५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

गुप्तेश्वर क्याम्पस: छोरीबुहारीको अध्ययन थलो

पोखराको धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि छोरीबुहारी अध्ययन गर्ने थलो बन्दै आएकाे छ।

पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क्याम्पस स्थापना गरी सञ्चालनमा आएसँगै यस क्षेत्रका छोरीबुहारीलाई शिक्षा आर्जनमा सहज भएको हो।

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले २०६५ सालदेखि स्थापना गरी यज्ञशाला भवनको दोस्रो तल्लाबाट सुरू भई अहिले आफ्नै आधुनिक सुविधा सम्पन्न भवनमा सञ्चालन हुँदै आएको उक्त क्याम्पसमा हाल कुल नौ सय २९ विद्यार्थी अध्ययनरत छन्। 

यसमध्ये ६९८ (७३ प्रतिशत) छोरीबुहारी अध्ययनरत रहेको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए। उनका अनुसार व्यवस्थापन र शिक्षाशास्त्र संकायततर्फ बिबिएस, बीएड, बिएचएम, बिआइएम र एमबिएस विषयमा स्नातक तहका कक्षा सञ्चालन भइरहेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, लमजुङ, दाङलगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन्। गुणस्तरी शिक्षामा जोड दिएका कारण क्याम्पसमा विद्यार्थीको आकर्षण बढेको उनको दाबी छ।

क्याम्पसले विभिन्न संकायबाट सर्वोत्कृट अंक ल्याउने जेहेनदार एवं विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीका अनुसार क्याम्पसलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि पर्यटकीयस्थल डेभिजफलको उत्तरी भेगमा गुफाले  तीन करोड रूपैयाँभन्दा बढी लगानीमा खरिद गरेको पाँच रोपनी ६ आना र पछि थप गरिएको १३ आना गरी ६ रोपनी तीन आना जग्गामा भवन निर्माण गरिएको छ।

उनले भने, ‘विश्वविद्यालय अनुदान आयोग र गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आर्थिक सहयोगमा तेस्रो तल्ला थप्ने काम भइरहेको छ।’ भारतीय दूतावासको चार करोड १० लाखको आर्थिक सहयोगमा भवन निर्माण गरिएको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ३३ विद्यार्थीबाट सुरू गरिएको क्याम्पस सञ्चालनमा गुफाको २५ करोडभन्दा बढी लगानी भइसकेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए। आव २०७९÷८० मा कुल चार करोड ६७ लाख रूपैयाँ आम्दानी गरेको क्याम्पसको चार करोड ८४ लाख खर्च भएको उनले बताए।

छात्रवृत्ति कोषमा एक करोड  

शैक्षिक क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यका साथ क्याम्पसका विभिन्न संकाय र तहमा नियमित रूपमा अध्ययनरत जेहेनदार, दलित, जनजाति तथा आर्थिकरूपमा पिछडिएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्यका साथ संघसंस्था एवं शिक्षाप्रेमीका तर्पmबाट एक करोड ६ लाख रुपैयाँबराबरको सातवटा अक्षयकोष स्थापना गरिएको छ।

गुप्तेश्वर महादेव गुफा अक्षय कोष एक करोड, खगराज कला साहित्य उत्थान अक्षयकोष एक लाख एक हजार, लिलाकुमारी स्मृति अक्षयकोष एक लाख, प्रा.डा. भूपति ढकाल (कमल) पुर्खाको स्मरणमा दुई लाख २२ हजार दुई सय २२, इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था अक्षयकोष ५० हजार, लक्ष्मी पौडेल जेहेनदार तथा गरिब छात्रवृत्ति अक्षयकोष ५२ हजार र धर्मकला पौडेल स्मृति अक्षयकोष ५१ हजार एक सय ५१ रुपैयाँ रहेका छन्।

अक्षयकोषको ब्याजबाट चालु आवमा एक सय ३३ विद्यार्थीले १२ लाख छात्रवृत्ति वितरण गर्ने कार्यक्रम छ। विश्वविद्यालय अनुदान आयोगबाट १८ विद्यार्थी विभिन्न विधामा छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्। क्याम्पसमा पूर्णकालीन र आंशिक गरी कुल ३४ शिक्षक र ११ कर्मचारी कार्यरत छन्। –रासस

प्रकाशित: २ पुस २०८० ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App