१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुल्दै

आजदेखि परीक्षणका लागि एक सातासम्म यान्त्रिक उडान हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी बुद्ध पूर्णिमाको दिन (२०७९ जेठ २) देखि व्यावसायिक उडान।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आज (शुक्रबार) देखि यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदैछ।

आगामी बुद्ध पूर्णिमाको दिन (२०७९ जेठ २) देखि व्यावसायिक उडान गर्ने तयारीसहित नयाँ विमानस्थल प्राविधिक हिसाबले ठीक छ/छैन प्रमाणित गर्न क्वालिब्रेसन फ्लाइट हुन लागेको हो। एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई) को विज्ञ टोली बोकेर थाइल्यान्डबाट आएको यरो थाईको जहाज यान्त्रिक परीक्षण उडानका लागि बिहीबार काठमाडौं हुँदै भैरहवा पुगिसकेको छ। एरोथाईको उक्त विशेष जहाजमा पाइलट, को–पाइलटसहित विशेषज्ञ टोली छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार बैंककबाट आएको विशेष उपकरणजडित उक्त विमानले शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट सुरु गर्दैछ।

विमानस्थलमा उपकरण जडान गरेको एरोथाईले ल्याएको उक्त विशेष विमानबाट आइसिपी वानतर्फको काममध्ये जहाज उडान अवतरणका लागि सञ्चार, लगायत उपकरणले ठीक ढंगले काम गरेका छन्/ छैनन् परीक्षण गर्नेछ।

प्राविधिक टोलीले विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न, कन्ट्रोल टावरसँग सम्बन्धित उपकरण परीक्षण गर्न, फ्रिक्वेन्सी तय गर्न, सञ्चार, धावनमार्गको एलाइनमेन्ट, पार्किङ वे लगायत क्षेत्रमा जडान भएका विद्युतीय उपकरण, जडान भएका बत्तीले काम गरेका छन्छै/नन्, ग्राउन्ड व्यवस्था, टावरसहित विमानस्थलमा जडित उडान–उपकरणले काम गरे–नगरेको पत्ता लगाउने अधिकारीले बताए।

आइसिबी वानतर्फको भौतिक संरचना निर्माणको काम भने चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्सट्रक्सन ग्रुपले सम्पन्न गरिसकेको छ। क्यालिब्रेसन उडान सकिएपछि नेपाल एयरलाइन्सको एयरबस जहाजबाट परीक्षण उडान हुने जनाइएको छ। प्राधिकरणका अनुसार विहान मौसम खुलेसँगै सुरु हुने उडान बेलुका पाँच बजेसम्म झन्डै एक साता हुनेछ।

उक्त समयमा भैरहवाको नियमित उडान पूरै बन्द रहनेछ। प्राधिकारणका अनुसार शुक्रबार प्राधिकरण र क्यालिब्रेसन गर्ने टिमबीच ब्रिफिङको काम हुनेछ। हालको तालिका अनुसार परीक्षणको काम सकेर उक्त जहाज फागुन १६ गते थाइल्यान्ड फर्कने छ। त्यसको १५ दिनपछि एरोथाइैले प्राधिकरणलाई प्रतिवेदन बुझाउने छ।

परीक्षण उडापछि विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता पाउन भने केही समय लाग्नेछ। हाललाई विमानस्थल नागरिक उड्डयन प्राधिकरण आफैंले सञ्चालन गर्नेछ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार उक्त विमानस्थलमा व्यावसायिक उडानको बाटो खोल्न भारतीय पक्षसँग समेत छलफल भइरहेको छ। यसअघि भारतले विमानस्थल सीमा क्षेत्रनजिकै रहेकाले त्यसबाट सुरक्षा चुनौती हुन सक्ने भन्दै नेपाललाई जानकारी गराउँदै आएको थियो।

स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी कोप २६ सम्मेलनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारत हवाई प्रवेशबिन्दुसम्बन्धी कुरा उठाएका थिए। नेपालले भैरहवा, नेपालगन्ज र महेन्द्रनगरबाट हवाई प्रवेशबिन्दु दिन भारत सरकारसँग आग्रह गरे पनि विमानस्थल सञ्चालनको तयारी भइरहँदा भारत यसका लागि तयार देखिएको छैन।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनका लागि विभिन्न सञ्चालन मोडालिटीमा छलफल भइरहेको र प्राधिकरणबाटै कर्मचारीसमेत व्यवस्थापन भइसकेको छ। विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणबाट डेढ सय कर्मचारीको दरबन्दीसमेत तय भइसकेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सुरुआती लक्ष्य अनुसार आर्थिक वर्ष २०७/०७३ मा विमानस्थल सुरु भएको हो। विमानस्थल एसियाली विकास बैंकले सहुलियतपूर्ण ऋणमा करिब ३१ अर्ब रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ।

तीन हजार मिटर लामो र ६० मिटर चौडा धावनमार्ग रहेको यो विमानस्थल सञ्चालनमा आएसँगै काठमाडौं विमानस्थल व्यवस्थापनमा समेत सहज हुनेछ। हाल काठमाडौं विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ दुईवटा नेपाली वायुसेवासहित १५ मुलुकका ३२ वटा गन्तव्यमा उडान हुँदै आएको छ। यस विमानस्थल सञ्चालनबाट बौद्धमार्गी पर्यटकलाई अझ सहज हुने अपेक्षा छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App