२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखरामा तीनदिने सडक महोत्सव सुरु

पोखरामा २३औं सडक महोत्सव बिहीबार सुरु भएको छ। महोत्सवको क्रममा तीन किलोमिटर सडक किनारमा होटल तथा रेस्टुरेन्टका स्टल, महोत्सवमा रमाउन आएका सर्वसाधारण र सांस्कृतिक झाँकीले भरिएका छन्। उक्त क्षेत्रमा आपतकालीन सेवा बाहेकका सवारी साधनलाई प्रतिबन्ध लगाइएको छ।

नयाँ अंग्रेजी वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटक आषर्कित गर्न रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले सडक महोत्सव गरेको हो। महोत्सव फिस्टेल गेटदेखि खहरेचोकसम्म तीन किलोमिटर क्षेत्रमा फैलिएको छ।

बिहीबार महोत्सवमा फरकफरक ठाउँका सांस्कृतिक झाँकी प्रदर्शन गरियो, जसमा भक्तपुरको कुमारी नाच, हिमाली जिल्लाको याक नाच, गुरुङ समुदायको छ्याँडु र घाटु नाच, भजन किर्तन, थारु नाच लगायत थिए।

‘अफ सिजनमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सडक महोत्सवलाई निरन्तरता दिँदै आएका हौं,’ महोत्सव संयोजक नरेश भट्टराईले भने, ‘यो महोत्सव मात्रै होइन। कोरोनाले आक्रान्त पारेको पर्यटन व्यवसायीलाई उत्थान गर्न यसले सहयोगी भूमिका खेल्ने विश्वास छ।’

सडक महोत्सवका परिकल्पनाकार गणेशबहादुर भट्टराईले महोत्सवलाई उत्पादनसँग जोड्दै लैजानुपर्नेमा जोड दिए। संस्कृति, हस्तकला, घरेलु उत्पादनलाई महोत्सवमार्फत प्रवद्र्धन गर्नुपर्ने भन्दै उद्यमी बन्न सिकाउने, गुणस्तरमा अब्बल बनाउने भूमिका पनि यसले खेल्नुपर्ने उनले बताए। विदेशका कला र संस्कृतिलाई समेत समेट्दै अन्तर्राष्ट्रिय स्तरको महोत्सव बनाउनुपर्ने उनको भनाइ थियो। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले महोत्सवलाई अझ प्रभावकारी र महोत्सवमा आउँआउँ लाग्ने बनाउनेतर्फ सबै जुट्नुपर्ने स्पष्ट पारे।

रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले पर्यटन प्रवर्द्धनमा महोत्सवसँगै अन्य अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। महोत्सवका अन्तर्गतको सांगीतिक कार्यक्रम कोमागाने पार्कमा गरिने बताइएको छ।

प्रकाशित: १६ पुस २०७८ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App