निष्कर्षसहित नयाँ कोर्ष ल्याइएको हो,’ उनले भने, ‘शिक्षासम्बन्धी सरकारी नीति स्पष्ट नभएकाले पनि शैक्षिक कार्यक्रम ल्याउन, पाठ्यक्रम परिमार्जन गर्न र कार्यान्वयनमा चुनौती थपिएको छ।

विगतमा सरकारले नै शिक्षा ऐनमै एक वर्षे बिएड गरेका मात्र शिक्षक बन्न पाउने व्यवस्था गर्‍यो। तर, पछिलो बजेट भाषणले शिक्षक बन्न बिएड अनिवार्य हटाइदियो। तर त्यसलाई कार्यान्वयन गर्न शिक्षा ऐन नीति परिवर्तन भएको छैन।’  

हाल शिक्षा संकायले ल्याएको नयाँ विषय तीन वर्षे पिजिडीमा जुनसुकै विषयमा स्नातक उत्तीर्ण विद्यार्थीले भर्नाको अवसर पाउने व्यवस्था त्रिविले गरेको छ।

 ‘मुख्यगरी शिक्षाशास्त्र संकायले तालिमप्राप्त शिक्षक उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम ल्याएको हो,’ डिन बुढाथोकी भन्छन्, ‘तीन सेमेस्टरमा विद्यार्थीलाई विद्यालयको वातावरण, कक्षाकोठामा गरिने शिक्षण सिकाइ, पाठ्यक्रम निर्माण, शैक्षिक सामग्री निर्माण, मूल्यांकन गर्ने विधि तरिकालगायतका विषय अध्यापन गराइन्छ,’ उनले भने, ‘यसले समग्र विद्यालय शिक्षाको कक्षाकोठाको सिकाइ अभिवृद्धिमै सकारात्मक भूमिका खेल्ने त्रिविको विश्वास छ।’

प्रकाशित: ११ पुस २०८० ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App