७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

दन्तबझानको राजनीति

गाउँघरमा सन्ततिको बोलीवचन बिग्रेला भन्ने डरले अभिभावकले सकेसम्म ध्यान दिने गरेको सम्झना हामी सबैलाई छ। राम्रो व्यवहार गर्न नसिक्दा जिन्दगीमा धोका हुन सक्छ भन्ने गरेका छन् तिनले।

प्रत्येक युगका अभिभावकको ध्यान सन्ततिले सही व्यवहार गर्न जानून् भन्नेमा केन्द्रित हुन्छ। त्यहीकारण ‘संगतगुनाको फल’ भन्ने चलन छ। भलाद्मी हुने कि छुद्र बन्ने संगतले धेरै निर्धारण गर्छ। अचेल राष्ट्रिय सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्मबाट यस्ता बानी र व्यवहार सिक्न सजिलो भएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीदेखि अमेरिकी राष्ट्रपति जो बाइडेनसम्मले बोल्ने र व्यवहार गर्ने तरिकाले सजिलै प्रभाव पार्न सक्छन्। त्यही भएर जेलेन्स्कीको टिसर्टदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्याकेटको फेसनका बारेमा समेत सर्वसाधारणले जान्न र बुझ्न पाएका छन्।

हामीकहाँ केही समय भयो, नेताका भाषण सुनेर बालबालिकाको बोली बिग्रेला कि भन्ने डर लाग्न थालेको छ। बहालवालामात्र होइन, पूर्वप्रधानमन्त्रीहरूले समेत एकअर्कालाई आलोचना गर्ने उचित शब्द र उदाहरण चयन गर्न नसकेको पर्याप्त देखिन्छ। साना बालबालिकाले यही व्यवहार हेर्दै हुर्किँदा भविष्यमा तिनको बोली र व्यवहार पनि बिग्रने हो कि? सञ्चार माध्यममा आउने अभिव्यक्तिले आममानिसको जीवनमा गहिरो गरी प्रभाव पार्छ।

अहिले पाँचौँ वा छैटौँ दशकमा हिँडिरहेको पुस्ताले हिजो रेडियोसँगै हुर्कने अवसर पाएको हो। त्यही रेडियोमात्र सुनेर पनि तिनले आफूलाई कैयन् विषयमा जानकार बनाएका हुन्। पछिल्लो पुस्तामा भने सञ्चार माध्यमको प्रभाव अत्यन्त गहिरो छ। यसको पहुँच आमरूपमा सहज छ। त्यसले तिनको जीवनमा पार्ने प्रभावले भोलि कस्तो अवस्था आउला भन्न सकिँदैन।

असामान्य बोली व्यवहारका निम्ति सबै पूर्वप्रधानमन्त्री उस्तै छन्। तुलामा हालेर जोख्दा केही तल–माथिमात्र हुने हुन्। पूर्वप्रधानमन्त्री एवं प्रमुख विपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली यस मामिलामा सबैभन्दा अगाडि छन्। उनी सोमबार तौलिहवामा आयोजित एउटा कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरिरहेको र वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिने भएपछि ओली आक्रोशित भएका छन्।

उनी कुनै हिसाबले गठबन्धन तोड्न तत्पर भएका हुन्। तर, उनीसँग शंकित भएका दलहरूले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बाध्यता जस्तो हुन गएको छ। ओलीले कांग्रेसलाई भनेका छन्– ‘बलियो गोरु अहिले कमजोर बनेर दायाँबायाँ बैसाखी टेकेको छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हालैको एउटा कार्यक्रममा ओली कमजोर नभएको र चुनाव जित्न सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल जतासुकै लाग्नसक्ने सम्भावना देखाएका थिए।

