६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

जोरबिजोर प्रणालीले झनै सकस

लेखक खगेन्द्र संग्रौला नियमितजसो सार्वजनिक यातायातमा यात्रा गर्छन्। तर, शनिबारदेखि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागु भएसँगै उनले राम्रोसँग सार्वजनिक यातायातमा चढेर यात्रा गर्न पाएका छैनन्।

यसै त काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित र भरपर्दाे छैन। त्यसमा पनि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएपछि त यात्रु अझै कोचिएर यात्रा गर्न विवश भएका छन्। थोरै सवारीसाधनमा कोचिएर यात्रा गर्दा सर्वसाधारणमा कोभिडको तेस्रो लहरको प्रभाव अझै बढ्ने जोखिम कायमै छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत माघ ७ गते बेलुका १२ बजेदेखि लागु हुने गरी सार्वजनिक यातायातमा उपत्यकामा जोरबिजोर प्रणाली लागु गरेसँगै अहिले यात्रुले झनै कोचिएर यात्रा गर्न बाध्य भएका छन्।

लेखक संगौलाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै जोरबिजोर प्रणालीले सास्ती खेप्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनी लेख्छन्, ‘मेरा आइजाइका साधन बस–टेम्पो थिए, जोरबिजोर नियमले मेरा साधन नै हरण गरिदियो। दुई वाहनमा बाँडिने यात्रु एउटैमा कोचिँदा बस र टेम्पोमा चढिनसक्नु भो। जोरबिजोरले भिड र संक्रमण बढाएको हेर्न सिडिओ सापहरूले यसो बस र टेम्पोमा चढी हेर्ने कष्ट गरिदिए बुद्धिको बिर्काे खुल्थ्यो कि!’

अहिले लेखक संग्रौला मात्रै होइन, काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढेर यात्रा गर्ने यात्रुले कोभिड महामारीको तेस्रो लहरमा झनै सार्वजनिक सवारीसाधनमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता आइपरेको छ।

तीनवटै जिल्ला प्रशासनले जोरबिजोर प्रणाली लागु गर्ने घोषणा गर्ने तर यात्रुको चाप र आवश्यकतालाई ध्यानमा नराख्दा सर्वसाधारण जनता निकै हन्डर खाँदै यात्रा गर्न बाध्य भएका छन्। यद्यपि यातायात व्यवसायीले पनि जोरबिजोर प्रणाली लागु नगर्न अनुरोध गर्दागर्दै पनि जोरबिजोर प्रणाली लागु गरिएको थियो।

ट्राफिक इन्जिनियर आशिष गजुरेल कोभिडको बेला सार्वजनिक यातायात थप गर्नुपर्ने उल्टै जोरबिजोर लगाउँदा कोभिड–१९ को उच्च जोखिम बढेको बताउँछन्। ‘राज्यले यस्तो बेला थप सार्वजनिक यातायात थपेर व्यवस्थित गर्नुपर्ने थियो। तर, उल्टै सार्वजनिक सवारी घटाउने निर्णयले कोभिड–१९ को जोखिम बढाइरहेको छ,’ उनले भने, ‘अहिले सार्वजनिक यातायात व्यवस्थित गराउने बेलामा उल्टै गलत खालको रणनीतिले अहिले झनै भिडभाड बढेको छ।’

ट्राफिक इन्जिनियर गजुरेल सार्वजनिक यातायातलाई व्यवस्थित नगर्दासम्म निजी सवारीको आकर्षण घटाउन नसकिने बताउँछन्। ‘यदि यो रणनीति बारम्बार लगाउने तर अन्य उपायहरूमा सार्वजनिक यातायातको व्यवस्थापन गरिएन भने निजी सवारीसाधन खरिद गर्न मानिस बाध्य हुन्छन् र एउटा परिवार दुईवटा सवारीसाधन खरिद गर्छन्,’ ट्राफिक इन्जिनियर गजुरेलले भने, ‘एउटा जोर र अर्काे बिजोर संकेत भएको। यसले गर्दा देशमा सवारीसाधनको संख्या बढ्न जान्छ।’

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले काठमाडौं उपत्यकामा मानिसको भिडभाड हटाउने उद्देश्यले जोरबिजोर प्रणाली लागु भए पनि जोरबिजोर प्रणालीको विषयमा छिट्टै समीक्षा गर्ने क्रममा रहेको बताए।

