१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

प्रसूति सेवाको कपिलवस्तु मोडल

कुनै पनि स्वास्थ्य समस्या आफैँमा खराब हो। तर यसमा पनि प्रसूतिसम्बन्धी समस्या झनै डरलाग्दो हो किनकि यसमा आमा र शिशु दुवैको ज्यान खतरामा पर्ने वा बाँचे पनि दुवैमा अल्पकालीन, दीर्घकालीन समस्या निम्तने सम्भावना कायम हुन्छ। त्यसैले अरू स्वास्थ्य सेवाको तुलनामा प्रसूति शब्द जोडिएको स्वास्थ्य सेवा बढी गम्भीर हुन्छ।

यही बुझेर होला सरकार तथा स्वास्थ्यकर्मी सबैले प्रसूति सेवालाई बढी नै महत्व दिने गर्छन्। सरकारले त गर्भवती भएदेखि नियमितरूपमा स्वास्थ्य केन्द्रको सेवा लिउन् भनेर केही रकम तथा स्वास्थ्य निकायमा सुत्केरी हुनेलाई घरसम्म फर्कने भाडासमेत दिने गरेको छ। त्यसैगरी स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवती महिलालाई सुत्केरी हुने बेलासम्म र त्यसपछिको केही समयसम्म निगरानीमा राख्ने र आवश्यक सेवाका लागि सहयोग गर्ने नीति उपलब्ध गराएको छ।

तर पनि सरकारी यस्तो सुविधा धेरैले थाहै पाएका छैनन्। थाहा पाएकाले पनि सुविधा लिन सकेका छैनन्। विशेषगरी गाउँठाउँका स्वास्थ्य निकाय टाढा हुने, सवारी साधन अभाव, बाटोको समस्या, आर्थिक अभाव र स्वास्थ्य चेतनामा कमी जस्ता कारण उनीहरू यस्तो सेवा लिनबाट चुकेका छन्। झन् यसमा पनि देहाती गाउँठाउँका बासिन्दा प्रसूतिसम्बन्धी सुविधा लिनेमा निकै पछि देखिन्छन्। बढीजसो दलित समुदायको बसोबास रहेको र चेतना अभावका कारण तराईमा यस्तो समस्या बढी देखिएको छ।

यस्तो अवस्थाबीच पनि कपिलवस्तु अस्पतालमा देखिएको प्रसूति सेवाको प्रभावकारिताले भने यो क्षेत्रमा बढ्दो चेतनालाई प्रतिविम्बित गर्छ। गत आर्थिक वर्ष अर्थात २०७९÷८० मा दुई हजार १०९ जनाले प्रसूति सेवा लिएको तथ्यांक अस्पतालसँग छ। त्यसमध्ये एक हजार ३ सय ८३ जनालाई सामान्य र एक सय ३४ जनालाई जटिल प्रसूति सेवा उपलब्ध गराइएको थियो। यो भनेको अन्य धेरै अस्पतालसँग दाँज्दा आशालाग्दो अवस्था हो।

खासगरी दक्ष स्वास्थ्यकर्मीको उपलब्धताका कारण अस्पतालले प्रसूति क्षेत्रमा राम्रो सेवा उपलब्ध गराउन सकेको हो। केही वर्षयता यो अस्पतालले ब्लड बैंकसमेत व्यवस्था गरेको छ भने आफ्नोमा सेवा लिन आउनेलाई अन्यत्र जान सुझाउने क्रम पनि कम गरेको छ। उल्टै अन्य स्वास्थ्य निकायबाट रिफर भइआएका १ सय ४२ जनालाई प्रसूति सेवा उपलब्ध गराउनुले पनि यहाँको सेवा सन्तोषजनक भएको पुष्टि हुन्छ।  

एकदमै जटिलबाहेक अन्य शल्यक्रियासमेत हुने यो अस्पतालमा यही कारण छिमेकी जिल्लाका सेवाग्राहीसमेत आउने गरेका छन्। यस्तो अवस्थाले अस्पतालको मात्र नभई यहाँ कार्यरत स्वास्थ्यकर्मीको समेत हौसला बढेको देखिन्छ। गत साउनमा मात्र यो अस्पतालमा दुई सय २९ महिला सुत्केरी हुनुले पनि यहाँको सेवाको प्रभावकारिता मूल्यांकन गर्न सघाउ पुग्छ।

प्रोटोकलअनुसार गर्भ जाँच गराएका महिलाले सुत्केरी भएपछि प्रोत्साहनस्वरूप न्यानो झोला पाउँछन् भने यातायातबापत एक हजार रुपियाँ पाउँछन्। त्यसबाहेक चार पटक गर्भ जाँच गराएको छ भने  

आठ सय रुपियाँ थप रकम पाउँछन्। यस्तो व्यवस्थाले पनि पछिल्लो समय अस्पतालमा प्रसूति सेवा लिन आउनेहरू बढेका छन् जुन स्वास्थ्यका दृष्टिले सुखद खबर पनि हो।

कपिलवस्तु अस्पतालले अहिले अपनाएको कार्यशैलीको अनुसरण गर्ने र कमजोरीहरूलाई सुधार्दै अन्यत्रका स्वास्थ्य निकायमा पनि यसलाई अवलम्बन गर्ने वातावरण बनाउनु पर्दछ। अवलोकन भ्रमण, अनुभव आदान–प्रदान, घटना अध्ययन तयार पारी प्रसारप्रचार गर्ने जस्ता कार्यले अन्य स्वास्थ्य संस्थालाई पनि कपिलवस्तु भन्दा उच्चस्तरको सेवाप्रदायक थलोमा परिणत गर्न सकिन्छ। यसतर्फ सम्बन्धित निकाय, विशेषगरी स्वास्थ्य मन्त्रालयको ध्यान जानु आवश्यक छ।  

प्रकाशित: ७ भाद्र २०८० ००:४० बिहीबार

Download Nagarik App
Download Nagarik App