११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

हलेसीका स्कुल, अस्पताल र कार्यालयमा मापसे जाँच्ने तयारी

हलेसी तुवाचुङ नगरप्रमुख बिमला राई। तस्बिरः महेश्वर

खोटाङका विद्यालय, अस्पताललगायत सरकारी कार्यालयमा नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको परीक्षण गर्ने तयारी गरेको छ। जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले नगरमातहतका सबै विद्यालय, अस्पताल तथा अन्य सरकारी कार्यालय र सार्वजनिक सरोकारका निकायहरुमा मापसे जाँच गर्ने तयारी थालेको हो।  

बेलाबेलामा स्वास्थ्यकर्मी, शिक्षक तथा सरकारी कर्मचारीहरु मापसे गरेर सेवारत रहेको फेला पर्ने गरेको र त्यसले जनताको सेवा प्रभावित हुने गरेको गुनासो आएपछि नगरपालिकाले यस्तो कदम चाल्न लागेको नगरप्रमुख बिमला राईले बताइन्। उनका अनुसार नगरबासीले सेवा प्रवाहमा कुनै खाले कठिनाइ बेहोर्नु नपरोस् भनेर कडाइ गर्दै स्वास्थ्य परीक्षण गर्ने नीति अघि सारेको हो। राईले यसबारे कार्यपालिका बैठकबाटै निर्णय पारित गराएको पनि उनले बताइन्। मंगलबार बसेको नगर कार्यपालिका बैठकबाटै सरकारी कार्यालय, विद्यालय तथा अस्पताललगायत सार्वजनिक सरोकारका निकाययहरुमा मापसेको नियमित जाँच गर्ने निर्णय गरेको मेयर राईले बताइन्।

कतिपय विद्यालय, अस्पताल तथा अन्य सरकारी र सामुदायिक तथा सार्वजनिक सरोकार राख्ने संघसंस्था र कार्यालयमा मापसे गरेर बसेको पाइएपछि यस्तो निर्णय गर्न नगरपालिका बाध्य भएको हो। कार्यालय समयभित्रै कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीसमेत मापसे गरेर बस्ने गर्दा सेवा प्रभावित भएर जनताले दुःख पाउने गरेको घट्ना दोहोरिन नदिन यस्तो निर्णय गरिएको मेयर राईको भनाई छ। कतिपय विद्यालयमा कक्षा सञ्चालन अवधिमै शिक्षकहरु मापसे गरेर आउने तथा स्वास्थ्य चौकी र अस्पतालका स्वास्थ्यकर्मीमा पनि त्यस्तो भेटिएको नगरपालिकाको अनुभव छ।  

मापसे गरेर आउँदा एकातिर सेवा प्रभावित हुन्छ भने अर्कातिर दुर्घटनाको उत्तिकै सम्भावना हुने जोखिम मोल्न नगरपालिकाले नचाहेर परीक्षण कार्य थाल्न लागेको हो। कार्यालय समयमै मापसे गरेर आउने तथा मापसे गरेका बेला उपस्थित नै नहुने गर्दा जनता सेवा पाउनबाट वञ्चित हुने समस्या छ। कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुमा मापसेले सेवा प्रभावित गरेको जनगुनासो सम्बोधन गर्न कार्यालयमै गएर मापसे परीक्षण गर्न निर्णय गरेको नगरपालिकाले जनाएको छ।  

नगरबासीहरुका अनुसार मापसेका कारण कतिपयले सार्वजनिक स्थल र कार्यालयहरुमै पनि झैझगडा गर्ने गरेका छन्। सरकारी कार्यालय, विद्यालय तथा स्वास्थ्य संसथाजस्तो संवेदनसिल ठाउँहरूमा मापसे गरेर झैझगडा गर्दा अत्यन्त नकारात्मक र दीर्घकालीन असर पर्ने भएकाले त्यसको रोकथाम गर्न जरुरी देखिएको उनीहरुको तर्क छ।  

नगरपालिकाले मापसे चेकजाँच गर्न ब्रेथलाइजर ९मादक पदार्थ खाए नखाएको कुरा श्वासप्रश्वासबाट पत्ता लगाउने उपकरण० खरिद गर्ने निर्णय पनि गरेको छ। उपकरण भएपछि मापसे गरे नगरेको थाहा पाउन प्रहरीले मुख सुँघ्नु पर्ने समस्या टर्ने भएकाले चालु वर्षभित्रै ७ वटा बैथलाईजर खरिद गर्ने निर्णय नगरपालिकाले गरेको छ। नगरपालिकाभित्र रहेका आधा दर्जन प्रहरी चौकी र एउटा नगर अस्पताललाई ब्रेथलाईजर उपलब्ध गराउने र प्रहरीमार्फत स्वास्थ्य परीक्षण गराउने मेयर राईले बताएकी छिन्।  

त्यसैगरी कार्यालय समयमा कोही मापसे गरेर आएको थाहा पाए तत्काल नजिकको प्रहरी चौकी वा नगरपालिकामा खबर गर्न पनि आव्हान गरेको छ। मापसे गरेर कार्यालय आएको खबर आए लगत्तै नजिकको प्रहरी खटाएर मापसे परीक्षण गर्ने र खाएको पाइए तत्काल कारबाही गर्ने अधिकारसहितको कार्यविधि बनाउने नगरपालिकाले जनाएको छ।  

प्रकाशित: ८ चैत्र २०७९ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App