‘जोरबिजोर प्रणालीको प्रभाव कस्तो रह्यो र निरन्तरता दिने कि हेरहेर गर्ने भनेर समीक्षा गर्दै छौं। हामीभन्दा माथिल्लो निकाय गृह मन्त्रालय, सिसिएमसी, स्वास्थ्य मन्त्रालयलगायत निकायमा जानकारी पनि गराउनेछौं।’ प्रजिअ उपाध्यायले मान्छेको मुबिलिटी र भिडभाड कम गराउने उद्देश्यले जोरबिजोर प्रणाली लागु गरे पनि भिडभाड सोचेअनुसार नघटेको स्विकारे। ‘जोरबिजोर लगाउनुको उद्देश्य त मान्छेको मुबिलिटी घटाउने र भिडभाडलाई नियन्त्रण गर्ने भनेरै हो,’ उनले भने, ‘अब यसबाट भिड नियन्त्रण भएको छैन भन्ने गुनासो प्राप्त भइरहेको छ। त्यसप्रति पनि हामी संवेदनशील रहेका छौं। यसको विषयमा शीघ्र समीक्षा गरेर आवश्यक निर्णय गर्नेछौं।’

उपाध्यायले केही दिनभित्रै तीनवटै जिल्लाका सिडियोसापहरूबीच आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्ने बताएका छन्। उपाध्यायले फेरि पूर्ण रूपमा उपत्यकामा लकडाउन हुने विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सिट क्षमताभन्दा धेरै यात्रु चढाउने सार्वजनिक यातायातका साधनलाई कारबाही गर्दै आएको बताए।

महाशाखाका अनुसार माघ ११ गते बढी यात्रु चढाउने ३४ वटा सवारीसाधन कारबाहीमा परेका थिए। माघ १० गते ६८ वटा सवारीसाधन र माघ ९ गते १८ वटा सार्वजनिक सवारीसाधनलाई सिट क्षमताभन्दा धेरै यात्रु चढाएको भन्दै कारबाही गरेको जनाएको छ।

महाशाखाले सिट क्षमताभन्दा धेरै यात्रु चढाउने सार्वजनिक सवारीसाधनलाई ५ सयदेखि १५ सय रूपैयाँसम्मको जारिवाना तिराउँदै आइरहेको छ। महाशाखाका प्रवक्ता दासले यात्रुले कोचिएर यात्रा गर्नुपरेको भन्दै ट्राफिक प्रहरीको हटलाइन १०३ नम्बर र आफूलाई खबर नभएको दाबी गरे। ‘हामीले सिट क्षमताभन्दा पनि एक/दुई धेरै यात्रु चढाउने सार्वजनिक सवारीसाधनलाई पनि कारबाही गर्दै आइरहेका छौं,’ उनले भने, ‘बुधबार दिउँसो पनि उपत्यकाका तीनवटै जिल्लाका बजार घुमेर आएको थिएँ। तर, खासै भिडभाड देखिएन।’ महाशाखाका प्रवक्ताले भिडभाड नभएको दाबी गरे पनि बिहान र साँझको पिकआवरमा अहिले सार्वजनिक सवारीसाधनबाट यात्रा गर्दा यात्रुले निकै सास्ती खेपेका छन्।

अर्काेतर्फ सार्वजनिक सवारीसाधनमा पर्याप्त मात्रामा सेनिटाइजर र सामाजिक दुरीसमेत कायम गरिएको छैन। तीनवटा जिल्ला प्रशासन कार्यालयले माघ ६ गते आदेश जारी गर्दै तीनै जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर सवारीसाधन सञ्चालन गर्ने, सिट क्षमताभन्दा धेरै यात्रु नराख्ने, सबै यात्रुलाई अनिवार्य मास्क लगाउनुपर्ने, सवारीसाधनको ढोकामा र सवारीसाधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्नुपर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आए चालक वा सहचालकले बढीमा पाँच रूपैयाँ लिई मास्क उपलब्ध गराउने आदेश जारी गरे पनि ट्राफिक प्रहरी तथा यातायात व्यवस्था कार्यालयले नियमित अनुगमन तथा निरीक्षण नगर्दा सार्वजनिक यातायात भद्रगोल रूपमा सञ्चालन हुँदै आइरहेका छन्।

प्रकाशित: १४ माघ २०७८ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App