गएको साता एसियाडमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जितसँगै एकपटक फेरि क्रिकेट जगत्मा नेपालको नाम ‘सुनाम’ भएको छ । कमजोर देशविरुद्ध राखिएका कीतिमान भए पनि यस्ता उपलब्धीले खेलाडीको मनोबल बढाउन र इतिहासमा अभिलिखित हुने हक राख्छन् । यस्ता कीतिमान कीर्तिमानी देश र खेलाडीलाई ‘अमर’ बनाउने अंक र अर्थमा प्रयोग भइरहेका हुन्छन् । कीर्तिमानसँगै मुलुकको क्रिकेट क्षेत्रमा हालै अर्को प्रतिक्षित र महत्त्वपूर्ण घटना पटाक्षेप भएको छ– नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन ।
क्यानमा दोस्रोपटक चतुरबहादुर चन्द निर्विरोध अध्यक्ष चयन हुँदा पुरुष राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का सचिव निर्वाचित भए । त्यसो त दुई वर्षअघि राष्ट्रिय टोलीबाट अनपेक्षित रूपमा राजीनामा दिएका पारसले आफू क्यान राजनीतिमा जान सक्ने संकेत उतिबेलै गरेका थिए । पहिलो प्रयत्नमै केन्द्रीय सचिवजस्तो पदमा फड्को मार्नु क्यान राजनीतिमा उनका लागि सुखद मान्न सकिन्छ ।
यति भन्नु अतिशयोक्ति नहोला कि– नेपालमा क्रिकेटको वर्तमान अवस्था, क्रिकेट राजनीति र क्यानको पछिल्लो निर्वाचित टोलीको प्रसङ्गले क्रिकेटसँग मात्र होइन, मुलुककै मनोदशासँग सम्बन्ध राख्छ । किनभने, आज क्रिकेट विश्वमा नेपाल चिनाउने खेल बनेको छ । पुरुषतर्फ एकदिवसीय अन्तर्राष्ट्रिय बरियतामा १७ औं स्थानमा रहेको नेपालले भर्खरै एसिया कपमा विश्व क्रिकेटका हस्ती देशहरू भारत र पाकिस्तानको सामना गर्यो। दुर्लभ यो अवसरलाई संसारकै क्रिकेटप्रेमीहरूले हेरे र नेपालको क्रिकेट बहादुरीको तारिफ पनि गरे ।
भौतिक संरचना निर्माण, खेलाडीको आर्थिक सुरक्षा यस्ता पक्ष हुन्, जसमा लगानी नगरी खेलमा सूधारको कल्पना गर्न सकिन्न । तत्काल यसबारे पहल नगरिए क्रिकेटले पनि फुटबलका जस्तो खेलाडी पलायनको अवस्था नभोग्ला भन्न सकिन्न ।
क्रिकेटमा पाएको यस्तो सफलताका कारण क्रिकेट आज युवाले पछ्याउने खेल बनेको छ । आफ्ना सन्तानलाई क्रिकेट खेल्न प्रोत्साहन गर्ने अभिभावक पनि ह्वात्तै बढेका छन् । क्रिकेटप्रतिको नयाँ पुस्ताको रुचिलाई थोरै मात्र टेको दिने हो भने केही वर्षमै हाम्रा खेलाडीहरू एकदिवसीय अन्तर्राष्ट्रियमा पूर्ण सदस्यका रूपमा आफूलाई उभ्याउनेछन्, टेस्ट खेल्ने सपनासँग साक्षात्कार हुनसक्छन् । यसो हुनु भनेको राष्ट्रप्रेमको नयाँ ऊर्जा पनि हो । भनिन्छ– राजनीतिले तोड्छ तर खेलले जोड्छ । त्यसैले पनि क्यान, चुनिएका नवनियुक्त पदाधिकारी र क्रिकेट गतिविधि हामी नेपालीका लागि सार्वजनिक बहसको विषय बन्नुपर्छ ।
चतुरबहादुर र पारस नेतृत्वको नयाँ क्यानका सामु सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठुलो जिम्मेवारीको भार छ । त्यो भनेको तत्कालका लागि आउँदो जुनमा हुने टी–ट्वेन्टी विश्वकपमा नेपालको प्रदर्शन सुधार गर्नु हो । नेपालको समग्र हैसियतलाई कदाचित खस्कन नदिई माथिल्लो तहको यात्रा तय गर्नु हो । यसका लागि क्यानले नगरिनहुने काम भनेको क्रिकेटको जग अर्थात् घरेलु संरचना तयार पार्नु हो, जसले देशभर क्रिकेट संस्कृतिको निर्माण गर्छ ।
अर्को पहल भनेको वार्षिक खेल पात्रो हो, जसमा स्कुल तहदेखि स्थानीय र राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकियोस्, कम्तीमा वर्षमा एउटा लिगमा विदेशी खेलाडीहरूसँग हाम्रा युवा प्रतिभाहरू भिडेको हेर्न पाइयोस् । खेलाडीको ‘एक्सपोजर’का लागि क्रिकेट कूटनीतिलाई अघि बढाउनु क्यानको सफलताको अर्को मानक बन्नुपर्छ । भौतिक संरचना निर्माण, खेलाडीको आर्थिक सुरक्षा यस्ता पक्ष हुन्, जसमा लगानी नगरी खेलमा सूधारको कल्पना गर्न सकिन्न । तत्काल यसबारे पहल नगरिए क्रिकेटले पनि फुटबलका जस्तो खेलाडी पलायनको अवस्था नभोग्ला भन्न सकिन्न ।
पारसले पनि बुझ्नुपर्छ– अहिलेको क्यान कार्यसमितिको जितहार भनेको नेपाली क्रिकेटकै जितहार हो । तर, परीक्षामा चतुरबहादुरहरू नभई पारस छन् ।
क्रिकेटलाई चरम राजनीतिक हस्तक्षेप र आन्तरिक विवादबाट मुक्त राख्नु नयाँ क्यानको अर्को काम हो । यसका लागि क्रिकेटलाई नै धर्मकर्म मान्नु पदाधिकारीको सपथ बन्नुपर्छ । अर्को सपथ भनेको नैतिकताको हो । ‘सन्दीप लामिछाने प्रकरण’ मा जसरी क्यानको अस्वाभाविक र निर्लज्ज पक्षधरता लामिछानेप्रति देखिन्छ, त्यसले तत्क्षण प्रतियोगितामा त जित दिलाउला तर खेल भावना भने हारि नै रहनेछ ।
अपेक्षा धेरै छन्, स्रोतसाधन भने कम । एक सफल र आदर्श खेलाडीका रूपमा मैदानमा चिनारी बनाएका पारस फरक भूमिकामा मैदानमा होमिएका छन् । यहाँनेर अरुजस्तो उनलाई असफल हुने छुट छैन किनभने क्रिकेटका सबैखाले समस्यासँग जानकार उनी विकृतिलाई बढार्छु भन्ने प्रतिबद्धताका साथ आएका छन् । त्यसैले यतिबेला पारसलाई हरतरहबाट साथ र सहयोगका लागि कन्जुस्याइँ गर्न हुन्न । पारसले पनि बुझ्नुपर्छ– अहिलेको क्यान कार्यसमितिको जितहार भनेको नेपाली क्रिकेटकै जितहार हो । तर, परीक्षामा चतुरबहादुरहरू नभई पारस छन् ।
प्रकाशित: १५ आश्विन २०८० ००:२७ सोमबार