अबका २७ दिनमा मुलुकले आगामी पाँच वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान गर्नेछ। नयाँ संविधान २०७२ मा लागु भएपछिको यो दोस्रो निर्वाचन हो। यही निर्वाचनबाट आएका प्रतिनिधिले संघीय र प्रदेशसभाका निम्ति आगामी सरकार चयन गर्नेछन्। स्थानीय तह निर्वाचनपछि सरकार परिवर्तन भइसकेको छ। अब संघ र प्रदेशमा आउने नेतृत्वले मुलुकको विकास र समृद्धिका अजेन्डा तय गर्नेछ। त्यति मात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभा र प्रदेशसभाका सभामुख र उपसभामुखका साथै अन्य पदाधिकारीको चयन समेत हुनेछ।
यो आवधिक परिवर्तन लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको आर्थिक प्रगतिलाई तीव्र पार्न हो। परिणाम असल आउन कर्म उत्कृष्ट हुनुपर्छ। भोलिको नेतृत्वले मुलुकका निम्ति राम्रो गर्न सक्ने तुल्याउन नेतृत्व चयनमा विशेष ध्यान पुर्याउन सक्नुपर्छ। योग्य जनप्रतिनिधि चयन नभई तिनीहरूबाट अपेक्षित काम हुन सक्दैन। हाम्रो लोकतन्त्रमा अहिले विकृति बढेकामा सबैजना दिक्क छन्। त्यसलाई सच्याउने बेला भनेको निर्वाचन हो। निर्वाचनमा आममतदाताले आफूलाई जिम्मेवार तुल्याउन सक्दा मात्र परिवर्तन सम्भव छ।
अहिले राजनीतिक नेतृत्वप्रति गुनासो व्यापक छ। यस्तो गुनासो निराकरणका निम्ति निर्वाचनमै ध्यान दिने हो। सर्वसाधारणका निम्ति विगतमा भएका गल्ती सच्याउने अवसर प्रत्येक पाँच वर्षमा आउँछ। बल्ल आएको यो समयको सदुपयोग भएन भने फेरि अर्को पाँच वर्ष कुर्नुपर्ने हुन्छ। यसरी खेर गएको समय फर्केर आउँदैन। मुलुक र मुलुकबासीले भने दुःख मात्र पाउँछन्। अहिले निर्वाचनको सिलसिलामा मतदाता शिक्षाको चर्चा हुने गरेको छ। कसरी मत दिने भन्ने मात्र मतदाता शिक्षा होइन। कसरी असल उम्मेदवार निर्वाचित गर्ने भन्ने सिप पनि मतदाता शिक्षाकै अंग हो। त्यसका निम्ति समाजका जिम्मेवार व्यक्तिले असल उम्मेदवार चयन गर्ने तरिका सिकाइदिनु आवश्यक हुन्छ।
हामीले अहिले अपनाएको राजनीतिक पद्धति तुरुन्तै परिवर्तन गर्न सम्भव छैन। राजनीतिक पद्धति फेरेर मात्र मुलुकको भलो हुँदो रहेनछ भन्ने अनुभव हामी सबैलाई भइसकेकै छ। जति राम्रो व्यवस्था ल्याए पनि त्यसले काम गर्न नसक्नु भनेको हाम्रो व्यवस्थापकीय क्षमताको अभाव हो। असल नेतृत्व छान्न नसक्ने हो भने नालायक व्यक्तिबाट शासित हुनुको विकल्प छैन। त्यो स्थितिमा परिवर्तन चाहने हो भने बुद्धिमत्तापूर्ण अभ्यास हुनैपर्छ। झन् अहिले निर्वाचनको सिलसिलामा प्रमुख दल र यसका नेताहरूले देखाइरहेको व्यवहारलाई हेरेर पनि परिस्थिति परिवर्तनका निम्ति काम गर्नैपर्छ।
