५ आश्विन २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

मेलम्चीको पाठ

मेलम्ची खानेपानी आयोजना सुरु भएको झन्डै दुई दशकपछि पानी काठमाडौं आउनु आफैंमा सुखद विषय भए पनि यसले विकास निर्माणका कामको विषयमा भने प्रश्न उठाएको छ । एउटा आयोजना सम्पन्न हुन कति वर्ष लाग्छ ? त्यसमाथि मेलम्ची खानेपानी आयोजना सरकारी लक्ष्यअनुसार १३ वर्षअघि नै सम्पन्न हुनुपर्ने थियो । आयोजना सम्पन्न गर्न यति धेरै ढिलाइ किन भयो ? त्यसो त अन्य ठूला आयोजनाको हालत पनि लगभग मेलम्ची खानेपानी आयोजनाको जस्तै छ । यस्तो अवस्थामा आयोजना ढिलाइ हुनुको विस्तृत कारण खोज्ने मात्रै होइन, आयोजना बढाउनुअघि आइपर्ने यस्ता सम्भावित समस्याको समाधान खोज्नैपर्छ । त्यसैले पनि मेलम्ची खानेपानी आयोजनामा भएको ढिलाइबाट पाठ सिक्दै चाहे राष्ट्रिय गौरवका आयोजना हुन् वा अन्य ठूला किसिमका विकास निर्माणका कामहरू अघि बढाउँदा नै किन नहोस्, सम्भावित अवरोधहरूलाई बेलैमा सल्टाउनु जरुरी छ । अन्यथा, ठूला आयोजनाहरू समयमै सम्पन्न नहुने मात्र होइन, यस्ता आयोजनाहरूको लागत अत्यन्तै महँगो पर्न जाने सम्भावना पनि उत्तिकै छ ।  

त्यसो त यो आयोजना ढिलाइ हुनुमा प्रमुख जिम्मेवार सरकार नै देखिन्छ । सरकारले विभिन्न माग राखेर अवरोध गर्ने स्थानीयको अजेन्डालाई न समयमै सम्बोधन गर्न सक्यो न त दीर्घकालीन योजना बनाएर त्यसैअनुसार काम नै गर्न सक्यो । सन् २००७ मा आयोजना सम्पन्न गर्ने सरकारको पहिलो लक्ष्य थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी लगेर काकाकुल काठमाडौं उपत्यकावासीको प्यास मेट्न दुई दशकअघि मेलम्ची खानेपानी आयोजना थालिएको हो । निर्धारित समय अर्थात् १३ वर्षअघि नै सम्पन्न भएको भए त्यतिखेर काठमाडौं उपत्यकाको पिउने पानीको मागलाई यो आयोजनाले पूरा गर्ने पनि थियो । तर, अहिले काठमाडौंको जनसंख्या यति धेरै बढिसकेको छ कि अब मेलम्ची खानेपानी आयोजनाले मात्रै राजधानीवासीको पिउने पानीको माग सम्बोधन गर्ने अवस्था छैन । जे होस्, यही शनिबार साँझ बहुप्रतीक्षित रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल खसालिएको छ । आयोजनाको पानीलाई फागुन १० गते सुरुङमा हालिएको थियो भने सुरुङबाट आएको पानी अहिले वाग्मती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित आउने भएकाले प्रशोधन केन्द्रमा नहाली वाग्मती नदीमा खसालिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा पानी खसालेपछि सम्बोधनका क्रममा केही दिनमा काठमाडौंवासीको घरघरमा पानी आउने मात्रै बताएनन्, लामो समयदेखिको सपना पूरा भएको पनि बताए । ओलीले मेलम्ची खानेपानी आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै भएको तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको भन्नुले पनि मेलम्ची आयोजनामा के–कति ढिलाइ भयो भन्ने कुरा देखाएको छ । वास्तवमा प्रधानमन्त्री ओलीको यो भनाइ आफ्नै नेतृत्वको सरकारदेखि आयोजना सुरु भएयता सबै सरकारका लागि व्यंग्य पनि हो । काठमाडौंमा पानी ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थालिएको थियो । आयोजनाले पहिलो चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ भने हेडवक्र्सको निर्माण कार्य अन्तिम चरणमा छ । हाललाई हेडवक्र्स स्थलभन्दा १ सय मिटरमाथि निर्माण गरिएको अस्थायी बाँधबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको हो ।  

