१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

खाँदबारीमा क्याम्पस भवन उदघाटन

भारत सरकारको सहयोगमा निर्मित संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उदघाटन गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्त रूपमा सो भवनको उदघाटन गरेका हुन्।

नेपाल-भारत विकास सहयोगअन्तर्गत तीन अर्ब ७४ करोड रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो। तीन तले भवनमा कक्षाकोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हल लगायतको व्यवस्था छ।

परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्‍याउँदै आएको बताए। उनले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरूको सुखद् भविष्य निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्त्वपूर्ण हिस्सा भएको बताए। यो सहकार्यले हालैका वर्षमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा ठूलो फड्को मारेको उनको भनाइ थियो। दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरूप विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताए। क्याम्पसमा हाल छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। अध्ययन गर्नेमा ६० प्रतिशत छात्रा रहेको क्याम्पसले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०८० ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App