पृथ्वीको तापमान बढाउन जिम्मेवार मानिएको मिथेन ग्यासको उत्सर्जन सन् २०२१ मा सर्वाधिक रहेको एक अध्ययनले देखाएको छ। कृषि, ल्यान्डफिल साइट, ऊर्जाको प्रयोग र प्राकृतिक हिसाबले समेत वायुमण्डलमा उत्सर्जन हुने यो ग्यांस जलवायु परिवर्तनका लागि कारक मानिएको छ।
अमेरिकाको वैज्ञानिक तथा नियमन निकाय नेसनल ओसियानिक एण्ड एट्मसस्फेरिक एडमिनेष्ट्रेसन (एनओएए)ले सार्वजनिक गरेको अध्ययन अनुसार मिथेन ग्यासको उत्सर्जन औद्योगिक क्रान्ति अघिको तुलनामा दुई गुणाले बढेको छ।
जलवायुसम्बन्धी अन्तर सरकारी निकाय (आइपिसिसी) का अनुसार वायुमण्डलमा रहेको मिथेन ग्यासले १९ औं शताब्दीको तुलनामा पृथ्वीको तापमानलाई शून्य दश मलव पाँच प्रतिशत सेन्टिग्रेडले बढाएको छ। तर तापमान बढाउन मिथेनभन्दा कार्बन डाइअक्साइडको भूमिका अत्यधिक छ।
मिथेन ग्यासको उत्सर्जन पछिल्ला २ वर्षमा लगातार बढेको देखिएको छ। ‘मिथेन ग्यासको उत्सर्जनको तीव्र वृद्धि अत्यन्त चिन्ताको विषय हो,’ कर्नेल विश्वविद्यालयका मिथेन ग्यासका अनुसन्धानकर्ता रोवर्ट होवार्थ भन्छन्।
वायुमण्डलको तातोपनालाई पक्रेर राखिराख्न कार्बन डाइअक्साइडभन्दा मिथेन ग्यास २५ गुणा बढी शक्तिशाली मानिन्छ तर कार्वन डाइअक्साई वायुमण्डलमा हजारौं वर्ष रहन्छ भने मिथेन ग्यास ९ वर्ष मात्र रहने कोलोराडो विश्वविद्यालयका एट्मोसस्फेरिक वैज्ञानिक लिन्डसे लान बताउँछिन्।
वायुमण्डलमा धेरै समयसम्म नरहने कारण गत वर्ष विभिन्न देशले तुरुन्त उत्सर्जन घटाउने लक्ष्यमा मिथेन ग्यास उत्सर्जन कटौतीको लक्ष्यलाई धेरै प्रथामिकता दिएका थिए। जलवायु सम्बन्धी पेरीस सम्झौताले औद्योगीकरण अघिको तुलनामा पृथ्वीको तापमान वृद्धिलाई १.५ देखि २ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएको छ। तर पृथ्वीका तापक्रम १ं.१ देखि १.२ डिग्री वृद्धि भइसकेको छ।
‘यो शताब्दीको अन्तसम्म पृथ्वीको तापमान वृद्धिलाई २ डिग्रीभन्दा कम कायम गर्न, मिथेन ग्यासको उत्सर्जनलाई नाटकीय रूपमा घटाउन आवश्यक छ। हामी गलत दिशातर्फ उन्मुख छौं,’ स्ट्राइप एण्ड वर्कले अर्थका जलवायु वैज्ञानिक जेक हसफादर भन्छन्। उनले मिथेन उत्सर्जन घटाउदा जलवायुलाई फाइदा हुने र यसको कटौतीले वायुमण्डलाई तत्काल चिस्याउन सहयोग पुग्ने बताए।
एनओएएले सन् १९८३ देखि वायुमण्डलमा मिथेन ग्यासको मापन गर्दे आएको छ। वैज्ञानिक लिन्डसे लानले प्रशान्त महासगरका केही भाग प्राकृतिक रूपमा केही समयसम्म चिसो हुने प्रक्रिया (ला–निना)का कारण पनि मिथेन ग्यासको उत्सर्जन बढेको हुनसक्ने तर्क गर्छन।
उष्णप्रदेशिय क्षेत्रमा ला–निनाका कारण अधिक पानी पर्ने र त्यसले सिमसार क्षेत्रबाट अधिक मिथेन ग्यास निस्कने उनी बताउँछिन्। यसैगरी, पशुपालन तथा कृषि वालीनाली, ल्यान्डफिल साइट पनि मिथेन ग्यासका स्रोत मानिन्छ।
निकट भविष्यमा समुन्द्रभित्र र आर्कटिक क्षेत्रमा रहेको मिथेन ग्यास बाहिर निस्केमा मिथेनको अत्यधिक उत्सर्जन हुनसक्ने वैज्ञानिक चिन्ता छ तर ठुलो स्तरमा यसप्रकारको उत्सर्जन भइसकेको छैन।
‘मिथेन उत्सर्जनका लागि खनिज इन्धनको प्रयोग र कृषिको अत्यधिक भूमिका रहेको देखिएको छ। मेरो अनुसन्धानले सन् २००८ यता खनिज इन्धनको भूमिका झन् बढी देखाएको छ,’ वैज्ञानिक वैज्ञानिक लिन्डसे लान थप्छिन्। एनओएएले गत वर्ष वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर पनि बढेको बताएको छ।
‘हाम्रा तथ्यांकले कार्बन डाइअक्साइड र मिथेन ग्यासको उत्सर्जन तीव्र गतिमा भइरहेको र यो निरन्तर जारी रहेको देखाएको छ। यो गलत दिशातर्फ उन्मुख छ,’ एओएएका प्रमुख रिक स्पिर्याडले भने।
प्रकाशित: २८ चैत्र २०७८ ०२:३३ सोमबार