कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल बनाउन थालिएको छ। माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर २ मा पर्ने सार्दीखोला र वडा नम्बर ३ मा पर्ने घाचोक जोड्नका लागि सेती नदीमा ‘सार्दीखोला,घाचोक मोटरेबल पुल’ बनाउन थालिएको हो।
पुलको शनिबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शिलान्यास गरे। शनिबार शिलान्यास गरिएपनि पुल निर्माण पहिल्यै सुरु भइसकेको थियो। पुलको हालसम्म २० प्रतिशत आर्थिक प्रगति भएपनि १० प्रतिशत निर्माण कार्य सकिएको छ।
गण्डकी प्रदेश सरकारको १० करोड २८ लाखको लागतमा निर्माण गर्न लागिएको पुल निर्माणको जिम्मा हिम्दुङ एण्ड ठोकर/रामजानकी जेभी.ले लिएको छ। पुल ७० मिटर लम्बाई र १०.५ मिटर चौडाईको बन्नेछ। स्टिलको आर्क टाइपमा पुल बनाउन २०७८ साल साउन २५ गते सम्झौता भएको थियो भने २०८० साल साउन २४ गते सम्ममा बनाईसक्नुपर्ने सम्झौतामा उल्लेख रहेको पूर्वाधार विकास कार्यालय कास्कीका कार्यालय प्रमुख महेन्द्र बानियाले जानकारी दिए।
सार्दीखोला, घाचोक जोड्न सेतीमा मोटरेबल पुल बनाउनका लागि २०७५ सालको बजेट र रातो किताबमा परेको थियो। तर त्यतिबेला कुल बजेटको २० प्रतिशत बजेट नछुट्टिदा काम भने सुरु भएन। पछि पुलको लम्बाई १० मिटर थप्ने योजना अन्तर्गत पुलको नया डिजाइन गर्दा थप एक वर्ष ढिलाई भयो। जसका कारण पुल करीब ४ वर्षपछि मात्रै निर्माण हुन लागेको हो। ढिलै भएपनि पुल निर्माण सुरु भएपनि स्थानीय हर्षित भएका छन्।
माछापुच्छ्रे ३ का वडाध्यक्ष सूर्य लम्साल मोटरेबल पुल संकटमा परेका स्थानीय जनताको खुसी बनेर आएको बताउँछन्। त्यस्तै माछापुच्छ्रे २ का वडाध्यक्ष विक्रम गुरुङले लामो पर्खाईपछि बन्न लागेको मोटरेबल पुलले आर्थिक समृद्धिमा सघाउने बताए।
स्थानीय माओवादी नेतृ प्रविणा अधिकारी भने पुलले दुई क्षेत्रका जनताको भावना जोड्ने बताउँछिन्। ‘पुलले दुई वडा र त्यहाँका जनताबीच भौतिक सम्बन्ध त राख्छ नै, सँगसँगै दुई क्षेत्रका जनतालाई भावनात्मक एकतामा जोड्छ’, उनले भनिन्। नेपाली कांग्रेसका नेता मीनबहादुर गुरुङले पुल बनेपछि त्यहाँ उत्पादित वस्तुले बजार पाउने विश्वास व्यक्त गरे।
पुलको शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले जनयुद्ध कालदेखि नै पुलको आवश्यक्ता महसुस गरेको र अहिले आफू मन्त्री भएको अवसरमा पुल बनाउन पाउँदा हर्षित भएको बताए। ‘पहिलेदेखि नै पहल गरिरहेको थिएँ, तर बल्ल यसले सार्थकता पाएको छ’, उनले भने। मन्त्री बरालले संघीयता आएपछि विकासले फड्को मारिरहेको बताए। उनले भने, ‘बाटो, पुल, सिँचाइ, बिजुली, खानेपानीलगायतका विकासका काम टोलटोलमा पुगेका छन्, यो सबै संघीयताको प्रतिफल हो।’
माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले ढिलै भएपनि काम सुरु भएको बताउँदै अब यसलाई समयमै सम्पन्न गर्नेतर्फ स्थानीय सरकार लाग्ने बताए।
प्रकाशित: २२ माघ २०७८ १२:५५ शनिबार