७ वैशाख २०८१ शुक्रबार
अर्थ

महामारीबीच बैंकहरूको नाफा तीन अर्ब रूपैयाँले बढ्यो

कोरोना महामारी तथा पर्याप्त तरलता अभावबीच वाणिज्य बैंकहरूको खुद नाफा करिब तीन अर्ब रूपैयाँले वृद्धि भएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा सञ्चालनमा रहेका २७ बैंकहरूको नाफा ३४ अर्ब २१ करोड ६ लाख रूपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा ती बैंकहरूले करिब ३१ अर्ब ७ करोड ३२ लाख रूपैयाँ खुद नाफा गरेका थिए। यद्यपि पछिल्ला वर्षमा बैंकहरूको पुँजीको तुलनामा नाफा भने घट्दै गएको छ।  

चालु आर्थिक वर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै नाफा गर्ने बैंकमा ग्लोबल आइएमई रहेको छ। अघिल्लो वर्षको ६ महिनामा दुई अर्ब ३१ करोड रूपैयाँ खुद नाफा गरेको उक्त बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म दुई अर्ब ६६ करोड रूपैयाँ खुद नाफा गरेको छ।  

पछिल्लो ६ महिनामा धेरै कमाउनेमध्ये दोस्रोमा एनआइसी एसिया बैंक छ। उक्त बैंकले ६ महिनामा दुई अर्ब ४० करोड रूपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा उक्त बैंकले दुई अर्ब ६ करोड रूपैयाँ कमाएको थियो। गत वर्षको ६ महिनामा दुई अर्ब एक करोड रूपैयाँ नाफा गरेको नबिलले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्ब १८ करोड रूपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको ६ महिनामा एक अर्ब ७५ करोड रूपैयाँ नाफा गरेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यस वर्षको ६ महिनामा एक अर्ब ९२ करोड रूपैयाँ खुद नाफा गरेको छ। त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा करिब पौने दुई अर्ब रूपैयाँभन्दा बढी नाफा गरेको एनएमबि बैंक पनि नाफा कमाउने प्रतिस्पर्धामा अग्रस्थानमा छ।

गत वर्षको ६ महिनामा ६ महिनामा एक अर्ब ६१ करोड रूपैयाँ नाफा कमाएको उक्त बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक अर्ब ७१ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ। ६ महिनाको अवधिमा प्रतिशतको हिसाबले सबभन्दा बढी नाफा सिभिल बैंकले गरेको छ।

उक्त बैंकले यस अवधिमा गरेको ५० करोड ४० लाख रूपैयाँ नाफा गत वर्षको ६ महिनाको तुलनमा एक सय ४८.४१ प्रतिशतले बढी हो। त्यस्तै सिद्धार्थ बैंकले ७१.६८ प्रतिशतले नाफा बढाएको छ। सेञ्चुरी कमर्सियल बैंकले ५४.७७ र नेपाल एसबिआई बैंकले करिब ५२ प्रतिशतले नाफा बढाएका छन्।

सबै बैंकहरूको औसतमा ११ प्रतिशतले नाफा वृद्धि गरेपछि अधिकांश अर्ब कमाउने सूचीमा दरिएका छन्। ६ महिनामा अर्बपति क्लबमा पुगेका बैंकहरूमा ग्लोबल आइएमईले दुई अर्ब ६६ करोड, एनआइसी एसियाले दुई अर्ब ४० करोड, नबिलले दुई अर्ब १८ करोड रूपैयाँ कमाएका छन्।

त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ९२ करोड, एनएमबिले एक अर्ब ७१ करोड, प्राइम कमर्सियलले एक अर्ब ६७ करोड, नेपाल इन्भेस्टमेन्टले एक अर्ब ६२ करोड र सिद्धार्थ बैंकले एक अर्ब ५७ करोड रूपैयाँ खुद नाफा गरेका छन्। सोही अवधिमा एक अर्ब रूपैयाँभन्दा बढी नाफा गर्ने अन्य बैंकहरूमा मेगा (एक अर्ब ४० करोड), प्रभु (एक अर्ब २६ करोड), सिटिजन्स (एक अर्ब २४ करोड),  स्ट्यान्डर्ड चार्टर्ड (एक अर्ब आठ करोड), सानिमा (एक अर्ब सात करोड) र माछापुच्छ्रे (एक अर्ब एक करोड रूपैयाँ) रहेका छन्।

पाँच बैंकको नाफा घट्यो

चालु आर्थिक वर्षको ६ महिनामा पाँच बैंकको भने नाफा घटेको छ। नाफा घटेका बैंकहरूमा प्रभु, एभरेस्ट, नेपाल बंगलादेश, कुमारी र प्राइम हुन्। प्रभु बैंकको नाफा १६.९० र प्राइम बैंकको नाफा ७.४३ प्रतिशतले घटेको हो।

प्रतिसेयर आम्दानी घट्दो  

पुँजी अनुसार वाणिज्य बैंकहरूले नाफा बढाउन नसक्दा अधिकांशको प्रतिसेयर आम्दानी भने घट्दो क्रममा रहेको छ। बोनस सेयर र मर्जरको कारण बैंकहरूको पुँजी निरन्तर बढ्दो छ।

हालसम्म सबभन्दा बढी पुँजीे ग्लोबल आइएमई बैंकको २३ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ। ‘क’ वर्गको जनता बैंकलाई उसले मिसाएको पुँजी बढेको हो। कोरोना महामारीपछि नेपाल राष्ट्र बैंकले बोनस सेयरलाई प्रोत्साहन गरेको छ। जसले गर्दा पनि बैंकहरूको पुँजी वृद्धि भइरहेको छ।

बैंकहरूको पुँजी अनुसार व्यवसाय नाफा नबढेपछि प्रतिसेयर आम्दानी घट्दो क्रममा रहेको हो। चालु आर्थिक वर्षको पुस मसान्तसम्म २७ मध्ये १७ बैंकको प्रतिसेयर आम्दानी घटेको छ। प्रभु बैंक, राष्ट्रिय वाणिज्य, एभरेस्ट, नबिल, नेपाल बंगलादेश, सनराइज, कुमारी, प्राइम, सानिमा लगायतका बैंकको प्रतिसेयर आम्दानी घटेको छ।

यस अवधिमा सिद्धार्थ, सिभिल, स्ट्यान्डर्ड चार्टर्ड, एनआइसी एसिया, एनसिसी लगायत बैंकको भने प्रतिसेयर आम्दानी केही बढेको छ। बैंकरहरू सहज अवस्था भएको भए पछिल्लो ६ महिनामा बैंकहरूको आम्दानी २० प्रतिशतभन्दा बढी हुने दाबी गर्छन्। ‘यस अवधिमा एकातिर कोरोना महामारीको त्रास रह्यो भने अर्कोतर्फ लगानीका लागि पर्याप्त तरलता नै उपलब्ध भएन,’ एक बैंकरले भने, ‘कम्तीमा यी दुई अवस्था नआएको भए बैंकिङ क्षेत्रको कमाइ बेग्लै हुन्थ्यो।’

एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता

नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ।

राष्ट्र बैंकको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको बताइएको छ। एचआइडिसिएललाई बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम वित्तीय संस्थाको मान्यता दिइएको केन्द्रीय बैंकले जनाएको छ। एचआइडिसिएल ऊर्जा क्षेत्रको विकासका लागि स्थापना भएको हो। उक्त संस्थाको पुँजी २२ अर्ब रूपैयाँ छ।

प्रकाशित: १८ माघ २०७८ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App