गत साता वातावरण विभागले पातला प्लास्टिक झोला निषेधका निम्ति सार्वजनिक सूचना जारी गर्यो। प्लास्टिकले वातावरण तथा जनस्वास्थ्यमा गंभीर प्रभाव पारिरहेका कारण विभागले भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको उत्पादन, बिक्री वितरण, प्रयोग निषेध गरिने भनेको छ। यो प्रावधान कार्यान्वयन भए/नभएको कडाइका साथ अनुमगन गर्ने पनि उसको योजना छ।
गत वर्षको अन्तिमतिर मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना, २०७८ लाई कार्यान्वयन गर्ने सन्दर्भमा यो सार्वजनिक सूचना जारी भएको हो। गत माघदेखि नै यो प्रतिबन्ध लगाइएको भए पनि यसको प्रभावकारी कार्यान्वयन नभएपछि विभागले सम्बद्ध सबैलाई यो विषयमा गंभीर हुन पुनः सूचना जारी गरेको हो। त्यसो त २०५७ सालदेखि २० माइक्रोन भन्दा पातला झोलाको उत्पादनलाई निरुत्साहित पार्ने सरकारी योजना भए पनि कार्यान्वयन हुन सकेको छैन। सरकारले विभिन्न चरणमा प्लास्टिकका झोला नियन्त्रणका लागि नीतिगत घोषणा गर्दै आएकोमा पछिल्लो पटक गत माघमा जारी भएको कार्ययोजनामा संघीय संरचनालाई समेत आत्मसात गरिएको छ।
कार्ययोजनमा पातला प्लास्टिकका झोला निषेध गर्ने दिशामा स्थानीय निकायदेखि संघीय सरकारको जिम्मेवारीलाई प्रष्ट पारिएको छ। कार्ययोजनाले सरकारका मुख्य सचिवको नेतृत्वमा १९ सदस्यीय केन्द्रीय अनुगमन समितिको व्यवस्था, प्रदेशस्तरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा प्रदेश अनुगमन समिति र स्थानीय तहमा उपमेयर र उपाध्यक्षको संयोजकत्वमा स्थानीय अनुगमन समितिको व्यवस्था गरेको छ। त्यसैले अबको आवश्यकता भनेको यो प्रावधानको कार्यान्वयन भए/नभएको कडाइका साथ नियमित अनुगमन हो।
सरकारी निर्णयविपरीत कार्य गरेमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही गरिने व्यवस्था कार्ययोजनाले गरेको सन्दर्भमा यसको बर्खिलापमा जाने आयातकर्ता, उद्योगी, व्यापारी तथा आमउपभोक्तालगायत जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ। पातला प्लास्टिकको उपयोगलाई नियन्त्रण गर्न विभिन्न चरणमा प्रयास भए पनि ती सफल हुन नसकेको सन्दर्भमा पछिल्लो व्यवस्थाको कडाइका साथ कार्यान्वयन जरुरी देखिएको छ।
स्मरणीय छ, छिमेकी भारतले पनि गत जुलाइ १ देखि एकल प्रयोग हुने प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने दिशामा कडा कदम चालेको छ। प्लास्टिक फोहोर व्यवस्थापन नियमावलीअन्तर्गत रहेर एकपटक मात्र प्रयोगमा आउने प्लास्टिकको उत्पादन, आयात, भण्डारण, वितरण, बिक्री तथा प्रयोगलाई जुलाइ १ देखि भारतले प्रतिबन्ध लगाएको हो।
नेपालमा जस्तो एकल प्रयोग हुने प्लास्टिकका झोला मात्र होइन, भारतले प्लास्टिक प्याकेजिङ, बोतल, पोलिथिन झोला, फेस मास्क, थर्मोकोल प्लेट, कप, स्ट्रे, मिठाइको बक्स र्यापिङ गर्ने फिल्म लगागतका अन्य वस्तुमा समेत प्लास्टिक प्रयोगलाई निषेध गरेको छ। यस्ता वस्तु प्रयोग गरेको पाइएमा सर्वसाधारणलाई ५ सयदेखि २ हजार रुपियाँसम्म जरिवाना गरिनेछ भने औद्योगिक स्तरमा उत्पादन, पैठारी, भण्डारण र बिक्री गर्नेलाई २० हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।
