खेलकुदबाहेक कुनै यस्तो गतिविधि छैन जसले पूरै विश्वलाई एक सूत्रमा बाँध्न सकोस्। कतार विश्वकप फुटबलको अन्तिम खेल हेर्न गत आइतरबार विश्वले आँखा झिमिक्क नपारी प्रतीक्षा गरिरह्यो। विश्वकपको वर्षौंको तयारी, महिना दिनको खेल आयोजना र यस आसपासका गतिविधिले विश्वलाई एक ठाउँमा ल्याउँछ। विश्वका कुनै घटनाले पनि मानिसलाई यसरी जोड्दैन। नेपालले विश्वकप फुटबलमा सहभागिता जनाउन पाएको छैन तर यसका रोमाञ्चकताबाट नेपालीले पनि आफूलाई अलग राखेका छैनन्। आफूलाई मन पर्ने खेलाडी र देशलाई तिनले आफ्नै सम्झेर समर्थन गरे र खेलसँगै रमाएका छन्।
विश्वकप विजेता अर्जेन्टिना र यसका खेलाडी लियोनल मेसी यतिबेला विश्वभरि घर-घरको चर्चाका विषय बनेका छन्। सामान्य परिवारमा जन्मिएको व्यक्तिलाई यो तहको चर्चा र सफलतामा पुर्याउन सक्ने सहज माध्यम खेल हो। पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेइमारको परिवार विपन्नताबाट उठेको हो। त्यति मात्र होइन, खेल नै यस्तो गतिविधि हो, जसले शान्ति र सद्भावको भावना अभिवृद्धि गर्छ। खेलले देशदेशबीच हार्दिकतासमेत बढाउँछ। कतिपय अवस्थामा राजनीतिले विभाजित गरेका मुलुकलाई समेत खेलाडीको भावनाले निकट बनाउँछ। मोरक्को विश्वकप इतिहासमा सेमिफाइनलमा पहिलो अफ्रिकी र अरबी राष्ट्र बन्दा राजनीतिका कट्टर दुष्मन मानिएका अल्जेरियालगायतका देशका नागरिकले खेलमैदानमै उसैको झण्डा बोकेर समर्थन गरेको दृश्य अत्यन्तै मनोहारी थियो।
त्यही भएर दोस्रो विश्वयुद्धताका र त्यसपछि एकैचोटि १२ वर्षको अन्तरमा १९५० मा मात्र यो खेलले निरन्तरता पायो। अन्यथा प्रत्येक चार वर्षमा यो उत्सवमय खेल आयोजना हुन्छ। ओलम्पिकपछि सबैभन्दा धेरै चासो भएको आयोजना यही हो। विश्वकपमा जित र हार हुन्छ तर खेलमा जित्नेलाई हार्नेले पनि सहर्ष स्वीकार गर्छन्। राजनीतिमा पनि यदाकदा खेलभावना देखिन्छ। त्यस्तो बेला त्यसलाई उत्कृष्ट घटनाका रूपमा लिइन्छ। यसकारण पनि खेलबाट राजनीति र वास्तविक जीवनका निम्ति समेत प्रेरक प्रसंग प्राप्त गर्न सकिन्छ।
विश्वकप फुटबलको गौरवमय इतिहास छ। यसमा विगतमा खेलेका खेलाडीले इतिहास रचेका छन्। ब्राजिलका महान् फुटबलर पेलेलाई यस दृष्टिकोणले अग्रणी मानिन्छ। त्यसैगरी डिएगो म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्व कप जिताएका थिए। म्याराडोनालाई पनि त्यसैगरी उत्कृष्ट खेलाडीका रूपमा सम्झना गरिन्छ। त्यही भएर पेलेले लियोनल मेसीलाई बधाइ दिने क्रममा भनेका छन्, ‘मेसीले पहिलो विश्वकप जितेका छन्, जसका लागि उनी योग्य थिए। बधाइ छ-अर्जेन्टिना, पक्कै पनि डिएगो म्याराडोना हाँसिरहेका छन्।’ एक वर्षअघि म्याराडोनाको निधन भइसकेको छ तर उनको खेल जीवन आज पनि सबैका निम्ति उत्तिकै प्रिय छ।
यस पटकको विश्वकप फुटबलले विजेता मेसीलाई मात्र होइन, फ्रान्सका खेलाडी किलियन एमबाप्पेलाई पनि चर्चाको शिखरमा पुर्याएको छ। यी २४ वर्षे युवाले यसपटक फ्रान्सलाई विश्वकपको नजिक पुर्याए पनि सफलता हासिल गर्न सकेनन्। तैपनि यिनको सुखद् भविष्यप्रति आश्वस्त मानिस विश्वभर देखिएका छन्। राजनीतिमा कुनै देशका नेताको उदयलाई प्रायः यसैगरी हेरिन्छ। त्यो अवसर धेरै थोरैलाई मात्र प्राप्त हुन्छ। मानिसले राजनीतिमा यो तहको प्रसिद्धि बिरलै प्राप्त गर्छन्। खेलमा लागेका व्यक्तिले विश्वभरि आफ्ना प्रशंसक कमाउन सक्छन्। यो स्थान सबै उत्कृष्ट खेलाडीका निम्ति सुरक्षित हुन्छ। कसैले पनि त्यो ठाउँ अरूबाट सुरक्षित गराइदिनु पर्दैन। प्रायः राजनीतिमा कसैले ‘क्रेन’ले उठाएर ठाउँमा पुर्याइदिएको हुन्छ। खेलमा भने आफ्नै आर्जन हुन्छ। यसकारण पनि खेलबाट प्राप्त उपलब्धिलाई गौरवका रूपमा लिइन्छ।
