१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

'माथिल्लो अरुण जलविद्युत सरकारको परियोजना हो ढुक्क भएर लगानी गर्नुस्'

अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा  लगानीको लागि कुनै पनि समस्या नभएको बताएका छन्।

मंगलबार नेपाल विद्युत प्राधिरकणले परियोजनामा लगानी जुटाउने उद्देश्यले बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताएका हुन्।

उनले यो परियोजना सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे। उनले सरकार माथिल्लो अरुण मात्रै नभएर अरुणसँगै बुढीगण्डकी, मुगु कर्णाली लगायत अन्य जलाशययुक्त आयोजना तत्काल अगाडि बढाउने तयारीमा रहेको बताए।

हामीलाई देश बनाउने प्रतिबद्धता चाहिएको छ भन्दै मन्त्री शर्माले लगानीको समस्या नभएको बताए। परियोजना निर्माणको लागि वस्तुवादी योजना नीति तथा कार्यक्रम बनाएर ठूला परियोजनाको निर्माण अगाडि बढाउन जरुरी रहेको मन्त्री शर्माले उल्लेख गरे।

अब कसैसँग ऋण लिँदा जुन परियोजनाको लागि ऋण लिएको हो त्यही आयोजनाले तिर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माको भनाई छ। मन्त्री शर्माले माथिल्लो अरुणमा स्थानीयवासीको समेत लगानी रहने गरी शेयर संरचना तयार पारिने बताए।

त्यस्तै अर्थमन्त्री शर्माले लगानीकर्ताहरुले लगानी फस्छ भनेर डराउनु नपर्ने बताए। उनले यो परियोजना सरकारको लगानी भएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे। परियोजानको लागि लगानी कोषले मात्रै १ खर्ब लगानी गर्न तयार रहेको मन्त्री शर्माले जानकारी दिए।

उनले सन्जय कोष, धेरै बैंक, बीमा संस्थान, बीमा कम्पनीहरुले समेत पूर्वाधार विकासमा लगानी गर्ने बताए। परियोजना निर्माणमा पैसाको समस्या नभएको भन्दै मन्त्री शर्माले हाम्रो समस्या सही योजना, व्यवस्थापन र समयको सदुपयोगमा रहेको बताए।

त्यस्तै कार्यक्रमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले बिजुलीको बजार कहाँ होला भनेर चिन्ता नगर्न लगानीकर्तालाई आग्रह गरिन्। उनले विद्युत निर्यातको बाटो सरकारले खोली सकेको बताइन्। मन्त्री भुसालले विद्युत निर्यात बढाउनको लागि भारतसँग राजनीतिक तथा कूटनीतिक तवरबाट सम्वाद भइरहेको बताइन्।

उनले निर्यात बढाउनको लागि वातावरण सकारात्मक बन्दै गएकाले ठूलो लाभ प्राप्त हुने दाबी गरिन्। चीनले समेत माथिल्लो अरुण परियोजना आफैँ लगानी गरेर बिजुली लैजान चासो व्यक्त गरेको मन्त्री भुसालको भनाई छ। मन्त्री भुसालले बगेको पानीलाई विद्युतको युनिटमा बदल्न सके मात्रै आर्थिक विकास हुने दाबी गरिन्।

छलफल कार्यक्रममा स्वदेशी लगानीकर्ता सरकारले परियोजनाको समय र लागत नबढाउने विषयमा प्रतिबद्धता गरे लगानी गर्न तयार रहेको बताएकी छिन्।  माथिल्लो अरुण आयोजनाको सम्पूर्ण अध्ययन सपन्न भइसकेको छ।

माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंक, एसियाली पूर्वाधार लगानी बैंकलगायतका बहुपक्षीय दातृ निकाय समेत तयार रहेको विद्युत प्राधिकरणले बताएको छ। आयोजनाको कूल लागत २ खर्ब १४ अर्ब रुपैयाँ बराबर रहेको छ। आयोजना निर्माणका लागि नौ वर्ष लाग्ने प्राधिरणले बताएको छ।

प्रकाशित: ९ चैत्र २०७८ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App