coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

सडकको अनाम मृत्यु

चाडवाडको खुसियालीका बेला बर्सेनि सडकसँग जोडिएका दुर्घटनाका खबरले भने मन कुँड्याउने गर्छ। यो वर्षको दसैँका बेला पनि एकपछि अर्को गर्दै सडक दुर्घटना भए। खुसियालीको समयमा सर्वसाधारणले पीडाका आँसु चुहाउनुपर्ने बाध्यात्मक अवस्था सडक अनुशासनको अभावमा देखिएको हो। 

हामीले विकास भनेकै सडकका रूपमा चिनेका छौँ। संघीयदेखि स्थानीय तहका सरकारसम्मको प्राथमिकतामा सडक पर्छ। सडक उच्च प्राथमिकतामा परे पनि सुरक्षित प्रयोगका बारेमा कम ध्यान दिइएको छ। कालोपत्रेदेखि भर्खर निर्माण भइरहेका समेत सबैखाले सडकको संख्या एक लाख किलोमिटर पुगिसकेको छ। जतिजति सडक सञ्जाल विस्तार हुँदै जान्छ, उतिउति नै यसको असुरक्षित प्रयोगका कारण सर्वसाधारणलाई मर्कामा पारिरहेको छ।

सडक दुर्घटनाबाट मृत्यु हुने संख्याको तुलना गर्दा नेपालको स्थिति विश्वमै खराबमध्येमा आउँछ। बर्सेनि करिब २ हजार ५ सय जनाको सडक दुर्घटनामा मृत्यु हुने गर्छ। सडक दुर्घटनामा परी अंगभंग र घाइते हुने संख्या अझ ठूलो छ। 

सडक दुर्घटनामा परेर अपांगताको स्थितिमा बाँच्नुपर्ने संख्या निकै ठूलो छ। यस्तो दुर्घटनाको असर परिवारसँगै राष्ट्रलाई समेत पर्छ। एकातिर जनधनको क्षति हुन्छ अर्कोतिर यसले राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक असर पार्छ। प्रायः कुनै रोग फैलिँदा सबैको ध्यानाकर्षण हुन्छ। कोभिड–१९ कै स्थितिमा जसरी सबैको यसमा ध्यानाकर्षण भयो, त्यस्तो सचेतता सडक दुर्घटनाबाट हुने मृत्यु कम गर्न कमै भएको पाइन्छ। वास्तवमा नीति निर्माताहरूको ध्यान यो अनाहकको मृत्यु रोक्न केन्द्रित हुनुपर्ने देखिएको छ।

दसैँको ठीकअगाडि गण्डकी प्रदेशका दुई ठाउँमा ११ जनाको मृत्यु भएको थियो। पर्यटकीय गाउँ घान्द्रुक र स्याङ्जाको वालिङमा ३ जना यी दुर्घटनामा परेका थिए। सामान्यतः सडक दुर्घटनामा परेर मृत्यु हुने व्यक्तिका नामसमेत सार्वजनिक हुँदैनन्। केबल संख्यामै सीमित हुन्छन्। 

पीडित परिवारबाहेक धेरैलाई यो दुर्दशा आफूलाई नपरी महसुस हुँदैन। सडककै कारण यस्ता स्थिति जीवनमा आउनु भनेको आफैँमा वर्षौँ वर्षका निम्ति नपुरिने घाउ हो। हवाई दुर्घटना भयो भने राष्ट्रिय चर्चाको विषय बन्छ। यस्ता दुर्घटनाको तत्काल छानबिन हुन्छ। यसका निम्ति समिति बनेर काम पनि अगाडि बढ्छ। सडक दुर्घटनामा अनाम मृत्यु भोग्न सर्वसाधारण बाध्य छन्।

चाडबाडका बेला तिनै परिवार यसमा पर्छन् जसले सार्वजनिक यातायातको भर गर्नुपर्छ। यस्ता साधनको यान्त्रिक जाँच, सडकको अवस्था, चालक र सञ्चालकहरूको जिम्मेवारी आदि विषयमा कमै ध्यान जान्छ। एउटा दुर्घटना हुन्छ, दुई दिन त्यसको चर्चा हुन्छ र फेरि त्यो विस्मृतिमा जान्छ। 

