दुर्घटना अनुमान नमिल्दाको परिणाम हो। जसले सम्पत्ति मात्र हैन, ज्यानैसमेत लिइदिन सक्छ। पूरा हुनै नसक्ने क्षति गरिदिन्छ। अकल्पनीय हानिले बचेका मानिसलाई पनि सन्तुलन गुमाउने अवस्थामा पुर्याइदिन्छ। हेर्दाहेर्दै सुन्दर जीवन र जीविकामाथि विपद् आइलाग्न सक्छ। त्यसैले दुर्घटना कसैका लागि पनि प्रिय हुन सक्दैन। विडम्बना, तर पनि अर्थात हामीले नचाहँदा नचाहँदै पनि दुर्घटना भने प्रत्येक दिन बढिरहेका छन्।
बढ्दो विकास र आर्थिक गतिविधिसँगै यातायातका साधन भित्रने र प्रयोग हुने क्रम बढ्दो छ। यस धर्तीमा हरेक कुराको नियम छ। तर सडक यातायात र सवारीसम्बन्धी नियम पालना गर्न चुक्दा सडक दुर्घटना भइरहेका छन्। आर्थिक वर्ष २०७८/७९ मा सडक दुर्घटनाका कारण ५ हजार ९ सय ६० जनाले ज्यान गुमाएका प्रहरीको तथ्यांकले सुन्नेको त आङ नै सिरिंग हुन्छ भने यो प्रत्यक्ष देखे/भोगेका आफन्तको हालत के होला?
अझ सडक दुर्घटनामा पनि चारपांग्रेको तुलनामा दुईपांग्रे सवारीवालाको हालत खराब देखिन्छ। सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ प्रतिशत मोटरसाइकल यात्रु रहनुले पनि दुईपांग्रे सवारीको जोखिम पत्ता लगाउन असहज हुँदैन। त्यसैगरी सम्पूर्ण सडक दुर्घटनाको ८० प्रतिशत भाग यस्ता दुईपांग्रे सवारीले लिनु अर्को डरलाग्दो तथ्यांक हो। यसरी विश्लेषण गर्दा मोटरसाइकल दुर्घटनाकै कारण वर्षमा २ हजार ७ सय ६० जनाको ज्यान जानु बडो दुःखको विषय हो।
दुर्घटना बाढी, पहिरो, चट्याङ, विभिन्न रोगका महामारीले पनि निम्त्याउँछन्। तर कतिपय दुर्घटना यस्ता हुन्छन् जसलाई तयारीसाथ अघि बढ्दा रोक्न सकिन्छ। रोक्न नसके पनि क्षति कम गर्न सकिन्छ। सडक दुर्घटना विशेष सावधानी अपाउने हो भने टार्न सकिन्छ। दुर्घटना भइहाले पनि क्षतिको आकार खुम्च्याउन सकिन्छ। तर हामी यस्तो सावधानी अपनाउन तयार छैनौँ। त्यसैले त दिनानुदिन सडक दुर्घटना र यसबाट भएका क्षति सञ्चार माध्यमका सिराने खबर बनेर सार्वजनिक भइरहेका हुन्छन्।
सडक दुर्घटना बढ्नुमा एउटा पक्ष मात्र जिम्मेवार छैन। पहिलो कुरा त सवारी चालकहरू निकै हतारमा देखिन्छन्, मानौँ एकैछिन पर्खँदा पनि उनीहरूको लाखौँ रुपियाँ बर्बाद हुन्छ। त्यसैले उनीहरू अझ विशेष गरेर मोटरसाइकल/स्कुटी चालकहरू एक सेकेन्ड पनि कुर्ने धीरता राख्दैनन्। पछिल्लो प्रवृत्ति हेर्दा सडक दुर्घटनाको पहिलो कारण यही हुने गरेको छ। दोस्रो कुरा यात्रुमा पनि सडक कसरी प्रयोग गर्ने भन्ने चेतना छैन। उनीहरू पनि एक सेकेन्ड कतै कुर्न तयार देखिन्नन्। रातो बत्ती बल्दा रोकिने र हरियो बत्ती बल्दा बाटो पार गर्ने, मुख्य सडक भन्दा पैदल यात्रीका लागि निर्माण गरिएको सडकबाट हिँड्ने, जेब्राक्रसबाट मात्र वारपार गर्ने जस्ता सामान्य विषय पनि जानकारी छैन उनीहरूलाई।
