११ माघ २०७८ मंगलबार
सम्पादकीय

उमेरमै आघात

अचेल कम उमेरका व्यक्तिमा मुटु रोगको समस्या बढ्दो छ। दैनिक जीवनलाई सन्तुलित नबनाउँदा यस्तो असजिलो अवस्था आएको हो। विकसित मुलुकमा उमेर धेरै भएका व्यक्तिमा देखिने यो समस्या नेपालमा भने युवावस्थामै आउनुको प्रमुख कारण हो– धूमपान। चुरोट–बिँडी पिउने व्यक्ति क्रमशः कम हुँदै गए पनि अझै यो अम्मलका पछाडि लाग्ने व्यक्तिको संख्या ठूलो छ। 

त्यसमा पनि युवावस्थाका व्यक्तिले देखासिकीमा परेर धूमपानको लतमा आफूलाई पारेका छन्। मुटु रोगका निम्ति धूमपानको प्रभावले बढ्ता समस्यामा पारेको देखिएको छ। अचेल मुटु रोगको उपचारमा आउने युवाहरूको स्थिति अध्ययनपछि विशेषज्ञहरू यो निष्कर्षमा पुगेका हुन्।  

विशेषज्ञहरूले पछिल्ला वर्षहरूमा मुटु रोगीको संख्या बढ्दै गएको बताएका छन्। मधुमेह, उच्चरक्तचापको समस्यामा पनि भएका व्यक्तिले अझ चुरोट–बिँडी सेवन गर्दा झन् खतरा हुन्छ। अन्य रोग नभएका युवालाई समेत धूमपानले संकटमा पारेको देखिन्छ। धूमपानलाई निरुत्साहित गर्न अहिले सार्वजनिक स्थानमा सेवन गर्नसमेत प्रतिबन्ध लगाइएको छ। कुनैबेला विभिन्न बैठक र भेटघाटमा समेत शानसँग चुरोट पिएर बस्ने गरेको देखिन्थ्यो। समाजका लब्धप्रतिष्ठित व्यक्तिले समेत सार्वजनिक स्थानमा धूमपान गरेर अरूलाई समेत प्रेरित गर्थे। अहिले कुनै पार्टी वा बैठकमा रहेका व्यक्तिमध्ये केहीलाई धूमपान गर्ने इच्छा भयो भने खुरुक्क कुनातिर जानुपर्छ। चुरोट पिउनेलाई धेरैले सकारात्मकरूपमा पनि हेर्न छाडिसकेका छन्। त्यसैले उनीहरूले कुनामा लुकेर पिउनुपर्ने अवस्था छ। विमानस्थल वा अन्तर्राष्ट्रिय भेटघाटमा समेत चुरोट पिउनेका निम्ति छुट्टै ठाउँ हुन्छन्। यो सबै गरेको धूमपानलाई निरुत्साहित गर्नकै निम्ति हो।  

धूमपान गरेका दृश्य अचेल सिनेमा वा कुनै दृश्यमा देखिनासाथ यो स्वास्थ्यका निम्ति हानिकारक रहेको अनिवार्य कानुनी व्यवस्था उल्लेख गर्नुपर्छ। यसको विज्ञापन सार्वजनिक माध्यममा नआउने व्यवस्था गरिएको छ। यति हुँदाहुँदै पनि धूमपानको लत मानिसलाई लागिरहेको देखिन्छ। कानुनी व्यवस्थाका साथै धूमपानलाई निरुत्साहित गर्ने प्रावधान हुँदाहुँदै पनि धूमपान भइरहन्छ भने यसमा आफ्नै लापरबाही छ। स्वास्थ्य आफ्नै हातमा हुन्छ। अरू कसैले सम्झाएर हुने होइन। यो स्वास्थ्यका निम्ति खराब हो भन्ने थाहा पाएर पनि उपभोग भइरहन्छ। त्यसैले समस्या व्यक्तिमै छ। तैपनि यसलाई सकेसम्म धेरै व्यक्तिको जानकारीमा पुर्‍याउनु अत्यावश्यक छ। त्यसो भयो भने मात्र यसप्रति विमुख हुने जनसंख्या थपिँदै जान्छ।

