सरकारले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा उपलब्ध गराउने भन्दै भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजना अघि सारेको थियो।
उसले आर्थिक वर्ष ०६८/६९ मा भेरी बबई आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गर्दै १० वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राख्यो। तर त्यो १० वर्षमा समष्टिगत भौतिक प्रगति निराशाजनक देखिन्छ। गत पुस मसान्तसम्ममा भेरी बबई बहुउद्देश्ययीय आयोजनाको भौतिक प्रगति ५२.३४ प्रतिशत मात्रै छ।
उक्त आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ५२.३४ प्रतिशत पुगेको बताए। ‘यो आयोजनाको कार्यालय ०६८/६९ मा स्थापना भएको हो।
निर्माणको काम भने ०७१/७२ सालदेखि मात्रै भएको हो,’ उनले भने, ‘आयोजानाको बाँकी करिब ४७ प्रतिशत काम आगामी साढे दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ सिनियर डिभिजनल इन्जिनियर सुवेदीले आयोजना निर्माणमा अहिलेसम्म १३ अर्ब २८ अर्ब रूपैयाँ खर्च भइसकेको बताए। ‘अहिलेसम्म आयोजनाको ४०.०१ प्रतिशत वित्तीय प्रगति भएको छ,’ उनले भने।
सरकारले यो आयोजनाको लागि ३३ अर्ब १९ करोड रूपैयाँ बजेट विनियोजिन गरेको छ। सुवेदीले कोभिड–१९ र अन्य कारणले आयोजना तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन अप्ठेरो हुने बताए। ‘आयोजनाको म्याद अझै पनि एक वर्षभन्दा धेरै बाँकी छ,’ उनले भने, ‘करिब साढे दुई वर्ष समय थप गर्ने हो भने आयोजना निर्माण सम्पन्न गर्न सकिन्थ्यो होला।’
आधा वर्षको प्रगति निराशाजनक
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत भेरी बबईले चालु आर्थिक वर्षको ६ महिनामा उत्साहजनक प्रगति गर्न सकेको छैन। सरकारका अन्य निकायले जस्तै यो आयोजनाले पनि पुँजीगत खर्च पर्याप्त मात्रामा गर्न नसकेको हो। सरकारले यो आयोजनाको लागि चालु आर्थिक वर्षमा २ अर्ब ६४ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो।
आयोजनाले चालु आवको ६ महिनासम्ममा ३५ करोड रूपैयाँ मात्रै बजेट खर्च गरेको छ। चालु आवको ६ महिनाको अवधिमा १३.२७ वित्तीय प्रगति र २४ प्रतिशत भौतिक प्रगति हात पारेको छ। राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गर्ने तर तोकिएको समयमा नबन्दा एकातर्फ आयोजनाको लागत अकासिन्छ, अर्कातर्फ आयोजनाको प्रतिफल पाउने समय पछि धकेलिन्छ। यस्तै अवस्था रहिरहने हो भने राष्ट्रिय गौरवका आयोजना केही सीमित व्यक्तिको कमाई खाने भाँडोमा सीमित हुने देखिन्छ।
आयोजनाको अर्धवार्षिक प्रतिवेदनले कोभिड–१९ महामारीको कारण आयोजना कार्यान्वयनमा परेको प्रभाव कायमै रहेकाले काम प्रभावित भएको औंल्याएको छ। ‘अन्तरजलाधार बहुउद्देश्यीय आयोजनाहरूको विकासमा आवश्यक प्राविधिक मानव संसाधन प्रर्याप्त मात्रामा स्वदेशमा उपलब्ध हुन सकेको छैन।
यस्ता आयोजनामा बहुआयमिक दक्षताको आवश्यकता पर्ने भए तापनि क्षमताको अभाव छ,’ आयोजनाको अर्धवार्षिक प्रतिवेदनमा भनिएको छ, ‘आयोजना निर्माण गर्न परामर्शदाता, निर्माण व्यवसायी तथा स्वतन्त्र परामर्शदाता बढी विदेशी हुने हुनाले पनि परनिर्भरता बढ्नुको साथै लागत समेत बढी हुने गरेको छ।’
आयोजनाका अनुसार विदेशीमाथि भर पर्दा समय बढी लाग्ने र आयोजना निर्माणमा कुनै बाधा अड्चन आउँदा तत्कालै समस्या समाधान गर्न समेत धेरै जटिलता आउने गरेको औंल्याइएको छ। ‘यस खालका ठूला र हिमालयन प्रकृतिका नदीको डिवाचिङ डाइभर्सन जस्ता कार्य जटिल हुने हुँदा निर्माण व्यवसायीको समस्या देखिने गरेका छन्,’ आयोजनाको अर्धवार्षिक प्रतिवेदनमा भनिएको छ, ‘आयोजनामा ठूला यन्त्र, उपकरण प्रयोग गर्नुपर्ने हुँदा सोको व्यवस्थापन तथा पैठारीमा समय लाग्ने गरेको छ।’
सरकारले यो आयोजना ०७९/८० सम्म सम्पन्न गरी बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सेवा उपलब्ध गराउन भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा खसालिने योजनासहित सुरु गरेको थियो।
यसबाट ४६.८ मेगावाट बिजुली पनि उत्पादन गर्ने लक्ष्य छ। चालु आवको चौमासिकमा कोभिड–१९ को कारणले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा अवरोध आएकाले निर्माण कार्य प्रभावित भएको सम्बद्ध अधिकारीहरूको भनाइ छ।
प्रकाशित: १० फाल्गुन २०७८ ०३:३८ मंगलबार