५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

४४ करोडको आयोजना बनेपछि पनि गोरखामा पानी हाहाकार!

धारामा पानी नआएपछि ढुङ्गेधाराबाट पानी बोक्दै महिलाहरु।

४४ करोड लागतमा दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपनि गोरखामा पानीको समस्या दिर्घकालीन रुपमा समाधान हुन सकेको छैन। उक्त आयोजना निर्माण पूरा भएर पानी वितरण सुरु भएको तीन महिना भयो।

यो आयोजना बनेपछि गोरखामा पानी हाहाकार हुँदैन भनेर आयोजना सुरु हुँदादेखि नै चर्चा थियो। २०७३/०७४ देखि सुरु भएर दरौँदी लिफ्टीङ आयोजना २०७८ चैतमा सम्पन्न भएको इन्जिनियर टिकाराम चालिसेले बताए। आयोजना अहिले दैनिक ८ देखि १२ घण्टा चलेको छ।

‘माग कम हुँदा पूर्ण क्षमतामा पानी चलाउनै परेको छैन’ इन्जिनियर चालिसेले भने ‘दैनिक साँढे नौ लाख लिटरसम्म पानी वितरण गरेका छौँ।’ तर एक सातादेखि दरौँदी लिफ्टिङले पानी वितरण नगर्दा गोरखामा पानी हाहाकार भएको छ। पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले विद्युत अनियमित हुनु, मोटरमा समस्या आएका कारण पानी वितरण गर्न नसकेको जनाएको छ।

साना सहरीलाई पानी दिने दरौँदी लिफ्टिङमा पनि एक सातादेखि पानी छैन। दरौँदी लिफ्टिङ खानेपानी आयोजनामा लगिएको विद्युत पोल र तारमा हावाहुरीले क्षति पुगेपछि लाईन अवरुद्ध भएको इन्जिनियर चालिसेले बताए। ‘हामी मर्मत गरिरहेका छौँ, केहीदिनमै पानी वितरण सुरु हुनेछ।’

अहिले पृथ्वीनारायण साना सहरी, पोखराथोक, थाकलडाँडालगायत छ वटा खानेपानी उपभोक्ता समितिलाई दरौँदी लिफ्टिङले पानी उपलब्ध गराउँदे आएको छ। यी संस्थाले आफ्नो स्रोतबाट माग अनुसार पानी उपलब्ध गराउन नसकेपछि मात्रै दरौँदी लिफ्टिङसँग पानी माग्ने गर्छन्।

‘हामीले पानी चाहियो भनेपछि दिने हो’, इन्जिनियर चालिसेले भने, ‘हरेक उपभोक्ता संस्थाको ट्याङ्की अगाडि मिटर जडान गरिएको छ।’ दरौँदी लिफ्टिङबाट लिएको पानी संस्थाहरुले उपभोक्तालाई बितरण गर्छन्। बत्ती अनियमित भएको खण्डमा पानी ट्याङ्कीमा संकलन गर्ने माध्यम नरहेको आयोजनाले जनाएको छ।

दरौँदीसँग एक/डेढ दिनलाई पुग्ने मात्र पानी ट्याङ्कीमा स्टक रहन्छ। यो भन्दाबढि समय विद्युत अवरुद्ध भयो भने गोरखा बजारको पानीको माग दरौँदी लिफ्टिङ सिंचाई आयोजनालाई पनि धान्न मुस्किल छ। साना सहरीले आवश्यकता अनुसार दुईदेखि चारलाख लिटरसम्म दैनिक पानी दरौँदी लिफ्टिङसँग लिने गरेको छ।

वैशाख १ गतेदेखि दरौँदीले पानी वितरण गर्ने उपभोक्ता संस्थालाई मिटर जडान गरेर सशुल्क पानी वितरण थालेको थियो। बजार क्षेत्रमा पानी माग धेरै भएकाले साना सहरीले दरौँदी लिफ्टिङको पानी धेरै उपभोग गरेको छ। नारेश्वर, घलाङ, दुम्सुरी, तल्लो आहाले, कुमालगाउँ लगायत ग्रामीण भेगमा पानी बितरण गर्दै आएका संस्थाहरुले भने दरौँदी लिफ्टिङको पानी प्रयोग गरेका छैनन्।

स्थानीय स्रोतबाट आएको पानीले पुगेकाले त्यहाँ माग नभएको हो। ‘माग भयो भने अहिलेभन्दा अझै बढी पानी उपलब्ध गराउन सकिन्छ’, इन्जिनियर चालिसेले भने। संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना लमजुङमार्फत् निर्माण भएको उक्त आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गर्न भने बाँकी छ।

प्रकाशित: २१ जेष्ठ २०७९ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App