१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एउटै टोलमा छ सय बिगाहा मकै खेती

रौतहटको वृन्दावन नगरपालिकाको एउटा टोलमा करिब छ सय बिगाहा मकै खेती गरिएको छ। वृन्दावन नगरपालिका १ बलेरीमा झन्डै छ सय बिगाहा मकै खेती गरिएको हो।

व्यावसायिक मकै खेतीका लागि प्रसिद्ध बलेरीको खेत र बारीमा अहिले मकैको हरियो बोट लहलहाइरहेको छ। आँखाभरि अटाउने गरी लहलहाइरहेको हरियो मकैको दृश्यले बलेरीको समृद्धिको आधार खडा गरिरहेको स्थानीयको बुझाइ छ।

स्थानीय बैजु पटेल पेसाले शिक्षक हुन् तर बर्सेनि डेढ बिगाहादेखि तिन बिहागासम्म मकै खेती गर्दै आएका छन्। बलेरीमा उत्कृष्ट मकै खेती किसानको रूपमा शिक्षक पटेलले आफ्नो पहिचान स्थापित गरेका छन्। उनी भन्छन्–बलेरीमा मकै खेतीबाट वार्षिक घटीमा दश करोड रुपैयाँ भित्रिन्छ।

राम्ररी फल्यो भने एक कट्ठा खेतमा दश क्विन्टलसम्म पनि मकै फल्ने गर्दछ। सामान्यतया औसतमा व्यावसायिक मकै खेती गर्ने किसानले प्रति कट्ठा पाँच क्विन्टल फलाउँछन्। पाँचदेखि दश क्विन्टल प्रति कट्ठा फल्ने मकै खेतीले गाउँमा पर्याप्त पैसा आउने गरेको पटेलको दाबी छ।

मकै खेतीको लागि उपयुक्त माटो तथा सिँचाइको व्यवस्था भएकाले स्थानीय किसानहरू मकै खेतीप्रति आकर्षित भएका हुन्। बलेरीमा अहिले करिब पौने छ सय बिगाहा मकै खेती गरिएको अनुमान गरिएको छ। बलेरीको केही जमिनमा मसुरो, आलस, तोरी र गहुँ खेती गरिएबाहेक अधिकांश किसानले मकै खेती नै गरेका छन्।

कैयौं वर्षदेखि बलेरीवासी व्यावसायिक मकै खेती गर्दै आएका कारण मकै बेच्न कुनै समस्या नै नहुने गरेको अर्का किसान धमेन्द्र पटेल बताउँछन्। खेतमा मकै बोटमा नै रहेको बेलादेखि मकै पोलेर बेच्ने तथा मकैको घोगाको व्यापार गर्नेहरूले मिनी ट्रक लिएर आउने गरेको वर्षौको अनुभव किसानहरूको छ। मकैको बोटबाटै प्रति घोगाको मूल्य तिरेर किन्नेहरूदेखि लिएर खेतमै रहेको मकैको मूल्य तिरेर आफैं घोगा भाँचेर लाने व्यापारीहरू पनि आउने गरेको किसान पटेलको दाबी छ।

खेतमा मकै पाकेपछि मकैको दाना बिक्री गर्ने समस्या पनि किसानहरूले बेहोर्नु परेको इतिहास छैन। मकै बेच्न कुनै अप्ठ्यारो नहुने भएकाले बलेरीका स्थानीयवासीका लागि मकै खेती नगदे बालीको रूपमा विकास भएको किसानहरूको बुझाइ छ।

रौतहटको चन्द्रपुर, वृन्दावन, गुजरा तथा फतुवा विजयपुर नगरपालिकाको उत्तरी क्षेत्रमा व्यापक मात्रामा मकै खेती गरिंदै आएको छ। अन्य पालिकाका पनि धेरथोर मकै खेती गरिन्छ। केही वर्षदेखि जंगली जनावरले मकै खेतीलाई नोक्सानी पुर्‍याउँदै आएको गुनासो किसानहरूको रहेको छ। मुख्य गरी नीलगाई र बँदेलले मकै खेतीलाई नोक्सान पुर्‍याउँदै आएको छ। पहिले हात्तीले पनि दुःख दिन्थ्यो तर पछिल्ला केही वर्षदेखि नीलगाईले गर्दा मकै खेती किसान निकै समस्यामा रहेको गुनासो हुने गरेको छ।

मकै खेतीका लागि किसानहरूले कतैबाट खासै कुनै प्रोत्साहन पाउन नसकेको गुनासो पनि रहेको छ। यद्यपि मकै खेतीबाट राम्रो आय गरिरहेका किसानहरू भने सबैभन्दा बढी प्राथमिकता मकै खेतीलाई नै दिइरहेका छन्। एक बाली मकै खेतीले बलेरीमा बर्सेनि घटीमा दश करोड रुपैयाँ नगद भित्रिने गरेको किसानहरूको भनाइ छ।

प्रकाशित: १९ फाल्गुन २०७८ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App