५ आश्विन २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

राष्ट्रनिर्माताको सम्झना

प्रत्येक वर्ष पुस २७ को आसपास आइपुग्दा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झना घनीभूत हुने गर्छ। टुक्राटुक्रा बाँडिएका विभिन्न राज्यलाई एउटा मालामा उनेर नेपाल राष्ट्र निर्माणमा उनले गरेको योगदान अतुलनीय छ।

त्यही एकीकरण अभियानकै कारण आज हामीले नेपाली भनी गर्व गर्ने मौका पाएका छौँ। उनले एकीकरण नगरेका भए उनीपछिका कुनै राजाले गर्थे भन्नेमा शंका छ। राजा पृथ्वीनारायणका उत्तराधिकारीहरूले उनकै तहको काम गर्न नसकेका साक्षी इतिहास छ। उनीपछि केही समय राज्य विस्तारको काम भए पनि नेपालको अहिलेको स्थिति सुगौली सन्धिपछि तय भएको हो।

राज्य एकीकरणका हिसाबले पृथ्वीनारायणको कदमलाई अहिले आएर कम आँक्नुपर्ने अवस्था छैन। त्यतिमात्र होइन, उनका विरुद्ध अहिले टीकाटिप्पणीले केही व्यक्तिलाई आत्मतुष्टि भए पनि यथार्थमा त्यसले मुलुकको सेवा गर्दैन। अझ पृथ्वीनारायणपछिका राजाले गरेको कामका आधारमा उनको मूल्यांकन गर्नु पनि उचित होइन।

उत्तराधिकारीहरूले ऐयासी भएर केही गरेनन् भने दोषचाहिँ उनलाई दिने कुरा हुँदैन। त्यसैगरी पृथ्वीनारायण शाहका सबैभन्दा कान्छा उत्तराधिकारी ज्ञानेन्द्र शाहका कारण मुलुकमा राजतन्त्र अन्त्य भएको हो। ज्ञानेन्द्रले गरेका कुनै कामका निम्ति पृथ्वीनारायणलाई जिम्मेवार ठहर्‍याउन सकिँदैन। त्यसैले राष्ट्रनिर्माताले गरेको स्तुत्य कर्मकै आधारमा आज हामीले नेपाल राष्ट्रका रूपमा गर्व गर्न पाएका कारण उनलाई एकपटक नमन गर्नु कर्तव्य हो।

देश यतिबेला संघीय गणतन्त्र बनेको छ। मुलुकमा गणतन्त्र स्थापना हुनुको अर्थ पुर्खाले गरेको कामप्रति बेवास्ता गर्ने भन्ने होइन। जुन मुलुक वा समाजको इतिहास समाप्त हुन्छ, त्यसको गर्व गर्ने आधार पनि समाप्त हुन्छ।

पृथ्वीनारायणको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मुलुकले मनाउँदै आएको हो। यसको थालनी जहिले सुरु भएको भए पनि ठीक परम्परा हो। आज हामीले आन्दोलन र क्रान्तिबाट स्थापित भएका नेताका नाममा समेत गतिविधि गर्दै आएका छौँ भने नेपाल राष्ट्र निर्मातालाई सम्झेर कुनै कार्यक्रम गर्नुले पछौटेपनलाई प्रतिबिम्बित गर्दैन। बरु यसले बालबालिकाका मनमा समेत राष्ट्रप्रतिको भावना जगाउन मद्दत गर्छ।

पृथ्वीनारायणले नेपाल एकीकरण नगरेका भए निश्चितरूपमा नेपाल राज्यको अस्तित्व हुने थिएन। यो सबैले स्वीकार गरेको तथ्य हो। फ्रान्सका निम्ति नेपोलियन बोनापार्ट, जर्मनीका निम्ति अट्टभान विस्मार्क, इटालीका निम्ति जेसेप्प गरिबाल्डी वा काभोरको जुन महत्ता छ, त्यही नै नेपालका निम्ति पृथ्वीनारायणको छ।

