७ आश्विन २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

भारतको चन्द्रमा चमत्कार

हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा चर्चित कविता प्रसंग छ– ‘के हो ठूलो जगत्मा पसिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक।’ महाकविको कल्पनाभन्दा धेरै पछि मात्र अमेरिकी वैज्ञानिक निल आर्मस्ट्रङले अपोलो ११ मार्फत् चन्द्र सतहमा पाइला टेकेका थिए। त्यो समय थियो– सन् १९६९। जतिबेला उनले चन्द्रमामा पाइला टेके त्यो भन्दा एक दशकअघि नै महाकवि देवकोटाको निधन भइसकेको थियो। चन्द्र सतहमा पहिलो मानव पाइला टेक्ने आर्मस्ट्रङले त्यतिबेला दिएको भनाइ चर्चित भयो– त्यो मान्छेका निम्ति एउटा सानो पाइला थियो तर मानव जातिका निम्ति यो एउटा विशाल फड्को हो।

पहिलो मानव पाइलाले चन्द्रमा छोएको ५४ वर्षपछि छिमेकी भारतले समेत चन्द्र सतहमा आफ्नो अन्तरिक्ष यान पठाउन सफल भएको छ। यो मानव इतिहासले भविष्यसम्म सम्झिरहनुपर्ने एउटा महान् घटना हुन पुगेको छ। चन्द्र अभियान यसै पनि महँगो छ। सबै मुलुकले यस्तो अभियान सञ्चालन गर्न सक्दैनन्। अहिलेसम्म अमेरिका, रुस, चीन र भारत मात्र यस अभियानमा अग्रणी बन्न पाएका छन्। यसले स्वाभाविकरूपमा सम्बन्धित देशलाई गौरवान्वित तुल्याउँछ। सँगै मानव इतिहास र सभ्यताले गर्व गर्न पाउने केही सीमित अवसरमध्येमा यसलाई लिन सकिन्छ। यस अर्थमा भारत आफूलाई एउटा अग्रणी राष्ट्रका रूपमा स्थापित गर्न सफल भएको छ।  

वास्तवमा भारतीय चन्द्रयान चन्द्रमामा अवतरण गरेको घटना र चीनको प्रगतिले पनि हामीलाई प्रेरणा दिँदैन भने हामी जस्तो अबुझ कोही ठहर्दैन। 

अर्को छिमेकी चीनले २३ नोभेम्बर २०२० मै यान पठाइसकेको हो। चन्द्रयान–३ चन्द्रमामा अवतरण भएको दिन छिमेकी हुनुको नाता नेपालले गौरव गर्न सक्छ। नेपालभन्दा धेरै टाढाका दुई मित्रमुलुक अमेरिका र रसियाले धेरैअघि मानव इतिहास रचिसकेका हुन्। हाम्रै सीमा जोडिएका भारत र चीन पनि यो अभियानमा अग्रणी हुँदा निसन्देह हाम्रा निम्ति यसले प्रेरणा दिन्छ। यसले एसियाप्रति संसारको ध्यान तानेको छ। त्यति मात्र होइन, आगामी भविष्य एसियाको हो भन्ने धारणालाई यसले प्रष्टरूपमा मलजल गरेको छ।  

हाम्रो पुरानो उखान छ– देखासिकी गरिखानू आह्रिसेले मरिजानू। अरूले गरेको उन्नतिमा आह्रिस गर्नु भन्दा त्यसबाट अगाडि बढ्ने बाटो खोज्नु उचित हुन्छ। हाम्रो जस्तो संस्कृति र समाज भएको भारत समृद्धिको बाटोमा पनि अगाडि बढिरहेको छ। कुनैबेला हाम्रो भन्दा कमजोर अर्थतन्त्र रहेको चीन पनि उस्तै गरी अगाडि बढेको छ। एसियाकै दुई ठूला अर्थतन्त्र चीन र भारतको बीचमा बसेका हामीले प्रगति नगर्नु जस्तो विडम्वना के हुन सक्छ ? वास्तवमा भारतीय चन्द्रयान चन्द्रमामा अवतरण गरेको घटना र चीनको प्रगतिले पनि हामीलाई प्रेरणा दिँदैन भने हामी जस्तो अबुझ कोही ठहर्दैन।  

बितेका दशकहरू हामीले राजनीतिक परिवर्तनकै निम्ति खर्चियौँ। राजनीतिक परिवर्तनपछि मुलुकले नेता व्यवस्थापन गर्दै ठिक्क छ। भूतपूर्व प्रधानमन्त्रीहरूको क्लब जस्तो नेपालले पूर्वहरूको अहंकारबाट सबै भन्दा बढी प्रताडित हुनुपरेको छ। आज मुलुकमा जुन तहको छटपटी छ, यो त्यसैको परिणाम हो। रचनात्मक ढंगले मुलुक अगाडि बढ्न नसकेको अवस्थालाई छिमेकीको परिवर्तनले झनै धेरै प्रष्ट्याउँछ। छिमेकीको घरमा भोज चलिरहेको छ आफ्नो घरको छानो टाल्ने हैसियत पनि छैन भने स्वाभाविकरूपमा त्यसले आममानिसलाई चिन्तित तुल्याउँछ।  

विश्वकै थोरै पुराना मुलुकमध्येमा नेपाल पर्छ। न यसले विगतमा कसैको उपनिवेश हुनुपरेको छ। २००७ सालदेखि आधुनिकतातर्फ प्रवेश गरेको मुलुक प्रत्येक दशकमा अधोगतितिर छ। नेपालले अहिल्यै अन्तरिक्षमा जानुपर्दैन तर नागरिक जीवनको न्यूनतम अवस्थामा सुधार भने आवश्यक हुन्छ। जुन राजनीतिक परिवर्तनले आमनागरिकको जीवनलाई परिवर्तन गर्न सक्दैन, त्यो दिगो हुँदैन।  

भारतको अन्तरिक्ष यात्राले स्वाभाविकरूपमा छिमेकी नेपाललाई पनि तरंगित तुल्याएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका नेताहरूले यसका लागि भारतलाई बधाई दिएका छन्। नेताहरूका निम्ति यस घटनाक्रमले विज्ञान र प्रविधितर्फ मुलुकलाई लैजाने प्रेरणा प्राप्त हुनुपर्छ। उपलब्धि हासिल गर्न ज्ञान र पसिनाको संयोग आवश्यक हुन्छ। भारतले त्यो देखाएको छ। यो चमत्कारपूर्ण सुसमाचारका निम्ति हाम्रो पनि बधाई।

 

 

प्रकाशित: ८ भाद्र २०८० ००:२८ शुक्रबार

Download Nagarik App
Download Nagarik App