१४ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सिरानचोकले बनायो गुरुङ भाषा पाठ्यपुस्तक

गोरखाको सिरानचोक गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारेको छ। गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा वडा नं ६ स्थित हिमाली माध्यमिक विद्यालयले पाठ्यपुस्तक तयार पारेको हो।

कक्षा १ देखि ३ सम्म पठनपाठन गर्ने–गराउने उद्देश्यले ‘स्थानीय मातृभाषा (गुरुङ)’ नामक पाठ्यपुस्तक प्रकाशन गरिएको छ। पाठ्यपुस्तकमा सिरानचोक गाउँपालिकाको चिनारी, पर्यापर्यटन, गुरुङ समुदायको इतिहास, कला, भेषभुषा, धर्म, संस्कार र संस्कृति समेटिएका छन्।

त्यस्तै गुरुङ जातिको सामाजिक मूल्य, मान्यता, गुरुङ भाषामा प्रयोग हुने खेमा लिपि, खेमा लिपिमा प्रयोग हुने व्यावहारिक व्याकरण, गुरुङ भाषाको शब्दभण्डार, तमु राष्ट्रिय गीत पनि स्थानीय पाठ्यपुस्तकमा समावेश गरिएको छ।

सिरानचोक गाउँपालिकामा खेती गरिने बाली, बिउ बिरुवा, अन्न, फलफूलका साथै गुरुङ भाषाका बार, महिना, वर्गलगायतका विषयवस्तुसमेत पाठ्यपुस्तकमा राखिएको छ। त्यसैगरी सिरानचोक गाउँपालिकाका गुरुङ समुदायका राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तित्वको परिचय पनि पुस्तकमा समेटिएको छ।

सिरानचोकको भौगोलिक अवस्थिति, जलवायु, जनसंख्या, सिमानामा पर्ने गाउँपालिका, सिरानचोकभित्र रहेका मुख्य–मुख्य गुरुङ बस्तीको परिचय पनि पुस्तकमा समेटिएको छ। गुरुङ जातिका २० प्रकारका थरको परिचय पनि सोही पाठ्यपुस्तकमा समेटिएको छ।

पुस्तकको सम्पादक संयोजकमा सोही विद्यालयका प्रधानाध्यापक बुद्धिमान गुरुङसहित विद्यालय व्यवस्थापन समितिका सदस्य बुद्धिबहादुर गुरुङ र शिक्षकहरू बुधबहादुर गुरुङ र मुना गुरुङ रहेका छन्। पुस्तकका लागि स्थानीय पाठ्यक्रम विज्ञ प्रमुख केशरसिंह बस्नेत र गुरुङ भाषाविज्ञ आशबहादुर गुरुङको पनि सहयोग रहेको छ।

यो पाठ्यपुस्तक हिमाली मावि गाँखुमा मात्र पढाइ हुने पालिकाका गुरुङ भाषा विज्ञ बस्नेतले जानकारी दिए। यसलाई थप सुधार गर्दै पालिकाभरका गुरुङ समुदायका विद्यार्थीको बहुलता रहेका विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने उनले बताए। नेपाली भाषाका माध्यमबाट स्थानीय गुरुङ भाषामा अनुवाद गरी शिक्षण गर्ने उद्देश्यसहित पाठ्यपुस्तक तयार गरिएको सम्पादक संयोजक बुद्धिमान गुरुङले जानकारी दिए। पाठ्यपुस्तक पढाउन गाउँपालिकाको सहयोगमा विद्यालयमा एकजना शिक्षिका राखिएको शिक्षा शाखा प्रमुख बस्नेतले बताए।

प्रकाशित: १८ भाद्र २०८० ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App