१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्यमशील बनाउने सीप सिकाउने नीति अवलम्बन गर्न सरोकारवालाको सुझाव

राष्ट्रिय व्यवसायीक सीप विकास तालिम नीति–२०७९ को मस्यौदाबारेको छलफलमा सहभागीहरु।

रोजगारदाता कम्पनीहरु दक्ष जनशक्ति नपाएकोमा चिन्तित छन्। युवाहरु रोजगार नपाएर भौतारिरहेका छन्। तर तपाईंहरु भने सीप विकास तालिम दिएको भन्दै नाक फुलाएर बस्छन्। लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव जानुका पराजुली अधिकारीले अगाडि भनिन्,‘कहाँ तादात्म्यता मिलेन? किन यस्तो भयो? यसको खोजी गर्नुपर्‍यो।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको राष्ट्रिय व्यवसायीक सीप विकास तालिम नीति–२०७९ को मस्यौदाबारेको छलफलमा अधिकारीलगायत सरोकारवालाहरुले सीप विकास तालिम नीति सही नहुँदा यस्तो समस्या देखिएको औँल्याएका हुन्। कार्यक्रममा सरोकारवालाहरुले सीप विकास नीति सच्याएर समयसापेक्ष बनाउनु सुझाव दिए।

उद्यमशीलता विकास गर्ने किसिमको सीप विकास नीति बनाउनुपर्नेमा उनीहरुको जोड थियो। खुल्ला छलफलमा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव अधिकारीले भनिन्, ‘नीति छ तर कार्यान्वयन फितलो भयो। जसले गर्दा दक्ष जनशक्ति उत्पादन भएन। उत्पादन भएका अर्धदक्ष जनशक्तिपनि विदेशिए। यहाँ सँधै दक्ष जनशक्तिको अभाव भयो।’ उनले दक्ष जनशक्ति उत्पादन र उनीहरुलाई यही टिकाउन राज्यको नीति उद्यमशीलता विकासमा हुनुपर्ने र त्यसको कार्यान्वयनमा तादात्म्यता मिल्ने हुनुपर्ने बताइन्।

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको तर त्यस्तो जनशक्ति उत्पादनमा सरकारको ध्यान नगएको गुनासो गरे। ‘सीप सिकाएर विदेश पठाउने नीति सरकारको छ। यसले हामीलाई कही पुर्‍याउँदैन’ उनले भने। उनले स्थानीय आवश्यक्ता अनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने भन्दै अगाडि थपे,‘जस्तै गण्डकीमा पर्यटनलाई लक्षित गरेर सीप सिकाइयोस्।’

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका दीलप्रसाद मगरले रोजगार बनाउने भन्दापनि उद्यमशीलता केन्द्रीत सीप सिकाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। ‘रोजगार पायो भने केवल एक जनालाई हुन्छ। तर उद्यमशील भयो भने आफूसहित कम्तिमा १०/१२ जनाका लागि रोजगारी सिर्जना हुन्छ। त्यसैले उद्यमशीलता केन्द्रित सीप सिकाउने नीति राज्यको हुनुपर्छ’ उनले भने।

पोखरा महानगरपालिकाकी सामाजिक विकास महाशाखामा कार्यरत गीता न्यौपानेले निःशुल्क सीप सिकाएकालाई कम्तिमा ५ वर्षसम्म स्वदेशमै उद्यमशीलता गर्न बाध्य पार्ने नीति लिनुपर्ने बताइन्। त्यस्तै, तालिम प्रदायक संस्थाहरुलाई पनि ती तालिम लिएकाहरुलाई उद्यमशील बनाउन जिम्मेवारी लिन बाध्य बनाउनुपर्नेमा जोड दिइन्।

ट्रेड युनियन कंग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले सीप विकास तालिम दिने नीति लिइएपनि त्यो प्रभावकारी नभएको बताए। उनले भने,‘नीति छ तर कार्यान्वयन फितलो हुँदा उत्पादित जनशक्ति विदेश पलायन भयो।’ उनले उत्पादित जनशक्ति यही बसेर उद्यमशील हुने खालको नीति लिन आवश्यक रहेको बताए।

जिफण्ड गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले तालिम केबल तालिममा मात्र सिमित भएको र यसले रोजगारी र स्वरोजगार सिर्जना नगरेको आरोप लगाए। उनले परम्परागत रुपमा अंगालेका पेशाप्रति सम्मान, काम गर्ने व्यक्तिले आत्मसम्मानको अनुभूति गर्ने वातावरण निर्माण गरेर उनीहरुलाई नै थप दक्ष र व्यवसायीक बनाउन सघाउने नीति राज्यले लिनुपर्ने बताए।

अखिल नेपाल ट्रड युनियन महासंघ गण्डकीका कोषाध्यक्ष टंकराज पौडेलले नेपालको शिक्षा नीति नै वैदेशिक रोजगारीमा जानेको लागि केन्द्रित भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए। स्वदेशमै बसेर उद्यमशील बन्न प्रेरित गर्ने शैक्षिक नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष अर्जुन पोखरेलले रोजगार र स्वरोजगार बनाउने अल्प, मध्यम र दीर्घकालिन नीति बनाउन सुझाव दिए। रोजगार विज्ञ तथा मस्यौदा समितिका सदस्य युवराज बस्नेतले श्रमबजारले मागेको जनशक्ति उत्पादन नहुँदा बेरोजगारीको संख्या बढेको बताए।

रोजगारी गर्न सक्ने करीब दुई तिहाई मानिस बेरोजगार छन्, उनले भने, ‘कुन क्षेत्रमा श्रमबजारको माग कस्तो छ? कसैलाई थाहा छैन। न यसको अध्ययन भएको छ। नत यतातर्फ कसैको ध्यान छ।’ उनले श्रम बजारको माग बमोजिम श्रम तथा रोजगार उत्पादन गर्ने नीति राज्यले लिनुपर्ने बताए। यसो गरेमा मात्र सीप सिकेर वेरोजगार हुने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो। उनले सीप सिक्छु भन्नेलाई लोन दिने व्यवस्थापनि गर्नुपर्नेमा जोड दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. दीपक काफ्लेले सरोकारवालाको सुझाव अनुसार आगामी सीप विकास तालिम नीति बनाइने बताए। उनले सीप विकास तालिमको उद्देश्य व्यवसायीक र दक्ष जनशक्ति उत्पादन गर्ने र उसलाई उत्पादन मूलक क्षेत्रमा रोजगारीको सिर्जना गर्ने रहेको स्पष्ट पारे।

प्रकाशित: २९ असार २०७९ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App