८ मंसिर २०८१ शनिबार
image/svg+xml
शिक्षा

‘सिक्दै, कमाउँदै’का विद्यार्थीको लोभलाग्दो फूल खेती

त्रिवेणी मावि कटारीका कृषिधारका विद्यार्थी सयपत्री फूलखेती स्याहार्दै। तस्बिर: महेश्वर/नागरिक

जिल्लाको पश्चिमीबजार कटालिका–४ स्थितत्रिवेणी नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘सिक्दै कमाउँदै’ गर्ने अवसर मात्र प्राप्त भएको छैन, व्यावसायिक ज्ञान र सिपसमेत पाउने मौका मिलेको छ।

प्राविधिक शिक्षाको कृषिधारतर्फ बाली विज्ञान विषयमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई व्यावसायिक खेती गर्दै आय आर्जनसँगै ज्ञानको अनुभव पनि बटुल्ने अवसर मिलेको हो।

प्राविधिक शिक्षा भएकाले वस्तुगत र प्रयोगात्मक ज्ञान अनिवार्य लिनुपर्ने विद्यार्थीलाई पुस्तकमा पढ्नुपर्ने विषयप्रयोगमा ढाल्ने मौकाले दोहोरो फाइदा पुर्‍याएको छ। विद्यार्थी पढ्ने स्कुलनजिकैको करेसाबारीमा तरकारी, फलफूल खेती गर्ने अवसर जुरेको छ। यहाँ उनीहरू कक्षामा सैद्धान्तिक ज्ञान लिनेबाहेक प्रयोगात्मक अभ्यास गर्न गइरहन्छन्।

पुस्तकमा पढेका विषयलाई प्रयोगात्मक अभ्यास गर्न खेतबारीमा पुग्दा उनीहरू अध्ययनसँगै इलममा रमाउन पुग्छन्।

प्रयोगात्मक अभ्यास गर्ने क्रममा उनीहरूलाई कुन तरकारी, बालीबरुवा रोप्ने, गोड्ने, स्याहार्ने वाफ लाएर टिप्नेसम्मको ज्ञान हासिल गर्न पाउँछन्।

पढ्न जान्ने विद्यार्थी प्रयोगात्मक अभ्यासमा झन् बढी रमाउने गरेका छन्। कक्षा १२ का विद्यार्थी राजु ठाकुरलाई प्रयोगात्मक अभ्यास पुस्तकको पढाइभन्दा आनन्द आउने गरेको छ।

अहिले उनलाई आफ्नै कक्षाकोठा अगाडि लगाइएको पाँच कठ्ठा जमिनको फूल खेती स्याहार्न पाउँदा निकै रमाइलो लाग्ने गरेको छ।

तिहारलाई लक्षित गरी लगाइएको सयपत्री फूलको खेती अहिले ढकमक्क फुल्दैछ। खेतमा तीन महिनाअघि सयपत्री बिरुवा लगाउँदा अहिले आएर यति रमाइलो होला भन्ने कल्पना पनि थिएन। बिरुवा रोपेदेखि स्याहार्दै गोडमेल र मलजल गर्दै आएका ठाकुरलाई अहिले फुल्दै गएको फूलबारी देख्दा अचाक्ली आनन्द आउने गरेको छ।

‘तीन महिनाअघि साथीहरू मिलेर यहाँ सयपत्रीका बिरुवा रोपेका थियौं, तर अहिले यति राम्रो हुन्छ भन्ने त सोचेकै थिएनौं,’ आइतबार दिउँसो फूल स्याहार्दै गरेको अवस्थामा भेटिएका राजुले भने, ‘अहिले त कक्षामा किताब पढेको पाठभन्दा खेतमा गएर फूल स्याहार्दा झन् आनन्दा आउँछ।’

खेतमा आएर प्रयोगात्मक ज्ञान लिँदा समय बितेको समेत पत्तो नपाउने गरेको उनले बताए। बिरुवा रोपेदेखि फुल्दासम्मको अवस्था प्रत्यक्ष निगरानी गर्न पाएका उनले फूलको वृत्ति विकास कसरी हुने, केके कुरा चाहिने भन्ने विषयमा राम्रो अध्ययन गर्न पाएको उनले बताए। कक्षा १० सम्मको पढाइसँग तुलना गर्दै उनले भने, ‘अभ्यासहितको पढाइले पो धेरै ज्ञान र सिप बढाउँदो रहेछ, किताब मात्र रटेको पढाइ त के काम पो रहेछ र?’

अर्का विद्यार्थी विनोद कार्कीलाई पनि फूल खेतीमा काम गर्दाको आनन्द बेग्लै लाग्छ। बिरुवा रोपेदेखि फुल्दासम्म प्रत्यक्ष स्याहारमा खटेका उनलाई सयपत्री फूलको खेतीबारे राम्ररी ज्ञान लिन पाएको अनुभव छ। यो वर्ष सयपत्री फूलखेतीको पुस्तक र प्रयोगात्मक अध्ययन गरेका उनलाई अरू फूलको पनि खेती गर्ने इच्छा जागेको छ। आफूहरूले लगाएको फूल राम्रो सप्रेर सोचेको भन्दा बढी उत्पादन दिएको भन्दै उनीहरूलाई अब राम्रो बजारको व्यवस्था भए हुन्थ्यो भन्ने लागेको छ। अहिलेसम्म बजारको ग्यारेन्टी नभए पनि तिहार नजिकिएको हुनाले फूल खेर नजाला भन्ने आस पलाएको छ।

