coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोटेश्वर–जडीबुटी सडक विस्तार सम्पन्न

तोकिएको समयभन्दा सात महिना ढिलो गरी कोटेश्वर–जडीबुटी सडक विस्तार तयार भएको छ। कोटेश्वर–जडीबुटीको जाम कम गर्ने उद्देश्यले अघि सारिएको यो सडक खण्ड अहिले निर्माणको अन्तिम संघारमा आइपुगेको छ। सडक डिभिजन कार्यालय काठमाडौंले यो खण्डको सडक विस्तार गत असार मसान्तभित्रै सक्ने गरी ठेक्का सम्झौता गरेको थियो।

तर ठेकेदार कम्पनीको ढिलासुस्ती र कोभिड–१९ ले योजना तोकिएको समयभन्दा झन्डै सात महिनापछि निर्माण सम्पन्न हुने तरखरमा पुगेको हो। सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायण निउरेले कोटेश्वर जडीबुटी सडक खण्डमा ओभरले र फुटपाथ निर्माणको काम भइरहेको बताए।

‘अहिलेसम्म सडकको प्याचिङ लगायतको काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘विगत तीन दिनदेखि ठेकेदार कम्पनीले कालोपत्रेको लागि आवश्यक सबबेस तयार पारेर अब ओभरलेको काम मात्रै बाँकी छ।’ प्रमुख निउरेले विस्तार गरिएको सडकको माथिल्लो भागमा ओभरले र कर्बस्टोन तथा फुटपाथ निर्माणको काम भइरहेको बताए। ‘अहिले ठेकेदार कम्पनीले फुटपाथ लगायत संरचना निर्माणको काम गरिरहेको छ,’ उनले भने।

कोटेश्रवर जडीबुटीको दाहिनेतर्फ ४ सय मिटर र द्रेवेतर्फ ३ सय मिटर सडक विस्तार गर्न योजना अघि सारिएको थियो। गत असारभित्रै यो खण्ड विस्तार कार्य सम्पन्न हुनुपर्ने भए पनि कोभिड १९ दोस्रो लहरले काम प्रभावित भएको थियो।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख निउरेले कोभिड १९ को दोस्रो लहर र निर्माण सामग्री अभावले तोकिएको समयमा कोटेश्वर–जडीबुटी सडक विस्तार हुन नसकेको स्वीकारे। ‘यही खण्डमा एउटा घर हटाउन सकिएको छैन,’ उनले भने, ‘विभिन्न सरकारी निकायसँग समन्वयको काम भइरहेको छ।’

सरकारले कोटेश्वर जडीबुटी खण्डमा अत्यधिक सवारी जाम भएसँगै सडक चौडा गर्ने योजना अघि सारेको थियो। सोही अनुरूप सडक विस्तार गर्न लागिएको हो। दाहिनेतर्फ ३ लेन र देब्रेतर्फ थप १ लेन विस्तार गर्ने योजना अघि सारेको थियो।

डिभिजन कार्यालयले यो खण्ड विस्तारको लागि गत पुसमा ठेक्का सम्झौता गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै साबिकको उसको जग्गामा ट्र्याक खोल्ने काम गरिएको थियो। कोटेश्वर–जडीबुटी ३ लेनको सडक विस्तार गर्ने कामको ठेक्का तुँदी/सुसन जेभीले पाएको थियो। कार्यालय र ठेकेदार कम्पनीबीच २०७७ पुस २१ गते ठेक्का सम्झौता भएको थियो।

कम्पनीले ७ करोड ८१ लाख लागतमा यो सडक निर्माण गर्ने ठेक्का पाएको हो। ‘जापान सरकारको सहयोगमा यो खण्डको सडक ४ लेनको निर्माण गरिएको थियो,’ उनले भने, ‘अहिले फेरि ३ लेन थप गरिएको हो।’ यसअघि मनोहरा करिडोर बनेसँगै लोकन्थली–नरेफाँट जोड्ने बेलिब्रिजदेखि बालकुमारी पुलसम्मको वैकल्पिक सडक बनेसँगै कोटेश्वर–जडीबुटी खण्डमा सवारी चाप कम भएको छ।

अरनिको राजमार्गमा जाने अधिकांश सवारी साधन कोटेश्वरबाट छुट्ने गर्छन्। कोटेश्वर चोक अहिले मिनिबस पार्क जस्तै छ। ओखलढुंगा, खोटाङ, रामेछाप, सिन्धुली लगायत पूर्वी जिल्लामा जाने सवारी साधन सडकमै रोकेर यात्रु चढाउने गरिन्छ। अर्काेतर्फ कोटेश्वर चोकमै बस स्टप छ, जहाँ लामो दुरीका सवारी साधन दिनभरजस्तै पार्क गरेर राखिएका हुन्छन्। भक्तपुर, पेप्सीखोला लगायत स्थानमा चल्ने स्थानीय सवारी साधन पनि सडकमै रोकेर यात्रु चढाउने र ओराल्ने गरिन्छ। यसले पनि जाम बढाउँछ। 

नरेफाँटदेखि बालकुमारी पुलतर्फ र ललिपुरबाट भक्तपुरतर्फ जाने सवारी साधन अब कोटेश्वर र जडीबुटीको जाम सामना नगरी गन्तव्यमा जान सक्ने भएका छन्। सरकारले पछिल्लो समय बागमती करिडोर, हनुमन्ते करिडोर, नक्खु, विष्णुमती, मनोहरा लगायता नदीकिनारमा करिडोर निर्माण गरेर उपत्यकाको मुख्य सडकको चाप कम गराएको छ। 

प्रकाशित: ३ फाल्गुन २०७८ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App