समाजमा नियम र नैतिकताको आआफ्नै परिभाषा हुन सक्छ। कानुनी रूपमा अनैतिक देखिने पक्षलाई समेत भिडको आडमा नैतिक देखाउने प्रयास हुन थालेको छ। हाम्रो समाजमा कुनै बेला ‘पाप’ सम्झेर नगर्ने काम पनि अहिले बहादुरीपूर्वक हुन थालेको छ। समाजलाई विद्रुप बनाउँदै लोकरञ्जनका नाममा जसरी पनि अगाडि बढ्न सकिने प्रवृत्ति हावी पनि हुँदै छ। कुनै पनि समाजले न्यूनतम नैतिकता कायम राखेन भने त्यसले भयानक अराजकतातर्फ मुलुकलाई लैजान सक्छ। अन्यत्र धेरै मुलुकमा देखिएको यो प्रवृत्तिले क्रमशः हामीलाई पनि गाँज्न थालेको छ।
हाम्रो मुलुकमा विगतमा कैयन् ठूला आन्दोलन भएका छन्। ती आन्दोलनका क्रममा पनि धेरै कम मात्र लुटपाटका घटना भएका छन्। २०४६ सालको जनआन्दोलनमा सफलतासँगै तत्कालीन सत्तासँग निकट केही व्यक्तिका घरमा लुटपाट भए पनि त्यो नेपाली समाजको आमप्रवृत्ति थिएन। आमनागरिकले एक अर्कालाई साथसहयोग दिएर यो समाज अगाडि बढेको हो। तत्कालीन शासनसत्ताको विरोधमा रहेका राजनीतिक नेता तथा कार्यकर्तालाई समेत समाजले जोगाएर राखेको हो। आमनागरिकको साथ पाएर तिनले आफूलाई बलियो सत्तासँग लड्न सम्भव भएको हो।
आफूमाथि जतिसुकै ठूलो समस्या परेर पनि नेपाली समाजले तत्कालीन माओवादी सशस्त्र गतिविधिका बेलामा पनि सहयोगी भावनालाई मर्न दिए। नेपाली-नेपालीबीच पक्ष र विपक्ष भएर लडिरहेका बेला पनि समाजमा थोरै भए पनि दयाभाव नरहेको होइन। केही वर्षयता क्रमशः समाजमा आक्रोश बढ्दो छ। त्यो आक्रोश कहिले कुन रूपमा र कहिले कुन रूपमा प्रकट भइरहेको छ। यातायात मजदूर र व्यवसायीको आन्दोलन भइरहेका बेला त्यसैको आडमा लोत्से बहुद्देश्यीय प्रालिको भवनमा लुटपाट गरेको दृश्यमाथि नेपाली समाजले सरम मान्नुपर्ने अवस्था पैदा गरेको छ।
२०७२ सालको भूकम्प र त्यसपछि भारतले नेपालमा संविधान जारी भएपछि लगाएको नाकाबन्दीका क्रममा समेत नेपालीले आत्मअनुशासन परित्याग गरेनन्। भूकम्पका बेला राहत दिन खोज्दा अझ परका मानिसले पाएका छैनन् भनी बाटो देखाउने नेपालीको व्यवहार देखेर विदेशी पत्रकारसमेत नतमस्तक भएका थिए। त्यति मात्र होइन, आफैँ भूकम्पमा परेका व्यक्तिले खाना खान विदेशीलाई आग्रह गरेका घटनालाई तिनले रोमाञ्चक ढंगले अन्तर्राष्ट्रिय माध्यममा प्रस्तुत गरेका पनि हुन्।
अहिले गरेको तोडफोड र मोबाइल पसलमा गरेको लुटपाटका दृश्य देखे भने पक्कै पनि ती मानिस आश्चर्यमा पर्नेछन् जसले नेपालीमा शान्ति र शौम्य व्यवहार देखेका थिए। विगतमा आन्दोलनका क्रममा नेपालमा धेरै तोडफोड भएको छ। मुलुकका संरचना तहसनहस पारिएको छ। द्वन्द्वकालमा बिस्थापित प्रहरी चौकी पुनःस्थापित हुन् दुई दशकभन्दा बढी समय लागेको छ। कालीकोटको पुरानो फुकोट प्रहरी चौकी बल्ल अहिले आएर स्थापित भएको छ। आन्दोलनका नाममा ध्वस्त पारिएका प्रहरी चौकी, टेलिफोन टावर आदिका कारण मुलुकमा ठूलो क्षति विगतमा भइसकेको छ। राजधानी काठमाडौँमै आन्दोलनका क्रममा सडकपेटीका रेलिङ भाँचेका दृश्य अझै विस्मृतिबाट गइसकेका छैनन्। संसद्भित्रै पक्ष र प्रतिपक्ष हुँदा कुर्सी भाँचेका दृश्य पनि देखिएका हुन्।
