२१ असार २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

स्याबास क्रिकेट सपना!

लाग्छ, नेपाली क्रिकेटको शब्दकोशमा जितबाहेक अन्य शब्द छैन। आइसिसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत घरेलु मैदानमा सम्पन्न नामिबिया र स्कटल्यान्ड सम्मिलित क्रिकोणात्मक शृंखलाबाट भेट्टाएको जित लय नेपालले एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युएइविरुद्धको खेलसम्म निरन्तरता दिएको छ। नेपाल यस प्रतियोगिताको विजेताका रूपमा यसै वर्षको सेप्टेम्बरमा पाकिस्तानमा तय एसिया कपमा छनोट हुन सफल भएको हो।

आइसिसीको एसोसिएट सदस्यमध्ये सबैभन्दा अब्बल देखिएको नेपालले एसिया कपमा छिमेकी मुलुक भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्दैछ। अर्का समूहमा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन्। आइसिसीको पूर्ण सदस्य राष्ट्रमध्ये नेपालले बंगलादेश, अफगानिस्तान र आयरल्यान्डसँग प्रतिस्पर्धा गरेको छ। तर ती सबै प्रतियोगिता ट्वान्टी २० संरचनाका थिए।नेपालले एक दिवसीयतर्फ पहिलो पटक आइसीसकिो पूर्ण सदस्य राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालको सिनियर क्रिकेट टोलीले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता भनेकै सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी२० विश्वकपको प्रारम्भिक छनोट हो। जहाँ नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो भने बंललादेशविरुद्ध नतिजा सुम्पिएको थियो।

नेपाली क्रिकेटलाई विश्वसामु प्रमाणित गर्ने अर्को अवसर एसिया कप हो। यसमा नेपालले भारत र पाकिस्तान जस्ता राष्ट्रसँग प्रतिस्पर्धाको अवसर पाउँदैछ। एसोसिएट राष्ट्रहरूसँगको प्रतिस्पर्धामा सीमित नेपाली क्रिकेटले एसिया कपमा छनोट हुँदै नयाँ छलाङ मार्नुलाई ठूलो सम्भावनाका रूपमा हेरिएको छ। भारत र पाकिस्तानबीचको खेललाई विश्व क्रिकेटमै सबै भन्दा प्रतीक्षित खेल मानिन्छ। आपसी चिसो सम्बन्धका कारण यी दुई राष्ट्र सकेसम्म एक अर्कोविरुद्धको भिडन्त टार्न खोज्छन्। यी दुई राष्ट्रले पछिल्लो पटक सन् २०१३ मा एक दिवसीय शृंखला खेलेका थिए। त्यसयता भने भारत–पाकिस्तानबीचको खेल विश्व कप र एसिया कपमा मात्र सम्भव हुँदै आएको छ।

नेपाली क्रिकेट समर्थकले भारत र पाकिस्तानविरुद्ध नेपालको खेल हेर्न चाहेको लामो समय भैसकेको छ। जुन अब पूरा हुन लागेको छ। यी दुई राष्ट्रमध्ये भारतविरुद्धको खेलले अझ विशेष अर्थ राख्न सक्छ। भारतमा बर्सेनि आयोजना हुने इन्डियन प्रिमियम लिग (आइपिएल) खेल्न विश्वका सबै खेलाडी आकर्षित हुने गरेका छन्। एीसया कपमा गर्ने प्रदर्शनले नेपाली क्रिकेटको मात्र भविष्य कोर्ने छैन, त्यसले नेपाली खेलाडीलाई विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिग खेल्ने अवसर प्रदान गर्न सक्छ।

नेपालले सोमबार युएइविरुद्ध फाइनलमा प्रतिस्पर्धा गरिरहँदा पाकिस्तान क्रिकेट बोर्डको आधिकारिक फेसबुक पृष्ठमा भारतले एसिया कपका लागि पाकिस्तान भ्रमण गर्न नचाहेमा यस समूहको खेल न्युट्रल भेन्युका रूपमा रहेको युएइमा गर्न तयार रहेको जनाएको छ। यता भारतीय सञ्चारमाध्यमले भने पाकिस्तानमा आयोजना हुने एसिया कपमा सहभागिता नजनाउने र प्रतियोगिता नै रद्द गर्ने भन्दै छुट्टै ५ राष्ट्र सम्मिलित एक दिवसीय प्रतियोगिता आयोजना गर्ने जनाएको थियो।