ओलीका सन्दर्भमा दाहालले पटकपटक सुधार्न खोजेको तर नसकेको बताउँदै आएका छन्। उनले भनेका छन्– ‘एउटा सपना देखेर नेकपा बनाएका हौँ। धोएर सफा गरेर नायक बनाउँला भनेको ओली खलनायक बने।’ कसले कसलाई बनाउने? कसले बनाउने र को बनिने? आदि अनेकन सन्दर्भ छन्। नेताहरूबीच एकअर्काप्रतिका अविश्वास चुलिँदा छन्। त्यसैगरी ओली र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीच भइरहेको शब्दवाण प्रहार पनि उत्तिकै गम्भीर प्रश्न बनेको छ।

वर्षौँ सँगै राजनीतिक यात्रा गरेका यी नेताबीचको भनावैरीलाई कुनै अर्थमा उत्साहजनक मानिएको छैन। दुई नेता बाझेको देख्दा केही समय मनोरञ्जन होला तर भविष्यमा त्यसले कुनै सार्थक परिणाम दिन सक्दैन। ‘महाजन हिँडेको बाटो हिँड्नू’ भन्ने शास्त्रसम्मत ज्ञान लिएका मानिस यी दुईलाई अनुकरण गर्न उद्यत भए भने स्वाभाविकरूपमा असहिष्णुतामात्र सिकिने छ। त्यसले सुसंस्कृत समाज निर्माणमा कतै योगदान गर्न सक्दैन।

निर्वाचनको मुखमा नेतृत्वबाट मुलुकको आगामी यात्राबारे सुन्न चाहेको हो। उनीहरूले कसरी संघीयताको अभ्यासलाई उन्नतस्तरमा पुर्‍याउन चाहन्छन् थाहा पाउनुपर्छ। बितेका पाँच वर्षमा संघीयताको अभ्यासको थालनी भएको छ। संघीयताबारे नकारात्मक टिप्पणी जति भए पनि स्थानीय सरकारको सक्रियता उल्लेख्य छ।

यसबीच संघले भन्दा प्रदेश र स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गरेका छन्। तिनलाई अझ प्रभावकारी बनाउन आगामी दिनका तयारीबारे चिन्तनमनन् आवश्यक छ। त्यसले मात्र संघीयतालाई सफल बनाउन सक्छ। दैनिक दन्तबझानले उद्देश्य प्राप्त हुँदैन। त्यसैले तर्कका आधारमा राजनीति गर्ने परिपाटी आवश्यक हुन्छ। मुलुकको परिवर्तनका निम्ति जीवन समर्पित गरेको राजनीतिक नेतृत्वले आमनागरिकलाई प्रेरणा दिने अभिव्यक्तिको अपेक्षा हुनु स्वाभाविक हो। अतः नेतृत्वले सिद्धान्त, व्यवहार र आगामी कामबारे चिन्तन गर्नु आवश्यक छ। 

अहिले टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल हेर्ने युवा पुस्ताले नेताका गालीगलौज सुनेर त्यसैमा आफूले अभिनय गरेको देखिनु आफैँमा चिन्ताको विषय हो। मुलुकको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका यस्ता नेताहरूबाट सुन्न चाहेको गाली होइन।

एकले अर्कोलाई होच्याएर अभिव्यक्ति दिने भन्दा पनि आफूले गर्न खोजेको कामबारे बोलेर तिनले आमनागरिकलाई प्रेरित गर्न सक्नुपर्छ। आज एउटा नेताको गाली, भोलि त्यो गालीमाथि अर्कोको महागाली सुनेर समाज कहीँ पुग्दैन। त्यसले हाम्रो राजनीति विदुषकका हातमा गएकोजस्तो भान पर्न जान्छ। अहिलेका नागरिक नबुझ्ने छैनन्। बरु राजनीतिको दन्तबझान हेरेर बालबालिकाको समेत बानी बिग्रने छ। बेलैमा बदलिनु उचित हुन्छ।

प्रकाशित: १६ चैत्र २०७८ ०१:०५ बुधबार

Download Nagarik App
Download Nagarik App