एकीकरणको इतिहासमा त्यतिबेलाका राजा वा एकीकरणकर्ताले जे÷जस्ता विधि अपनाउनुपथ्र्यो, त्यो पृथ्वीनारायणले पनि प्रयोग गरे। तात्कालीन समयका साम, दाम, दण्ड, भेद प्रयोग नगरेका भए एकीकरण अभियान सफल हुने थिएन। एकीकरण सफल नभएको भए त्यतिबेला आफ्नो प्रभाव विस्तार गरिरहेका साम्राज्यवादी शक्तिहरूको आँखा स्वाभाविकरूपमा यो सुन्दर भूभागमा पर्ने थियो। यसकारण पृथ्वीनारायण बेलैमा यो अभियान सुरु गरेर बलियो मुलुक स्थापना गर्न सफल भएका हुन्।

त्यतिबेला कुनै राज्य जितिसकेपछि भाइहरूले आपसमा बाँड्ने चलन नभएको होइन। पृथ्वीनारायण त्यसका निम्ति तयार भएनन्। आपसमा बाँडेर लिएका भए अहिलेको जस्तो देश सम्भव थिएन। त्यतिमात्र होइन, उनले त्यतिबेलाको समयलाई बुझेर काम गरेको उनका कदमहरूबाट बुझिन्छ।

आफ्नो जीवनको अन्तिम अवस्थातिर उनले दिएको ‘दिव्योपदेश’ आजका दिनमा पनि मुलुकको कूटनीतिको आधारका रूपमा रहेको छ। उनले त्यही बेला भनेको ‘दुई ढुंगाबीचको तरुल’ आजका दिनमा पनि उत्तिकै सान्दर्भिक छ।

झन् अहिले आएर हेर्दा यही रणनीति अपनाएर काम नगर्ने हो भने संकट आउने सक्ने प्रष्ट देखिन्छ। यतिबेला चीन र भारत जस्ता दुई ठूला मुलुकको बीचमा रहेको नेपालले अपनाउनुपर्ने रणनीतिक चातुर्यका निमित दिव्योपदेश आफैँमा मार्गदर्शक रहेको छ।

मुलुकमा यतिबेला विभिन्न जातजाति, धर्म, संस्कृतिले आफ्ना विशेष पर्वका निम्ति बिदा पाउने व्यवस्था छ। तर पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका बिदा भने काटिएका छन्। मुलुक गणतन्त्रमा गएका कारण राजाका नाममा दिवस मनाउन एकथरीलाई अप्ठ्यारो लागेको हुन सक्छ। तर यसमा अप्ठ्यारो मान्नु पर्ने कारण केही छैन।

राजा पृथ्वीनारायणलाई नभए पनि नेपाल एकीकरणकर्ता पृथ्वीनारायणलाई सम्झन नसकिने होइन। केही वर्षयता उनीप्रतिको स्वीकारोक्ति बढ्दो छ। केही व्यक्तिले उनका विरुद्धमा अभियान चलाइरहेका पनि छन्। अहिलेको परिस्थितिका आधारमा पृथ्वीनारायणलाई मूल्यांकन गरेर उनको एकीकरण अभियानलाई कम आँक्नु उचित होइन।

केही वर्षयता यो दिनमा सार्वजनिक बिदा दिन र औपचारिक कार्यक्रम आयोजना गर्न आग्रह हुँदै आएको छ। मुलुकमा धेरै बिदा भए भन्ने प्रश्न उठिरहेका छन्। अन्य बिदा नकाटिने बरु थपिने स्थिति मुलुकमा रहेको हुँदा यो एक दिन पनि राष्ट्रिय एकता दिवसका रूपमा स्वीकार गरी बिदा दिने व्यवस्था गर्नु उचित हुन्छ।

वास्तवमा पृथ्वीनारायणको तस्बिर मुद्रा र नोटमा राख्ने, सार्वजनिक स्थानमा उनका वाणीहरू प्रचार गर्ने प्रक्रिया सुरु गर्नु उचित हुन्छ। चीनले आफ्ना नेता माओलाई भन्दा कन्फ्युसियसलाई प्रवर्द्धन गर्दै आएको छ। हाम्रा निम्ति पनि पृथ्वीनारायण एक विचारक, मुलुक एकीकरणकर्ता र भविष्यद्रष्टा हुन्। यस्तो महान् व्यक्तित्वको चर्चा/परिचर्चाको दिनका रूपमा पुस २७ लाई मनाउने व्यवस्था गर्नुपर्छ। राष्ट्रनिर्माताप्रति  हार्दिक श्रद्धाञ्जली!

प्रकाशित: २७ पुस २०७८ ०२:३५ मंगलबार

Download Nagarik App
Download Nagarik App