२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कर्जा तिर्न नसक्दा घरमै गएर धम्काउँदै लघुवित्त

बाँकेका उद्यमी महिलाहरु लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा समस्यामा परेका छन्। लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरु विभिन्न संस्थाहरुमा ऋण माग्नका लागि धाउन बाध्य भएका हुन्।  

एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम गर्दै कर्जाको दल दलमा फस्दै गएका छन्। ऋण तिर्न समय माग गर्दापनि लघुवित्तहरुले समय नदिने र घरमै गएर धम्क्याउने गरेको उनीहरुको आरोप छ। अध्ययन अनुसार नेपालमा करिव २२ लाख मानिसहरुले कर्जा लिएका छन्। २२ लाख मध्ये ७५ प्रतिशत मानिसहरुले कर्जा समयमा तिर्न सकेका छैनन्।  

सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तहरुबाट नै आम नागरिक अहिले दुःख पाइरहेको लघुवित्तमा आवद्ध महिलाहरुको गुनासो छ। सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महंगो व्याज तिर्न बाध्य बनाएको खजुरा गाउँपालिकाका मिनाबुढा क्षेत्रीले बताइन्। सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने व्याज लिने गरेको उनको भनाई छ। पहिला लघुवित्तहरुले सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पार्ने गरेको र ऋण निकालेर तिर्दा अलि समय लागे वा आकस्मिक समस्या आईपरे पनि समस्या नबुझदिने गुनासो गरे।  

ऋण लिएर हदैसम्मको ज्यादतिका कारण बस्नसमेत गाह्रो भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा बसोवास गर्ने मनिषा तामाङ बताउँछिन्। केही समय ढिलो भयो भने घरबाट निकाल्न खोज्ने, किड्नी बेच, मरे हुन्छ बीमा छ किन बाँच्ने जस्ता अव्यवहारिक लाञ्छना लगाई धम्की दिने गरेको उनले बताइन्। घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरु केही विकल्प छैन भन्दै दैनिक फोनमा घरमै आएर धम्काउने गरेकोले वित्तिय संस्था खारेज गर्नुपर्ने उनको धारणा छ।  

प्रकाशित: २६ असार २०७९ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App