८ वैशाख २०८१ शनिबार
अर्थ

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

ललितपुर महानगरपालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ।

कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन्। पुलको लम्बाइ १३५ मिटर रहेको छ।

सो पुल ७९ लाख ७६ हजार ७८९ लागतमा निर्माण सम्पन्न भएको हो। उपत्यकामा रहेका झोलुङ्गे पुल पर्यटकीय आकर्षणका रुपमा रहँदै आएका छन्। कार्यविनायक र मछिन्द्रबहाललाई जोड्ने उक्त पुल निर्माणपछि दोहोरो पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने विश्वास व्यक्त गरिएको छ।

सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो। पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ। पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ।

सो क्षेत्रमा पर्यटकीय गतिविधि बढेसँगै स्थानीयको आयआर्जनमा महत्वपूर्ण सघाउ पुग्ने, विदेशी पर्यटकको आगावगमनले नेपालको हस्तकला, काष्ठकला तथा मूर्तिकलाको विश्वव्यापीकरणमा सहयोग मिल्ने छ। मन्त्री भुसालको पहलमा स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट सो पुल निर्माण गरिएको हो।

पुल उद्घाटन गर्दै मन्त्री भुसालले धार्मिक तथा पर्यटकीय केन्द्रलाई जोड्ने उक्त पुलले नेपालको हस्तकला, काष्ठकला र मूर्तिकलाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि उक्त झोलुङ्गे पुल कोसेढुङ्गा सावित हुने बताइन्। मन्त्री भुसालले आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गर्दै ‘एक घर, एक पर्यटक’ अभियान चलाउन स्थानीयवासीसँग आग्रह गरिन्।

यस्तै वडा नं २२ का वडाध्यक्ष अम्बिरराज शाक्यले धार्मिक तथा सांस्कृतिको उच्च सम्भावना बोकेका दुई पर्यटकीय जोड्न पुलको आवश्यकता महसुस गर्दै पुल निर्माण गरिएको बताए। स्थानीयको आकांक्षालाई सरकारले सहयोग गरेको भन्दै उनले आभार प्रकट गरे।

प्रकाशित: १४ चैत्र २०७८ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App