जहिलेसम्म सडक दुर्घटनालाई समग्रतामा लिएर यसको निराकरणतर्फ ध्यान जाँदैन तहिलेसम्म यो समस्या यस्तै रहिरहनेछ। हामी संख्या गनेरै बस्ने छौँ। यसले राज्यको गैरजिम्मेवारीलाई मात्र सार्वजनिक गर्दैन हाम्रा सडक असुरक्षित भएको सन्देश पनि प्रवाहित हुन्छ। कतिपय मुलुकमा सामान्य घटनाबाटै पाठ सिकेर फेरि  नदोहोर्‍याउने गरी नीतिगत सुधार हुन्छ। हामीकहाँ यस विषयमा जति आवाज उठाए पनि सरोकारवालाई यसले छुँदैन।

हामीकहाँ सडक दुर्घटनाका अनेकन कारण छन्। चालकको लापरबाही दुर्घटनाका कारणमध्ये अग्रणी छ। चालक मात्र होइन, यात्रुमा पनि त्यत्तिकै जिम्मेवारीबोध आवश्यक छ। सवारी साधनको अवस्था, त्यहाँको स्थिति आदि अवलोकन गरेर मात्र यसको प्रयोग गर्ने हो भने दुर्घटनाबाट जोगिन सकिन्छ। 

दुर्घटनाका कारणमध्ये पैदल यात्रुको लापरबाही पनि उल्लेख्य छ। एकातिर सडकपेटीको राम्रो व्यवस्था छैन, अर्कोतिर पैदल यात्रु आफ्नै खुसीले हिँडिरहेका हुन्छन्।सडक सुरक्षाको पहिलो जिम्मेवारी आफैँमा हुनुपर्छ। अरू कसैले अनुशासित भएर आफूलाई जोगाइदेलान् भन्न सकिने स्थिति छैन। त्यसैले आफ्नो सुरक्षालाई आफैँले ध्यानमा राख्न सक्नुपर्छ।

सडक पूर्वाधारको विकासमा ध्यान दिए पनि यसको गुणस्तरमा ध्यान दिएको देखिँदैन।यसै कारण दुर्घटना बढ्ने गरेको छ। सडकलाई व्यवस्थित बनाउने र पूर्ण सुरक्षित नभइ त्यहाँ सवारी चलाउन अनुमति नदिने हो भने पनि धेरैको जीवन रक्षा हुन्छ सक्छ। सडक दुर्घटनाबाट जोगिने सबै भन्दा उत्तम उपाय भनेको ट्राफिक नियमको पालना हो। 

सडक प्रयोगका हिसाबले हामी धेरै अनुभवी होइनौँ। सडकमा सवारी लिएर सर्वसाधारण हिँड्न थालेका पनि धेरै भएको छैन। यस कारण सडकमा हिँड्ने वा गुड्ने संस्कृति र संस्कारको विकास हुनु उत्तिकै आवश्यक हुन्छ। सडकमा गर्ने व्यवहारको अभ्यास स्कुल तहदेखि नै सिक्नुपर्छ। हामीकहाँ सवारी अनुमति दिने अभ्यास पनि उतिसाह्रो उम्दा छैन। सवारी साधन प्रयोग गर्न स्कुलदेखि नै सिकाउने र तिनले सिकेका आधारमा अनुमतिपत्र दिने व्यवस्थालाई समेत सहज बनाउन ध्यान दिनुपर्छ।

चाडपर्वका बेला सबैजसो व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा जान चाहन्छन्। तिनको यात्रा सहज तुल्याउन सवारी साधन, सडक र चालकबारे अनुगमन गर्ने सशक्त संयन्त्र नहुने हो भने अहिलेको स्थिति आघौँ पनि आउने छ। सहरमा बाह्रै महिना बाह्रै काल मोटरसाइकल दुर्घटना हुने गर्छ। 

सडक दुर्घटनाबाट हुने दुर्घटनामा ४२.५ प्रतिशत मोटरसाइकलका कारण हुने गर्छ। त्यसैगरी ४८.६ प्रतिशत पैदल यात्रु घाइते हुनेमध्येमा पर्छन्। त्यसैले सडक दुर्घटना कम गर्ने पहिलो सर्त नै ठीक व्यवहार हो। सही व्यवहार गर्न सक्ने हो भने यसलाई कम गर्न सकिन्छ।हामीकहाँ मादक पदार्थ सेवन गरी सवारी चलाउन रोक लागिसकेको छ।यसलाई अझ कडा बनाउने, सवारी गतिमा ध्यान दिने र निरन्तर अनुगमन गर्ने प्रक्रिया अत्यावश्यक छ। यसो भयो भने बर्सेनि सडक दुर्घटनाको दुःखबाट हामी मुक्त हुनेछौँ।  

प्रकाशित: २ कार्तिक २०७८ ०१:१९ मंगलबार

Download Nagarik App
Download Nagarik App