आज स्वास्थ्य विज्ञानले ठूलो उपलब्धि हासिल गरेको छ। प्रत्येक व्यक्तिले स्वस्थ जीवन बिताउन कति खाने, कति आराम गर्ने, कस्ता सामग्री उपभोग गर्नेजस्ता विषयमा अध्ययन भएको छ। तैपनि धेरैले यस्ता पक्षमा ध्यान दिँदैनन्। शारीरिक व्यायम गर्ने, पोषिलो खाना खाने, धूमपान नगर्नेजस्ता बानी विकास गर्न स्कुलदेखि पठनपाठन गर्ने, घर÷परिवारले सिकाउने र वरिपरिको वातावरण पनि त्यस्तै सिक्ने किसिमको हुनु आवश्यक छ। आधुनिक जीवनशैलीका कारण धेरैले ताजा खाना खानेभन्दा पनि स्वाद बढाउने र कृत्रिम रंग र सामग्री मिसिएका खाना खान थालेका छन्। यसले पनि तिनको स्वास्थ्य बिगँ्रदै गएको छ। ताजा र कम प्रशोधित खाना खाँदा स्वास्थ्य राम्रो हुन्छ। तर अति प्रशोधित खाना खाने बानीले आधुनिक जीवन समस्याग्रस्त हुन थालेको छ। सवारी सुविधाका कारण धेरै हिँड्डुल पनि गर्न छाडिसकेका छन्। यसले गर्दा धेरैलाई शारीरिक व्यायाम पनि पुग्न छाडेको छ।  

हृदयघातबाट जोगिन नियमित आधा घन्टा छिटोछिटो हिँड्ने, बोसो तथा चिल्लोयुक्त खाना र पत्रुखाना (जंकफुड) नखाने, नियमित सागपात तथा फलफूल खाने, तनावयुक्त जीवनशैली छाडेर खुसी हुने, धूमपान, मद्यपान र सुर्तीजन्य पदार्थ सेवन नगर्ने बानी अत्यन्तै लाभदायक हुन्छ। सकेसम्म मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोल हुनबाट जोगिने र भइहाले पनि त्यसलाई नियन्त्रण आवश्यक छ। नियमितरूपमा मुटुको जाँच गराउनु पनि उत्तिकै आवश्यक छ। यस्ता सामान्य कुरालाई आफ्नो जीवनशैली बनाउने हो भने मुटु रोगबाट बाँच्न सकिन्छ। खराब बानी समात्न सजिलो छ। तर राम्रो बानी बसाउन लामो समय अभ्यास हुनु जरुरी छ। धूमपानको लत लागिसकेपछि छुटाउन सजिलो छैन। तैपनि कोसिस गर्ने हो भने यो सम्भव छ। यसैले सकेसम्म धूमपान नगरेर स्वास्थ्य संरक्षणका निम्ति प्रयास गर्नु उचित हुन्छ।  

सहिद गंगालाल हृदय केन्द्रमा उपचार गराउन गएका २४ देखि ४५ वर्ष उमेरका युवा मुटु रोगी फेला परेका छन्। यसको कारण धूमपान हो भन्ने बुझिसकेपछि अरूले पनि यसबाट सिक्नु आवश्यक छ। उमेर हुँदा जस्तो कुरा पनि पचाइन्छ भनेर अस्वस्थकर बानी लिने हो भने त्यसले बेलैमा यो धर्तीबाट बिदा हुनुपर्ने अवस्था आउँछ। पहिले स्कुलमा एउटा कथा पढाउने गरिएको थियो। उक्त कथाअनुसार चुरोट पिउने व्यक्तिको घरमा चोर आउँदैन, चानचुन पैसा राख्ने दुःख हुँदैन र बूढो पनि हुनुपर्दैन। यसको अर्थ हो– चुरोट पिउने व्यक्ति रातभर खोकिरहने भएकाले चोर आउन डराउँछ। 

चुरोट पिउनेले सजिलै चानचुन पैसा सदुपयोग गर्छ। चुरोट पिएपछि उमेरमै मृत्यु हुन्छ। त्यसैले बूढो हुनुपर्ने आवश्यकता नै पर्दैन। यो नीतिकथा रमाइलो गरेर विद्यार्थीसामु प्रस्तुत गरिएको थियो। अहिले पनि स्कुलमा यस्ता पाठ्यक्रम आवश्यक छन् जसले युवालाई धूमपानको कुलतबाट जोगाउँछ। युरोप तथा अमेरिकामा ६५ वर्षपछि मात्र हृदय रोगको जोखिम हुने गरेकामा नेपालमा भने ४० वर्षमुनिका १० प्रतिशतमा यस्तो हुनु आफैँमा चिन्ताजनक पक्ष हो। यो स्थितिबारे बेलैमा सोचौँ र सम्बोधन गरौँ। सरकारले पनि यो गम्भीर अवस्थालाई ध्यानमा राखी बढी भन्दा बढी प्रचारप्रसार गर्न आवश्यक छ।

प्रकाशित: १४ कार्तिक २०७८ ०८:४६ आइतबार

Download Nagarik App
Download Nagarik App