२१ असार २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

आत्मबल उठाउने अवसर

पछिल्ला दिनहरूमा सुन तस्करी, राजनीतिक नेताहरूको असंयमित टिप्पणी, हजारौँ युवा रोजगारी र अध्ययनका लागि विदेश पलायन जस्ता विषय सेरोफेरोमा समाचार आइरहेका छन्। क्रिकेट महारथि मानिने देश भारतसँग सोमबार नेपाली टिमले गरेको बलियो प्रस्तुतिले नेपाली समाचार माध्यममा रहेका निराशाजनक समाचारलाई बिस्थापित गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा पहिलोपटक भारतसँग भिडेको नेपाली टिमको साहसिक खेलले खेलाडी र खेलको शिर मात्र होइन, समग्र नेपाली आत्मविश्वास उचो बनाएको छ। श्रीलंकाको क्यान्डीमा जारी एसिया कप क्रिकेटमा नेपाली खेलाडीले भारतविरूद्ध सुदृढ ब्याटिङमार्फत नेपाली समाजमा रहेको निराशा र कमजोर मनोबलविरुद्ध पनि ‘ब्याटिङ’ गरेका छन्। खेलमा हुने लगानीको आकार, क्रिकेट परम्परालगायतका अनेकन मानकमा भारतको अगाडि नेपालको तुलना गर्न मिल्दैन। खेलमा पराजय भए पनि क्रिकेटका अब्बल खेलाडीले भारतीय टिमविरुद्ध गरेको बलियो प्रदर्शन प्रशंसायोग्य छ।

हुन पनि, अन्तर्राष्ट्रिय टेस्ट म्याचमा सन् १९३२ देखि र एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सन् १९७४ देखि सहभागी भारतले यो अवधिमा आफूलाई क्रिकेटको उच्च दर्जामा नामांकित गरिसकेको छ। भारतले दुई पटक विश्वकपसमेत हात पारिसकेको छ। छिमेकी भारतमा क्रिकेटलाई खेल होइन, झन्डै धर्मकै रूपमा लिइन्छ। भौगोलिक र जातिगत विविधताले बाँडिएको भारतलाई एकसूत्रमा बाँध्न यो खेलको भूमिका अहं छ। विश्वका जुनसुकै कुनामा छरिए तापनि भारतीयहरूको साझा पहिचान यो खेल बनेको छ।

त्यसो हुँदाहुँदै पनि, भारतसँग सीमा जोडिएका हामीले सन् २०१८ देखि बल्ल एकदिवसीय क्रिकेट प्रतियोगितामा भाग लिन थालेको हो भने अझै नेपालले आइसिसीबाट टेस्ट म्याच खेल्ने राष्ट्रको मान्यता पाइसकेको छैन। अन्तर्राष्ट्रियस्तरका रंगशाला तथा खेलका लागि आवश्यक घरेलु संरचना, खेल र खेलाडीका लागि न्यून लगानीलगायतका विविध संरचनागत कारणले यो खेलको अपेक्षित विकास हुन सकेको छैन।

खेलको प्रत्यक्ष प्रसारणमा सलग्न कमेन्टेटरले नेपालको खुलेर प्रशंसा गरेका छन् र अत्यन्त दबाबपूर्ण खेलमा पनि नेपाली खेलाडीहरू खरो उत्रन सक्छन् भन्ने प्रमाणित गरेका छन्। भारतसँगको पहिलो भेटमै उत्कृष्ट खेलेको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यम, खेल विश्लेषक, खेलाडी र समर्थकले नेपाली ब्याटरको खुलेर प्रशंसा गरेका छन्। सोमबारको उत्कृष्ट प्रदर्शनका कारण सामाजिक सञ्जाल प्रशंसाले भरिएका छन्।

समग्रमा, जनमानसले नेपाली टिमप्रति गर्व गरेको छ। खेलमा हार भए पनि, नेपाली खेलाडीले समग्र नेपालीको मन जित्न सफल भएका छन्। यही गति कायम रहने हो भने आगामी दिनमा नेपाली गौरवको एक कारण क्रिकेट हुनेमा कुनै सन्देह छैन।

जारी एसिया कपको आगामी चरणबाट नेपाल बाहिरिए पनि सोमबारको खेलले नेपाल क्रिकेट खेलका लागि उदयीमान राष्ट्र रहेको सन्देश विश्व समुदायलाई दिएको छ। नेपालले पनि क्रिकेट राम्रोसँग खेल्छ र यो खेलका लागि भविश्य उज्ज्वल छ भन्ने सन्देश प्रवाह भएको छ। यस सन्दर्भमा, अबका दिनमा हामीले खेलको समग्र विकासमा ध्यान दिनुपर्छ। पछिल्लो खेलमा खेलाडीले राम्रो प्रदर्शन गरेका छन्, अब राम्रो प्रदर्शन गर्ने काम सरकारको हो।

विश्वमै अत्यधिक रूचाइएको र पुरानो खेल क्रिकेटमा विश्वका एक दर्जन राष्ट्रले मात्र टेस्ट क्रिकेट र लगभग २० राष्ट्रले एक दिवसीय खेल खेल्ने गरेका छन्। हकी र फुटबल जस्ता लोकप्रिय खेल विश्वका सयौँ राष्ट्रले खेल्छन्। क्रिकेटलाई विश्वव्यापी बनाउन नेपाल जस्तो उदीयमान राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि उत्तिकै सहयोग र प्रोत्साहनको आवश्यकता छ। त्यसमा पनि सबै भन्दा प्रभावकारी भूमिका भनेको सरकारकै हुनुपर्छ। त्यसले मात्र हामीलाई विश्वमानचित्रमा प्रतिस्पर्धी राष्ट्रका रूपमा स्थापित गर्नेछ। 

प्रकाशित: २० भाद्र २०८० ००:२५ बुधबार

Download Nagarik App
Download Nagarik App