यी सबै घटना क्रमबाट समालिएर मुलुक अगाडि बढ्न खोजेको हो तर भित्रभित्रै फेरि अहिलेको राजनीतिक प्रणाली, संविधान र परिवर्तनलाई उल्ट्याउने गतिविधि हुन थालेका छन्। समाजलाई अराजक बनाउँदै अभीष्ट पूर्ति गर्न सकिन्छ भन्ने सोच बनाएको देखिन्छ। लोकतन्त्रको विकल्प कुनै निरंकुशतन्त्र हुन सक्दैन। अहिले घुमाइफिराइ निरंकुशतन्त्रका निम्ति प्रयास हुन थालेको छ। कहिले कुनै पुराना शक्ति देखाएर र कहिले पुराना सुखद दिन सम्झाएर जनतालाई प्रज्वलनशील बनाउने प्रयास भइरहेको छ। सानो घटनामा पनि प्रहरी भ्यानमा आगजनी गर्ने र व्यवसायमाथि आक्रमण गर्ने प्रवृत्ति मौलाउन खोजेको देखिन्छ। यस्ता विषयमा बेलैमा ध्यान पुगेन भने मुलुक फेरि अर्को दावानलमा पर्ने निश्चित छ।
विगतका राजनीतिक परिवर्तन, त्यसका कर्ताहरूलाई सिध्याउने र अभीष्ट पूर्ति गर्ने तत्त्व सल्बलाउन थालेका छन्। प्रत्येक समाजमा अन्तरद्वन्द्व हुन्छन् तर तिनलाई फेरि पनि कचल्ट्याउने प्रयास भइरहेको देखिन्छ। यसलाई बुझेर बेलैमा व्यवहार गर्न सकेन भने त्यसले मुलुकलाई अराजक बनाउनेछ। त्यसैले कानुन र व्यवस्थालाई चुस्तदुरुस्त बनाउनु अहिलेको आवश्यकता हो। कुनै पनि व्यक्ति वा समूहले कानुन उल्लंघन गर्छ भने त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ। अझ अहिले यस्ता काम गर्न उक्साउने प्रवृत्ति पनि देखिन्छ। यसरी उक्साउनेलाई पनि कानुनी कारबाहीमा ल्याइएन भने समाज अरू आक्रामक हुँदे जाने देखिएको छ। तोडफोड र लुटपाटमा संलग्न व्यक्तिले सहजै उन्मुक्ति पाउने हुन् भने यो नियमित प्रवृत्तिका रूपमा विकास हुन थाल्छ। प्रधानमन्त्री पुष्पकमल दाहालले यस घटनाबारे छानबिन गर्न संलग्नलाई कारवाही गर्न बुधबार सुरक्षा प्रमुखहरूलाई निर्देशन गरेका छन्। दोषीमाथि कारवाही भयो भने यस्तो अराजक गतिविधि निरुत्साहित हुनेछ।
हामीकहाँ नेतालाई मात्र गाली गर्ने प्रवृत्ति बढेको छ तर जनताको तहमा पनि विचार गर्नुपर्ने बेला भइसकेको छ। जस्ता जनता हुन्छन्, नेता पनि उस्तै हुन्छन्। नियम र नैतिकता पालना गर्नुपर्दैन भन्ने भावना बढ्यो भने त्यसले गोंगबुको जस्तो घटनामा पुर्याउँछ। हामीकहाँ बेलाबेलामा यस्ता प्रवृत्ति विगतमा पनि देखिएका छन्। १६ भदौ २०६१ मा मुलुकका तीन क्षेत्र-मस्जिद, मेनपावर र मिडियामाथि आक्रमण गरिएको थियो। त्यो दिनको आक्रमणअघि वातावरण बनाउँदै लगिएको थियो र त्यो माघ १९ को ‘कु’ को आधारभूमि पनि थियो। अहिले पनि यस्तै आक्रमणको वातावरण बनाउन पुरानो दक्षिणपन्थी तत्त्वदेखि नवस्थापित लोकरञ्जनवादी पक्षसमेत सक्रिय भइरहेको छ। यी संकेतलाई बुझ्ने प्रयास भएन भने अहिलेको राजनीतिक व्यवस्थामाथि घात हुन सक्नेछ।
प्रकाशित: ३ फाल्गुन २०७९ २३:५९ बुधबार