सन् २००७ मा आयोजना सम्पन्न गर्ने बताए पनि त्यस अवधिसम्म आयोजना कसरी अघि बढाउने भन्नेमा नै अन्योलमा रह्यो । र, अर्काे वर्ष आयोजना पुरै पुनःसंरचना गरेर सन् २०१३ भित्र मेलम्ची उपत्यका लैजाने दोस्रो लक्ष्य राखियो । सन् २००९ पछि मात्रै सुरुङ निर्माण प्रक्रिया अघि बढ्यो । चाइना रेल्वे १५ ब्युरो ग्रुपले करसमेत ४ अर्ब २८ करोड ८८ लाख रुपैयाँमा सन् २००९ अप्रिलमा साढे २६ किमी सुरुङ खन्ने ठेक्का पायो । तर, उसले सुरुदेखि नै सन्तोषजनक काम गर्न सकेन । ठेकेदारले कहिले ठेक्का रकम बढाउनुपर्ने त कहिले ठेक्का अवधि नै लम्ब्याउनुपर्नेजस्ता बहाना बनाइरह्यो । ३ वर्षमा साढे ६ किमि सुरुङ मात्रै खनेको यो ठेकेदारले ठेक्का अवधिको एक वर्ष बाँकी रहँदा सन् २०१२ मा एकतर्फी रूपमा ठेक्का तोडेको घोषणा गर्‍यो । २०७० असारमा नयाँ ठेकेदारका रूपमा इटालियन कम्पनी सिएमसी छनोट भए पनि उसले पनि पटकपटक सम्झौता अवधि लम्ब्याउने, विभिन्न बहानाबाजी बनाएर निहुँ खोज्ने काम गरिरह्यो । र, चार वर्ष लगाएर सिएमसीले २०७४ चैत २९ गते साढे २६ किमि सुरुङ ‘ब्रेक थु्र’ गर्‍यो । तर, अघिल्लो ठेकेदार कम्पनीले झैं २०७४ पुसमा उसले पनि एकपक्षीय रूपमा ठेक्का तोड्यो । आयोजनाको बाँकी काम गर्न २०७५ भदौमा तेस्रो ठेकेदार कम्पनीका रूपमा चिनियाँ सिनो हाइड्रो छनोट भयो जसले सुरुङको ‘फाइनल फिनिसिङ’ गर्ने र हेडवक्र्स बनाउने दुइटा ठेक्का पाएको हो । अहिले हेडवक्र्सको काम अन्तिम चरणमा पुगेको छ भने सुरुङको काम सकिएको छ ।  

त्यसो त २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले काठमाडौं–१ को चुनावी प्रचारप्रसारका क्रममा पिउने पानी समस्या भोगिरहेका मतदातालाई आफूतिर तान्न ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे । भट्टराईको यो नारालाई उतिबेला धेरैले ठट्टाका रूपमा लिए । पछि २०५१ सालको मध्यावधि निर्वाचनमा पनि उनले यही नारा अघि सारे । ‘मेलम्चीले काठमाडौं पखाल्छु’ भन्ने भट्टराईको अभिव्यक्ति हँसिमजाकको विषय बनेको थियो । तर भट्टराईको यो अजेन्डा दीर्घकालीन महत्वको थियो । भट्टराईले दुई दशकअघि देखेको मेलम्ची सपना अहिले साकार भएको छ । र, लक्षित समयभित्र आयोजना सम्पन्न भएको भए भट्टराईले भनेझैं मेलम्चीको पानीले काठमाडौंको सहर पखाल्न पनि पुग्थ्यो । तर, अहिलेको अवस्थामा यो आयोजनाले काठमाडौंको पिउने पानी माग धान्ने अवस्था छैन । त्यसैले दीर्घकालीन उपायका लागि लार्के र याङ्ग्री पाइप लाइन योजना अघि सारिएको छ, जसअनुसार मेलम्चीपछि दोस्रो चरणमा नजिकका लार्के र याङ्ग्री खोलाबाट दैनिक थप १७/१७ करोड लिटर पानी त्यही सुरुङबाट उपत्यका लगिनेछ । मेलम्चीसहित दैनिक ५१ करोड लिटर पानी पुगेपछि मात्रै उपत्यकाको पिउने पानी समस्या हल गर्न सकिनेछ । अब मेलम्ची आयोजनाको पहिलो चरणको कामबाट पाठ सिक्दै याङ्ग्रीको ९.७ किमि र लार्केको १.७ किमि सुरुङ निर्माणको कामलाई पनि छिटोभन्दा छिटो अघि बढाउनुको विकल्प छैन ।

प्रकाशित: २५ फाल्गुन २०७७ ०४:४७ मंगलबार

Download Nagarik App
Download Nagarik App