बितेका पाँच वर्ष मुलुकले कसरी बितायो भन्ने पक्षमा दृष्टिकोण लगाउनै पर्छ। छँदाखाँदाको संसद्लाई काम गर्न दिइएन। दुई पटक यसलाई विघटन गरेपछि मुलुक लामो समय मुद्दामामिलामै अल्मलिएको देखिएकै छ। त्यसैगरी प्रमुख नेताहरूको झगडालु प्रवृत्ति पनि त्यत्तिकै कारक रहेको हो। वास्तवमा नेपालमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि नेताहरूको बेमेलले जहिल्यै राजनीतिक व्यवस्थालाई धराशायी बनाएको छ। व्यवस्था परिवर्तनका निम्ति जनताले जहिल्यै साथ दिनुपर्ने र परिवर्तनपछि नेताको हालिमुहाली मात्रै हुने जनताले साथ नपाउने अवस्था रहेको छ। मुलुकलाई अगाडि लगाउन गफाडी नेतृत्वले पुग्दैन। त्यसका निम्ति काम गर्न सक्ने गम्भीर व्यक्तिहरूलाई हेर्न सकिन्छ।
अहिले दलकै तर्फबाट भएका उम्मेदवारमा सबै खराब छैनन्। ती उम्मेदवारलाई उठाउने दल आफैंँमा खराब होइनन्। तिनलाई परिचालन गर्ने नेतृत्व मात्र खराब भएको हो। त्यसैले अहिले निर्वाचनबाट सम्भावना भएका जुनसुकै दलका उम्मेदवारलाई विजयी गराउन सकिन्छ। विगत निर्वाचनमा भन्दा भिन्न अहिले स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति पनि देखिएका छन्। तिनीहरू पनि कुनै न कुनै रूपमा असल छन्। मुलुकको राजनीतिक परिपाटी अगाडि बढाउन प्रमुख दलको मिसन र भिजन दुवै आवश्यक हुन्छ। तिनले ठाउँ खाली छाडेका कारण स्वतन्त्र व्यक्ति आउन खोजेका हुन्। केही व्यक्तिले स्वतन्त्र रूपमा मात्र जितेर तात्त्विक परिवर्तन आउन सक्दैन। यस्ता व्यक्तिहरूले संस्थागत प्रयास गर्नुपर्ने हुन्छ।
यो निर्वाचनमा दलहरूको नीति र सिद्धान्तले खासै ठाउँ पाएको छैन। निर्वाचन घोषणापत्र पनि गौण जस्तो भएको छ। यस्तो स्थितिमा दल भन्दा तिनले उठाएका मानिसलाई हेर्न सकिन्छ। असल मानिसको अहिले पनि कमी छैन। यसअघिको संसद्मा पनि प्रभावकारी भूमिका निर्वाह गर्ने र गर्न खोज्ने व्यक्ति नभएका होइनन्। तिनले दलभित्रै पनि संघर्ष गरेका छन्। यसरी खारिएर आएको नेतृत्व पनि छ। त्यसैले यस्ता व्यक्तिहरूलाई पहिचान गर्न अहिलेको निर्वाचन एक अवसर हुन सक्छ। सबै बिग्रियो र भत्कियो मात्र भन्ने होइन, अहिलेको परिस्थितिमा कहाँनेर हस्तक्षेप गर्न सकिन्छ भन्ने ध्यान आम मतदाताको हुनुपर्छ।
मुलुकले अहिले ठूलो संघर्षपछि ल्याएको राजनीतिक व्यवस्था छ। स्थानीय, प्रदेश र संघले आ-आफ्नो भूमिका निर्वाह गर्न पाउँछन्। त्यसका निम्ति निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बनाउन खोजिएको छ। मुलुकमा असल राजनीतिक नेतृत्व स्थापित हुन सक्यो भने हाम्रा समस्याको समाधान असजिलो छैन। २०४६ सालको राजनीतिक परिवर्तनलगत्तै जुन गतिमा आर्थिक विकास हुन थालेको थियो, त्यसलाई बीचमा आएका द्वन्द्वले अवरोध गरेको मात्र हो। राजनीतिक प्रश्नको समाधान निस्किसकेपछि हाम्रो मुलुकले आर्थिक वृद्धिमा पूरा ध्यान दिन सक्छ। अहिलेको अवस्थामा फेरि प्रत्यक्ष राष्ट्रपति वा अन्य कुनै व्यवस्था नभएर काम हुन सकेन भन्ने कसैले कुरा उठाउँछ भने बुझ्नुपर्छ-तिनले नाँच्न नजानेको हो, आँगन टेडो होइन। क्षमतावान राजनीतिक नेतृत्व हुने हो भने मुलुकले कायाकल्प गर्न समय लाग्दैन। तिहार, नेपाल संवत्, छठ लगायतका पर्व र अवसरले असल नेतृत्व चयनका निम्ति प्रेरित गर्न सकोस्।
प्रकाशित: ७ कार्तिक २०७९ ००:०७ सोमबार