२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

राष्ट्रपति,विदेश भ्रमण रोक!

यतिबेला मुलुक जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पका कारण भएको क्षतिबाट मर्माहत छ। धेरैको निधन तथा कतिपयको घाइते अवस्थाले ती दुई जिल्ला मात्र हैन, सिंगो देशलाई पीडा पुगेको छ। भत्केका सयौँ घर र अवरुद्ध अत्यावश्यक सेवाका कारण जनजीवन अत्यासलाग्दो अवस्थामा छ। स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई औषधोपचारमा भ्याइ/नभ्याइ छ। समग्रमा भन्दा यतिबेला मुलुक दुःखको आहालमा चुर्लुम्म छ।

यस्तो बेला न कुनै देश/देशावर गएर घुमफिर गर्न वा मनोरञ्जन गर्न सुहाउँछ न त तीर्थाटन नै। यतिबेलाको मुख्य दायित्व प्रभावित क्षेत्रमा पुगेर जसले जसरी र जति सक्छ, उति सहयोग गर्ने हो। त्यहीँ पुग्न नसक्नेले वा सम्भावना नहुनेले आर्थिक वा अन्य तवरबाट सहयोग गर्नुपर्छ। खासमा मानवीयता भनेकै यही हो। यही परिवेशमा जो अहिले त्यहाँ आफ्नोे र परिवारको समेत पर्वाह नगरी उद्धार र राहतमा खटिएका छन्, तिनलाई साधुवाद दिनैपर्छ।

यही बेला राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेल विदेश भ्रमण जाने तरखरमा छन्। गत बिहीबारको मन्त्रिपरिषद्ले उनको विदेश भ्रमण स्वीकृत गरेपछि आउँदो कात्तिक २२ गतेदेखि उनी मंसिर १ सम्मका लागि फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने तय भएको हो। जतिखेर मन्त्रिपरिषद्ले यो निर्णय गर्‍यो त्यतिबेला मुलुकमा भूकम्पको त्रासदि थिएन। अहिले भने भूकम्पकै कारण मुलुककै सम्पूर्ण शक्ति त्यो क्षेत्रको पीडा कम गर्न लगाउनुपर्ने भएको छ। यस कारण पनि राष्ट्र प्रमुखको यतिबेलाका विदेश भ्रमण कुनै पनि हालतमा उपयुक्त हुन सक्दैन। त्यसैले यो भ्रमण रोक्नु सबै भन्दा बुद्धिमानी हुनेछ। यसले राष्ट्र प्रमुखको संवेदनशीलता देखिन्छ।

एक अर्कालाई मर्दापर्दा भेट्न जाने, सहानुभूति व्यक्त गर्ने आम प्रचलन हो। यतिबेलाको उपस्थिति मात्रले पनि पीडितमा ‘म एक्लै छैन, मेरो साथमा धेरै छन्’ भन्ने भावना जागृत हुन्छ र तिनले आफूलाई तनाव मुक्त गर्दै धन्य सम्झन्छ। त्यसैले सर्वसाधारणको त आपद्विपद्मा यति ठूलो महत्व हुन्छ भने राष्ट्र प्रमुख जस्तो व्यक्तिको नहुने कुरै भएन। यसर्थ पनि राष्ट्रपतिको यो भ्रमण विदेश हैन, स्वदेशकै भूकम्प प्रभावित क्षेत्रमा हुनु आवश्यक छ।

राष्ट्रपतिको भ्रमण त उचित छैन नै, साथै महत्वपूर्ण सार्वजनिक पदमा बसेका अन्य कसैको पनि विदेश भ्रमण यतिबेला सही हुन सक्दैन। लुम्बिनीका मुख्य मन्त्रीको अमेरिका जाने कार्यक्रम होस् वा अन्य कोही ठूलाबडाको। सबै भ्रमण रोकिनुपर्छ र ध्यान भूकम्प प्रभावित क्षेत्रको उद्धार र राहतमा लगाउनुपर्छ। जान तय भएको भ्रमण रद्द गर्ने मात्र हैन, विदेशमा भएका ठूलाबडा पनि आफ्नोे भ्रमण छोट्याएर नेपाल फर्कनुपर्छ। विश्वका शक्तिशाली राष्ट्रहरूले समेत विपद्मा विदेश भ्रमण छोट्याएर वा खारेज गरेर स्वदेश फर्केका धेरै उदाहरण हाम्रासामु ताजै छन्।

मानवता र संवेदनशीलता प्रदर्शन त्यस्ता चिज हुन् जसलाई पीडित मननकर्ताले कहिल्यै भुल्न सक्दैनन्। अर्थात् उनीहरू सधैँ यसको ऋणी भइरहन्छन्। यो नेपाली समाजको चरित्र नै हो भन्दा फरक पर्दैन। केही दिनुखानु पर्दैन तर गइदिए मात्र, भेटिदिए मात्र, मुख देखाइदिए मात्र र बोलिदिए मात्र पनि पीडित खुसी हुने यस्तो बेलामा त्यहाँ भन्दा विदेश प्राथमिकतामा पर्नु देख्ने/सुन्नेहरूका लागि पनि प्रीतिकर हुन सक्दैन। आलोचना गर्नेहरूका लागि त यो निहु समेत हुन सक्नेछ।

उसै पनि नेपालको राष्ट्रपति संस्था सुरुदेखि नै विवादित छ। कहिले दलको पिछलग्गु बनेको त कहिले सामान्य विवेक पनि नपुर्‍याएको आरोप यो संस्थामाथि लाग्दै आएको छ। त्यसैले गणतन्त्रको प्रतीकका रूपमा रहेको यो संस्थाको साख क्रमशः गिर्दै गएको छ। यो छविमा सुधारका निम्ति राष्ट्रपतिले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले राष्ट्रपति संस्थाप्रति लाग्दै आएको दाग पखाल्न पनि यतिबेला रामचन्द्र पौडेलले आसन्न भ्रमण रोक्नुपर्छ। 

प्रकाशित: २० कार्तिक २०८० ००:१५ सोमबार

Download Nagarik App
Download Nagarik App