ठाकुर र कार्कीसँग विद्यालयका १२ कक्षा अध्ययनरत ३० विद्यार्थीमध्ये यो फुलखेती आठजनाको भने व्यावसायिक खेती हो। अर्थात् यसमा लागेको विद्यालयको लगानी कटाएर बाँकी आम्दानीको हकदार उनीहरू नै हुन्।

जग्गाको भाडा, बिरुवा उमार्नेदेखि फूल फूलेसम्मको लगानी विद्यालयबाट गएको र फूल बिक्री भएर आउने रकमबाट लगानी कटाएर आउने नाफा उनै आठजनाको हुने ठाकुरले बाए। यही दसैं तिहारभित्र फूल बिक्री गरिसक्ने अठोट लिएका विद्यार्थीलाई त्यही आम्दानीबाट दसैं तिहार मनाउने योजना बनाएका छन्।

 अहिलेसम्म पढाइ खर्च व्यहोरेका आमाबालाई अब भने थप खर्च नगराउने विचारमा आफूहरू रहेको कार्कीले बताए। ‘अहिलेसम्म आमाबाले पढाउनुभयो, अब हामी पनि कमाउन थाल्यौं, त्यसैले यो तिहारमा यही फूल बेचेर खर्च जुटाउँछौं,’ उनीहरूले एकै स्वरमा भने।

अघिल्लो ब्याचका कक्षा १२ उत्तीर्ण १० जना विद्यार्थीले पनि यस्तै खेती गरेका छन् तर, सदरमुकाम गाईघाटमा। कक्षा १२ उत्तीर्णपछिको प्रयोगात्मक अभ्यासमा सयपत्रीकै व्यावसायिक फूलखेती गर्ने विद्यार्थीमध्येका विवश लामिछानेले त्रियुगानगरपालिका–१० स्थित बोक्सेमा खेती गरेको बताए। उनीहरूको सयपत्री अहिले ढकमक्क फुल्ने तयारीमा छ।

लामिछानेका अनुसार बोक्सेमा एक बिघा जमिन भाडामा लिएर सुरु गरेको व्यावसायिक फूलखेती अहिले उत्पादन दिने बेलामा पुगेको छ। केही दिनअघि त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले स्थलगत अवलोकन गरेर विद्यार्थीलाई ढाडस दिएका थिए। उनले पढ्दै कमाउँदै गर्ने संस्कृति विद्यार्थीमा विकास हुनु अत्यन्त खुसीको कुरा भएको भन्दै प्रोत्साहनका लागि नगरपालिकाले गर्ने हरेक कार्यक्रममा विद्यार्थीले उत्पादन गरेको फूल प्रयोग गर्ने र खादाको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका छन्।

विषय शिक्षक कैलाश राउतले कृषि धारतर्फका विद्यार्थी व्यावसायिक फूलखेतीमा रमाउन थालेको बताए। गत वर्ष थोरै जमिनमा लगाइएको सयपत्री फलबाट पनि लागत कटाएर भएको एक लाख आम्दानी विद्यार्थीले पाएको राउतले बताए। यसवर्ष त्योभन्दा धेरै जमिनमा खेती लगाइएकाले राम्रै नाफा कमाउने अपेक्षा गरिएको उनको भनाइ छ। यसवर्ष गाईघाटमा एक बिघा र कटारीमा पाँच कठ्ठामा फूलखेती लगाएका विद्यार्थीले आम्दानी पनि बढाउने अनुमान उनको छ।

प्रधानाध्यापक बालकृष्ण कार्कीले प्राविधिक शिक्षा सधैं उपयोगी हुने भएकाले विद्यार्थीहरू अहिले मात्र नभएर भविष्यसम्म गरिखान सक्नेमा ढुक्क रहेको बताए।

पुस्तकको पढाइसँगै व्यावहारिक ज्ञान दिइने प्राविधिक शिक्षाको प्रारम्भमै विद्यार्थीहरू व्यावसायिक फूलखेतीमा लाग्नुले उनीहरू भविष्यमा कर्म गरेर खानसक्ने खालको शिक्षा पाएको भन्ने उनलाई लागेको छ। उनका अनुसार फूलखेतीमा विद्यालयको यो तेस्रो वर्षको लगानी हो।सुरु वर्ष खासै नाफा घाटाको कुरा नभएको तर गत सालको नाफाले उत्साहित भएका विद्यार्थीले चालु वर्ष दुई ठाउँमा फूलखेती लगाएको कार्कीले बताए।

कार्कीले सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत यो खेतीमा लाग्ने लगानी कटाएर बँचेको आम्दानी विद्यार्थीले बाँडेर लिन पाउने व्यवस्थाअनुसार स्कुलले लगानी गरेको बताए। आम्दानी लिन पाउने भएपछि व्यावसायिक खेती गर्न विद्यार्थी उत्साहित भएर लागेको पनि कार्कीले बताए।

विद्यालयका लेखापाल सुभाष कार्कीले यो वर्ष कटारी र गाईघाटमा लगाइएको दुई ठाउँको फूलखेतीमा विद्यालयको तीन लाख लगानी परेको बताए। विगत वर्षको तुलनामा त्यत्ति लगानीले कम्तीमा पाँच लाख बढीको फूल उत्पादन हुने अनुमान गरिएको उनले बताए।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष मणिराज दाहालले विद्यार्थीले उत्पादन गरेको अग्र्यानिक फूलको बजारीकरणमा त्यत्ति समस्या नहुने बताए। हरेक वर्ष तिहारमा कटारीमा फूलमाला अभाव हुने गरेको बताउँदै उनले विद्यार्थीले आफ्नै ठाउँमा उत्पादन गरेको फूलले तिहारको त्यो अभाव टार्ने बताए। 

प्रकाशित: १९ कार्तिक २०८० ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App