भारत मात्र होइन, विश्वका कैयन् देशले प्लास्टिक प्रयोगलाई निषेध गरेका छन्। कार्यान्वयनको फरक चरण रहे पनि सन् २०१९ को जुलाइसम्म विश्वका ६८ देशले प्लास्टिक झोलाको प्रयोगलाई निषेध गरेका छन्।
प्लास्टिकको झोला नकुहिने प्रकृतिको हुँदा हाम्रो वातावरणमा लामो समय रहन्छ। प्लास्टिकजन्य सामग्री जलाउँदा उत्सर्जन हुने ग्याँसले ओजोन तहको विनाश गर्नुका साथै जलवायु परिवर्तनमा पनि प्रतिकूल प्रभाव पर्छ। वातावरणमा प्लास्टिक लामो समय रहँदा माइक्रो प्लास्टिकमा परिवर्तन हुन्छ र यो खाद्यवस्तुको स्रोत हुँदै मानव शरीरमा पुगेर हानि पुर्याउने वैज्ञानिक अध्ययनले देखाएका छन्।
यी सबै तथ्य र घटनाक्रमले प्लाष्टिक हाम्रो लागि कति घातक छ भन्ने प्रष्ट्याउँछ। नेपालमा यसअघि कहिले महाभूकम्प, कहिले कोभिड–१९ का कारण प्लास्टिकका झोला निषेध गर्ने व्यवस्थाको अनुगमन खुकुलो रहेको तर्क वातावरण विभागको छ। अब यो अथवा त्यो तर्कका आधारमा अनुमगन तथा सरकारी प्रावधानको कार्यान्वयन हुन सकेन भन्ने आधार सरकारसँग छैन। हो, प्लास्टिक हाम्रो जीवनको अभिन्न अंग बनेको छ। विकल्पको अभावमा यसलाई प्रतिस्थापन गर्न त्यति सजिलो छैन।
त्यसैले अत्यावश्यक क्षेत्रमा प्रयोग गर्नैपर्ने प्लास्टिक र अनावश्यक प्लास्टिकको भिन्नता छुट्याउन सकेमा समस्या समाधानमा सहयोग पुग्छ। मेडिकल सिरिन्जदेखि खाद्य प्याकेजिङसम्म यसको प्रयोग सयौँ वर्षदेखि भैरहेको छ। त्यसैले यसलाई कसरी पुनःप्रयोग गर्ने भन्ने विषय महत्त्वपूर्ण रहन्छ। अहिले सबैभन्दा बढी चुनौती देखिएको एकपटक मात्र प्रयोग गरेर फालिने पातला प्लास्टिकले बनेका झोला हुन्। बाक्ला प्लास्टिकभन्दा तुलनात्मकरूपमा छिटो माइक्रोप्लास्टिकमा परिवर्तन भएर यिनले मानव स्वास्थ्य तथा वातावरणमा गंभीर परिणाम निम्ताएका छन्।
अर्काे पाटो भनेको उपभोक्ताको जागरुकता हो। प्लास्टिकले गर्ने हानिका बारेमा धेरैलाई जानकारी छ। तर जानीजानी प्लास्टिकका झोलाको प्रयोग गर्ने आमबानी छ। अन्य विकल्पभन्दा प्लास्टिकका झोला सस्तो भएका कारण यसको उपभोग निरन्तर जारी भएको हो। तर तत्कालका लागि सस्तो देखिने यिनै प्लास्टिक प्रयोगका कारण मानव समुदायले चर्काे मूल्य चुकाउनुपर्ने प्रष्ट भैसकेको छ। त्यसैले प्लास्टिक प्रयोगको आमबानीमा सुधार आउन आवश्यक छ। तत्कालका लागि जादूको छडी जस्तो गरी प्लास्टिकलाई हाम्रो जीवनबाट हटाउन संभव नहोला तर पातला प्लास्टिकलाई झोलाको प्रयोगमा निषेध, प्लास्टिकको पुनःप्रयोग र विकल्पमा वातावरणमैत्री झोला तथा प्याकेजिङलाई प्रोत्साहन गर्दा यो समस्याको समाधान हुन सक्छ। यसले वातावरण तथा जनस्वास्थ्यको संरक्षण हुन सक्छ।
प्रकाशित: १९ श्रावण २०७९ ००:१३ बिहीबार