२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कर्णालीमा कृषि उत्पादन करिव दुई प्रतिशतले बढ्यो

राष्ट्र बैंकको आर्थिक प्रतिवेदन

कर्णालीमा कृषि बाली र उत्पादनमा १.८१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेशभर १.८१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीमा कृषि बाली उत्पादन ११.२१ प्रतिशत थियो।  

बैंकले कर्णालीका १० वटै जिल्लामा गरेको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ४.६८ प्रतिशतले बढेको देखाएको छ। जसमा खाद्यबाली तथा अन्य बालीले ४.५२ प्रतिशत, तरकारी तथा बागवानी ३.३ प्रतिशत र फलफूल तथा मसलाजन्य बाली ७.५४ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ। जुम्ला, मुगु, हुम्ला र डोल्पामा गैरस्थलगत तथा ६ जिल्लाहरु सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम र कालिकोटमा स्थलगत अनुगमनका आधारमा आर्थिक सर्वेक्षण गरिएको थियो। जस अनुसार प्रमुख बालीमध्ये धान ०.४० प्रतशतले वृद्धि भएको छ भने मकै, गहँु र कोदो क्रमशः ६.५७ प्रतिशत, ०.२१ प्रतिशत र २.६९ प्रतिशतले वृद्धि हुँदा जौ बाली भने ३.२६ प्रतिशतले घटेको छ।  

आर्थिक वर्ष २०७७/०७८ मा आलू र भटमास उत्पादनमा वृद्धि भएको छ। आलू ९.९० प्रतिशतले वृद्धि हुँदा भटमास २७.७० प्रतिशले बढेको छ। यस्तै तरकारी र फलफूलको उत्पादनमासमेत वृद्धि भएको छ। कर्णालीमा दुध उत्पादन २६.६५ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/०७८ मासु र अण्डा उत्पादन क्रमशः ८४.०३ र ३८.०१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा मासु उत्पादन १६.८० प्रतिशतले वृद्धि भएको थियो।  

सुर्खेत, दैलेख र सल्यानलगायतका जिल्लाहरुमा युवाहरुको व्यवसायिक पशुपालनप्रति बढेको आकर्षण र सरकारी अनुदानका कारण पशुजन्य उत्पादनमा वृद्धि भएको उल्लेख छ। माछा उत्पादनमा १९.४७ प्रतिशतले बढ्दा सबैभन्दा बढी जाजरकोटमा ६ सय मेट्रिकटन माछा उत्पादन भएको छ, भने सबैभन्दा कम जुम्लामा १.५० मेट्रिकटन रहेको छ। कुल खेतीयोग्य जमिन ८३ हजार ९७९ हेक्टर मध्ये ५९ हजार २८० हेक्टर क्षेत्रफलमा खेती गरिएको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ।  

जिल्लागत तथ्यांक अनुसार कृषि उत्पादनको ठुलो हिस्सा सल्यान जिल्लाले ओगटेको छ। सल्यानमा कुल खाद्य तथा अन्य बाली उत्पादनमा १९.९९ प्रतिशत र तरकारी तथा वागवानी बालीमा २०.२४ प्रतिशत हिस्सा ओगटेको छ भने सबैभन्दा कम हुम्लामा १.९४ प्रतिशत रहेको छ। प्रमुख फलफूलमध्ये सुन्तला उत्पादनमा १३.९० प्रतिशतले घटेको छ। यस्तै गत आर्थिक वर्षमा ३३.०१ प्रतिशतले वृद्धि भएको आँप यसवर्ष २८.१५ प्रतिशतले वृद्धि भएको छ। केरा र स्याउको उत्पादन क्रमशः ९२.७२ प्रतिशत र ४८.५१ प्रतिशतले बढेकोमा यस वर्ष केरामा ४.३२ प्रतिशत र स्याउमा ३.३९ प्रतिशतले घटेको छ।  

मह उत्पादनमा ५१.४३ प्रतिशतले वृद्धि हुँदा गत वर्ष ६.६७ प्रतिशतले बढेको थियो। कुल खेती गरिएको ५९ हजार २८० हेक्टर जमिनमध्ये १५ हजार २९४ हेक्टर जमिनमा सिंजाई सुविधा पुगेको छ। गत आर्थिक वर्षभन्दा २०७७/०७८ मा सिंचित क्षेत्रफल ४.१७ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७६/०७७ भन्दा समीक्षा गरिएको यो आर्थिक वर्षमा वार्षीक बजेट तथा प्रगतिमा उल्लेख्य सुधार र युवाहरुको व्यवसायिक कृषि खतीप्रतिको बढ्दो आकर्षणले कृषि र उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। यद्यपी, खेतीयोग्य जमिन र खेती गरिएको क्षेत्रफलको तुलनामा सिँचाई सुविधामा बिस्तार भने भएको देखिदैन।

देशको कुल ग्राहस्थ उत्पादनमा अन्य प्रदेशको तुलनामा कर्णालीको सबैभन्दा कम ४ प्रतिशत मात्रै रहेको छ। युवापुस्ताको कृषिप्रतिको आकर्षणले कर्णालीमा व्यवसायिक कृषि र पशुपालनमा वृद्धि भइरहेको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायाले बताए। ‘कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण पनि कृषि उत्पादन बढेको छ,’ उनले भने, ‘कोरोनाका कारण घर फर्केका युवाहरुसमेत कृषि क्षेत्रमा सक्रिय भएकाले उत्पादन बढेको हो।’ निर्देशनालयले व्यवसायिक कृषि तथा पशुपालनमा लाग्न चाहने युवा तथा कृषकहरुलाई विभिन्न प्राविधिक सल्लाह, कृषि औजारमा अनुदान लगायत विभिन्न कार्यक्रममार्फत समेट्दै आएको रोकायाको भनाई छ।

प्रकाशित: १५ श्रावण २०७९ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App