त्यसैगरी ठूला सवारी साधनले सानालाई सवारी साधन नै नदेख्ने प्रवृत्तिले पनि दुर्घटना निम्तिरहेको छ। खासगरी पछिल्लो समय ट्रिपर, पानी/पेट्रोलियम पदार्थको ट्यांकी आदिले साना सवारी साधनमाथि देखाएको हेपाहा प्रवृत्तिका कारण पनि दुर्घटना बढिरहेको छ। यसबाहेक सडकको दुरावस्था, सवारीचालक अनुमतिपत्र वितरणमा हुने चलखेलका कारण नजान्नेले अनुमतिपत्र हात पार्नु जस्ता कारण पनि सवारी दुर्घटनाका लागि जिम्मेवार पक्ष हुन्। यस्ता कारणले सबै भन्दा बढी मोटरसाइकलमा यात्रा गर्नेलाई तारो बनाउने भएकाले सबै भन्दा सतर्क पनि यिनै दुईपांग्रे प्रयोगकर्ता हुनु जरुरी देखिएको छ।
यस धर्तीमा समाधानरहित कुनै पनि समस्या छैनन्। त्यसैले सडक दुर्घटना र अझ त्यसमा पनि दुईपांग्रे प्रयोगकर्तालाई यसबाट बचाउने वा भइहालेमा पनि क्षति न्यून गराउने उपाय पक्कै छन्। मुख्य कुरा त सवारी चालक आफैँ सतर्क हुने हो भने दुर्घटनाको आधा सम्भावना आफैँ टर्छ। बाँकी रह्यो आधा। यसका लागि सरकारी नीति नियमको कडाइका साथ कार्यान्वयन, सडकका बेथिति समाधान, सवारी साधनको अवस्था आदिले भूमिका निर्वाह गर्छ। त्यसैले सवारी दुर्घटना न्यूनीकरणमा कुनै एक पक्षको मात्र भन्दा पनि बहुपक्षीय जवाफदेहिता जरुरी हुन्छ। जसलाई ख्याल गर्न आवश्यक छ।
सडक सुरक्षा परिषद् ऐन बनाइ यसलाई कडाइका साथ लागु गरेमा मात्र सडक दुर्घटना र त्यसबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विज्ञहरूको सुझाव छ। त्यसैगरी सडकको सुरक्षा मापदण्ड जाँच गरी अपुग भएको अवस्थामा सुधार गर्नुपर्ने पक्ष पनि उत्तिकै महत्वको छ। किनकि नेपालको करिब १ लाख किलोमिटर सडकमध्ये २५ हजार किलोमिटर मात्र सुरक्षा मापदण्डका हिसाबले उपयुक्त भएको मानिन्छ। स्थानीय तहअन्तर्गत बनेका करिब ७५ हजार किलोमिटर सडक सुरक्षा मापदण्डलाई ख्याल नगरी बनाइएकाले यी पनि दुर्घटना निम्त्याउने कारणका रूपमा देखिएका छन्। मादक पदार्थ सेवा, तीव्र गति जस्ता कारणबारे अवगत गराउन सक्दा पनि सडक दुर्घटना कम गर्न सकिन्छ।
जे होस्, सडक दुर्घटना रोक्न सकिने विषय हो। त्यसैगरी यसबाट हुने क्षति पनि न्यूनीकरण गर्न सकिन्छ। यसका लागि जे/जति प्रयास हुनुपर्ने हो, त्यसको भने अभाव देखिएको छ। सडक दुर्घटनाका कारण हुने जन/धनको क्षतिको ग्राफ बर्सेनि तन्कँदै जाने मुख्य कारण यही हो। माथि भनिएझैँ यस्तो अवस्था रोक्न सरोकारवालाहरूको बहुपक्षीय पहल जरुरी छ। यही वास्तविकतालाई मध्यनजर राखेर अघि बढ्न सकिएमा अवश्य पनि यस्ता दुर्दान्त सुन्नु र भोग्नुपर्ने दिन कटौती हुनेछन्।
प्रकाशित: १७ असार २०८० ००:३३ आइतबार