‘आफ्नै बारीमा फलेको अन्नका परिकार बिर्सिएर हामी आधुनिकपनका खाजा र सितन खोज्दा रहेछौं’ आधुनिक समाजको मानवीय स्वभाव प्रकट गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले भने ‘लु हेरौं त मकैको खाद्य परिकार कति राम्रो।’
ताप्लेजुङका किसान लक्षित मकै प्रशोधन तालिममा सहभागीले बनाएको मकैका खाद्य परिकार निरीक्षण पछि नगरप्रमुख मादेनको यो पहिलो प्रतिक्रिया थियो। देशका जुनसुकै क्षेत्रमा मकैबाली हुने र त्यही मकैबाट अनेकन् प्रकारका खाद्य प्रजाति तयार हुने मेसो सिकेका फुङलिङका राजु नेपालीको मकैप्रतिको पहिलाको भावना बदलिएको छ।
उनी भन्छन् ‘अहिलेसम्म दोस्रो दर्जाको बालीको रुपमा चिनिने मकैको सहि उपयोगले यसको महत्व र उपयोगिताका आधार सम्बन्धी ज्ञान दिएको छ।’ तालिम पछि आफूले मकैको उपयोगिता र यसबाट दैनिक छाक टर्न सक्छ भन्ने आत्मविश्वास पलाएको नेपालीले बताए।
तालिम दिन आएका विज्ञ डाक्टर हिमालप्रसाद तिमल्सिनाका अनुसार नेपालमै पहिलोपटक मकैलाई प्रशोधन गरी दैनिक खाद्यान्नको रुपमा उपभोग गर्न सकिने कला र ज्ञान ताप्लेजुङमा छरिएको छ। आफूहरुले मकैबाट कस्तो परिकार बनाउन सकिन्छ भन्ने ज्ञान दिएर त्यसमार्फत मकैले पनि हाम्रो भान्छामा छाक टार्छ भन्ने सन्देश दिन खोजेको तिमल्सिनाको भनाइ थियो।
बढ्दो सहरी संस्कृतिले मकैका परिकारलाई दुःखीको खान्की ठान्न थाल्नुलाई गलत मान्दै मकैका परिकारमार्फत परिवारको दैनिक भान्छा चलाउन सक्ने बनाउन र मकैको उपयोगिता बढाउन तालिम लाभदायक हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई ताप्लेजुङका प्रमुख काशीराम पाण्डे बताउँछन्।
खासगरी अहिलेको पुस्तामा मकैको उपभोग र उपयोगिताप्रति देखिएको नकारात्मक सन्देश हटाई मकैले दिने पौष्टिकताप्रतिको महत्व जगाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनले बताए। विज्ञहरुका अनुसार मकैलाई प्रशोधन गरी चपटपटे प्रकारको सितन, मःम, चाउमिन, थुक्पा, कर्न डग्स, सुपजस्ता परिकार बनाउन सकिन्छ।
साथै मकैको जुँगाबाट चिया बनाउन सकिन्छ। यो स्वास्थ्यका लागि लाभदायक हुन्छ। स्वदेशी मकै पोलेर र उसिनेर बेचबिखन भइरहेका छन्। त्यसलाई परिकारमा ढाल्न नसकिएको भन्दै अर्का प्रशिक्षक फत्तबहादुर बढुवालले मकैका परिकार पस्किएर नेपालीहरूको भातभान्छामा पोसिलो खान्की छिराउने अभियानको सुरुवात भएको बताए।
विज्ञ डाक्टर तिमल्सिनाले पहाडी क्षेत्रका दुधे मकैबाट विभिन्न परिकार र प्रजाति तयार हुन सक्ने बताए। यसबाहेक मकैको सबै रुप भान्छामा प्रयोग गर्न सकिने उनको भनाइ थियो। निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई ‘गाउँघरको खाजा’ को गलत उपमा दिएर मकैको महत्व र यसप्रतिको आकर्षण घटाउने नेपाली समाजको विकसित क्षेत्रका मानिसहरु अहिले मकैका चामल खोजीखोजी हिड्न थालेकोमा दुःख लागेको बताउँछन्।
वस्तुभाउलाई दानाको रुपमा मात्र नभइ प्रयोग गर्न मिल्ने मकैलाई छाकै पिच्छे मानिसका भान्छा समेतमा पुर्याउने हो भने मानिसको शरिरमा पौष्टिकताको मात्रा पुग्ने भट्टराईले बताए। एक तथ्यांक अनुसार नेपालमा पहाड, तराई र हिमालको करिब ८० जमिनमा मकैको उत्पादन हुने गरेको छ। जसमध्ये मकैको व्यावसायिक उत्पादनमा भने १५ देखि २० प्रतिशत मानिसहरु मात्र संलग्न छन्। मकैको ६० प्रतिशत हिस्सा घरेलु प्रयोगमा सिमित हुने गरेको बताइन्छ।
प्रकाशित: ३० भाद्र २०७९ १२:३० बिहीबार