विश्व कप फुटबल वा यस्तै अन्य ठूला खेल आयोजनामा मुलुकको सहभागिता हुनुको आफ्नै गौरव हुन्छ। यसले सम्बन्धित देशलाई विश्व मानचित्रमा उँचो स्थानमा पुर्याउँछ। खेलाडीले हासिल गर्ने उपलब्धि सिधै गएर देशको गौरवसँग जोडिन्छ। त्यस्तो सफलताका निम्ति देश धनी वा ठूलो हुनुपर्ने आवश्यकता हुँदैन। तुलनात्मकरूपमा साना देशले पनि विश्वमा आफ्नो प्रभाव फैलाउन सक्छन्।
अर्जेन्टिनाको अर्थतन्त्रमा समस्या रहेको र आन्तरिक समस्यासमेत रहेका बेला त्यहाँ विजयोत्सवका शृङ्खला चलेका छन्। यसले आमनागरिकका भावनालाई अझ सशक्त तुल्याएका छन्। यसकारण पनि खेलमा देशले लगानी गर्नुपर्छ भनिएको हो। हामी कहाँ पनि खेलप्रति आकर्षण देखिन्छ तर राजनीतिक नेतृत्वले त्यस क्षेत्रलाई पनि प्रदूषित तुल्याएका छन्। राजनीतिले खेल क्षेत्रलाई प्रतिस्पर्धात्मक रहन दिने र त्यसका निम्ति यथेष्ट लगानी गर्ने हो भने खेलबाट पनि नेपालको गौरव वृद्धि गर्न सहज हुन्छ।
हाम्रो मुलुकलाई सगरमाथा र बुद्धको देश भनेर चिनाउन सहज छ। त्यसैगरी बहादुर नेपालीको देश भनेर पनि यो चिनिन्छ। युद्ध मैदानमा बहादुरी देखाउन सक्षम नेपालीका निम्ति खेल मैदान कुनै गाह्रो काम होइन तर त्यसका निम्ति सानै उमेरदेखि खेलतर्फ लगाउन राज्यले आवश्यक तयारी गर्नु उचित हुन्छ। विश्वकप जारी रहेका बेला मुलुकका राजनीतिक व्यक्तिले विदेशी खेलाडी र टिमलाई समर्थन गर्दै प्रतिक्रिया दिएको देखियो। तिनले कहिल्यै घरेलु खेलको विकासका निम्ति त्यो तहको टिप्पणी गरेको सुनिएको छैन। राजनीतिले सकारात्मक भूमिका खेलेका भए हाम्रो मुलुकका खेलाडी पनि झण्डा बोकेर मैदानमा हुन्थे-यतिखेर। कतार जस्तो भौगोलिक र जनसांख्यिक दृष्टिले सानो मुलुक आफ्नो धनबलकै आधारमा खेल आयोजना गर्न सफल भयो। हामीले त त्यत्रो मेहनत नगरी मौका पाउन सक्ने थियौं। हाम्रो मुलुकले यस्तो खेलमा सहभागी हुने मात्र होइन, भविष्यमा आयोजक राष्ट्र बन्ने गौरव हासिल गर्न सक्छ। त्यसका निम्ति आवश्यक तयारी र रणनीति हुनुपर्छ।
नेपाललाई यसै पनि तटस्थ क्षेत्रका रूपमा विश्वले लिन्छ। कुनै राजनीतिक विवाद नरहेको र सबै देशले स्वीकार गर्न सक्ने छवि भएको हाम्रो मुलुकले खेललाई किन प्राथमिकतामा राखेको छैन? हामी कहाँ ठूला खेल आयोजना हुन थाल्ने हो भने त्यसले हरेकक्षेत्रमा पार्ने प्रभाव निकै ठूलो हुन्छ। कतारमा आयोजित विश्व कपमा नेपालले खेल्न नपाए पनि त्यहाँका रंगशाला निर्माणमा नेपालीले गरेका योगदान अतुलनीय छ। त्यही काम गर्दा हाम्रा कैयन् नेपालीको ज्यान गएको छ। त्यसका निम्ति नेपाली परिवारले पाउनुपर्ने क्षतिपूर्तिका निम्ति सरकारले पहल गर्नुपर्छ। यत्रो ठूलो आयोजनापछि भएको आम्दानीको सानो अंश मात्रै पनि कामको सिलसिलामा जीवन गुमाउने नेपाली परिवारका निमित्त उपयोग भयो भने सार्थक हुन सक्छ। खेल भावना जागेको यो बेलामा नेपालले यो विषयलाई अगाडि बढाउँदा कतार सरकार र विश्वकप आयोजक संस्थाले स्वीकार नगर्ने कुरै हुँदैन।
प्रकाशित: ६ पुस २०७९ ००:१२ बुधबार