यस्ता खबरले नेपालले छनोट पार गरेर पनि प्रतियोगिता खेल्नबाट वञ्चित हुने चिन्ता बढेको छ। नेपालले २१ वर्षअघि पनि एसिया कपमा स्थान बनाएको थियो जसबाट भारत र पाकिस्तानविरुद्ध खेल्ने नेपालको सपना साकार हुन सक्थ्यो। भारत–पाकिस्तानबीच कार्गिल युद्धका कारण प्रतियोगितामा निराश हुनुपरेको थियो। आशा छ, नेपाली क्रिकेटले यस पटक भारत र पाकिस्तानबीचको चिसो सम्बन्धका लागि सो अवसरबाट वञ्चित हुनुपर्ने छैन।

नेपाली क्रिकेटमा १२औँ खेलाडीका रूपमा दर्शकको भूमिका सधैँ अहम् रहने गरेको छ। सधैँको झैँ यस पटक पनि नेपाली समर्थकले टोलीलाई दरिलो साथ दिए। यस पटक प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सम्पन्न भयो। यी दुवै मैदानमा दर्शकका लागि उल्लेख्य सुविधा छैन। हामीले समूह एअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको समूह चरणको तेस्रो खेल सुरु हुनुअगावै भएको वर्षाले खेल नै प्रभावित भयो। खेल नतिजाबिहीन बन्यो। तर निरन्तरको झरीमा पनि दर्शकको उल्लेख्य उपस्थिति थियो। नेपाली खेलाडीले पनि उनीहरूको उपस्थिति खल्लो बन्न दिएनन्। समर्थकसँग सेल्फी खिच्दै खेलाडीले उनीहरूप्रति सम्मान जनाएका थिए।

ओमान र युएइबीच सम्पन्न शनिबारको खेलसँगै मूलपानी क्रिकेट स्टेडियमले पनि एक दिवसीय खेल खेलाउने मान्यता पायो। जुन यस प्रतियोगिताबाट नेपालले प्राप्त गरेको अर्को उपलब्धि हो। शनिबार त्रिभुवन विश्वद्यालयको क्रिकेट मैदानमा नेपाल र कुवेतबीच तय सेमिफाइनलमा पनि वर्षाका कारण खेल प्रभावित बन्यो। वर्षाले रोकिएको खेलका बारेमा आधिकारिक धारणा नआउँदासम्म उनीहरू मैदानमै थिए। जुन दृश्य सोमबार नेपाल र युएइबीचको फाइनलमा पनि देखियो। २७.३ ओभरमा युएइ नौ विकेटको क्षतीमा १ सय ६ रन बनाएर खेलिरहेको स्थितिमा रोकिएको खेल मंगलबार सोही स्थितिबाट सुचारु हुने घोषणा नगर्दासम्म दर्शक पर्खिबसेका थिए। मंगलबारको जितले उनीहरूको पर्खाइमा मिठो फल मिलेको छ। कप्तान रोहितले उनीहरूको धैर्यप्रति कृतज्ञ रहेको प्रतिक्रिया दिएका थिए।

नेपाली क्रिकेटले पाएको एकपछि अर्को सफलतालाई नेपाल सरकारले खेलकुद ऐनबमोजिम रकम दिएर सम्मान त गर्छ तर खेलकुद पूर्वाधारमा भने सधैँ मौनता साँधेको छ। नेपाल र युएइबीचको खेल हेर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दलका नेता लावालस्कर लागेर मैदानमा उपस्थित थिए। बल्ल मन्त्रिपरिषद् पुनर्गठनमा खेलकुद मन्त्रालयले मन्त्री पाएको छ। सरकारले खेलाडीका निम्ति जीविकाको राम्रो स्रोत दिने हो भने सफलताको अर्को उचाइ प्राप्त हुनेछ। सरकारले खेलकुद पूर्वाधारमा ध्यान दिने हो भने नेपाली क्रिकेटले थप इतिहास कोर्न सक्छ।

प्रकाशित: २१ वैशाख २०८० ०१:३४ बिहीबार

Download Nagarik App
Download Nagarik App