१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्न पाँच कम्पनी इच्छुक

हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरण सुरु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ।

उक्त विमानस्थलमा उडानका लागि कुवेतको जजिरा, श्रीलंकाको श्रीलंकन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्यान्डको थाई स्माइल वायुसेवा सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ।

उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडी मुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री आले लागिपरेका छन्। अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययन सकेर उडान–अवतरणका लागि अनुमति दिइने प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले बताए।

उनले भने, ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणका लागि केही वायुसेवा कम्पनी सम्पर्कमा आएका छन्, हामीले अध्ययन गरेर अनुमति दिने तयारी गरिरहेका छौं।’ व्यावसायिक उडानका लागि केही दिनपहिले नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन’ समेत जारी गरिसकेको छ।

उक्त विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ, कार्गो, क्याटरिङ लगायतको व्यवस्थापन गर्न बाँकी रहेकाले उक्त काम सकिनेबित्तिकै उडान–अवतरण अनुमति दिइने प्राधिकरणले जनाएको छ। यसैगरी आवश्यक जनशक्तिको अभाव रहेका कारण केही काममा समस्या उत्पन्न भइरहेको उक्त विमानस्थलमा प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार उक्त विमानस्थलका लागि १५१ जनशक्तिको दरबन्दी रहे पनि हाल ३६ जनामात्र छन्। विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक पर्ने जनशक्ति पठाउनसमेत मन्त्री आलेले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

अहिले उड्डयन प्राधिकरणको टोली सोही कामका लागि केन्द्रित भएको महानिर्देशक अधिकारीले जानकारी दिए। उनका अनुसार विमानस्थलको सुरक्षालगायत अन्य कामका लागि नेपाल प्रहरीका कम्तीमा १७० जना र नेपाली सेनाका १७० दरबन्दी छ।

यसैगरी मेट्रोलोजी विभागका कर्मचारी परिचालन निश्चित भइसकेको भने भन्सार र अध्यागमनका प्राविधिक टोलीले निरीक्षण गरिसकेका छन्। यो विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलंकालगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ।

उक्त विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार ग्राउन्ड ह्यान्डलिङ तयारीका लागि निगमका प्राविधिक जनशक्ति भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन्। मन्त्री आलेले नेपालमा पर्यटन प्रवद्र्धन तथा धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन जरूरी रहेको बताए।

कोरोना महामारीका कारण सबभन्दा धेरै मुलुकको पर्यटन क्षेत्रमा क्षति पुगेकाले यो क्षेत्रलाई थोरै भए पनि सहयोग पुगोस् भनेर सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि सारेको भन्दै भैरहवाबाट विदेशी पर्यटक लुम्बिनी भित्र्यायाउन केही सहयोग पुग्ने अपेक्षाका साथ तोकिएकै समयमा यो विमानस्थल सञ्चालनमा ल्याउन आफू लागिपरेको उनले बताए।

सरकारले आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसर पारेर सोही दिन उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको हो।

प्रकाशित: २ चैत्र २०७८ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App