५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

उदयपुरगढीको ‘पुरानो गढी पुनर्निर्माण’ यसै वर्ष भईसक्ने

पुरानो गढी पुनर्निर्माणको कामको अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीलगायत। तस्बिर: महेश्वर/नागरिक

उदयपुरमा निर्माणाधीन ‘पुरानो गढी पुनर्निर्माण’ कार्य यसैवर्ष सक्ने गरी काम सुचारु भएको छ। पुरानो सदरमुकाम उदयपुरगढीमा उबेलाको इतिहास झल्काउँदै पर्यटन विकास गर्ने उद्देश्यले गाउँपालिकाले ३ वर्षअघि निर्माण थालेको पुरानो गढी पुनर्निर्माण कार्यलाई यसै वर्ष अन्तिम रुप दिन लागेको हो।

चालु आर्थिक वर्ष संघीय सरकारद्वारा उपलब्ध २ करोड ७५ लाख बजेटबाट गढीको पुनर्निर्माण भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए। उनका अनुसार चालु वर्षभित्रै गढी पुनर्निर्माण सक्नेगरी गढी गत मंसिरदेखि धमाधम काम भईरहेको छ। गएको असारमै ठेक्का सम्झौता गरेर धमाधम भईरहेको काम यही वर्ष सक्ने योजना गाउँपालिकाले बनाएको सुवेदीले बताए।

संघीय सरकारबाट नियोजित २ करोड ७५ लाख बजेटको कामका लागि गाउँपालिकाले टेण्डर आव्हान गर्दा निर्माण व्यवसायीबीचको प्रतिस्पर्धाबाट घटेर २ करोड १८ लाखमा ठेक्का सम्झौता भएको छ। असारमै भएको सम्झौता अनुसार ठेकेदार कम्पनी एडी/सिद्धगढी/निशान वेवी काठमाडौंले धमाधम काम गरिरहेको अधिकृत सुबेदीले बताए।

यो वर्ष गढीको पुनर्निर्मित बंकरलाई अन्तिम रुप दिदै काम सक्ने योजना प्राविधिक इस्टीमेटमा रहेको गाउँपालिकाका सव इन्जिनियर गौतम पराजुलीले बताए। उनका अनुसार वरिपरि बंकर बनाएर निकालिएको ५ सय मिटर व्याससहितको गोलाकार जमिनमा अव ८ वटा त्रिभुजाकार (अष्टकोण) बनाएर गढीको स्वरुप दिइनेछ।

गढी पुननिर्माणमा गतवर्षँ नै १ सय ३० मिटर लामो बंकर निर्माण भईसकेको छ। बाहिरी गारो ६ फिट र भित्रि गारो १४ फिट उचाईको बंकरक्षेत्रभित्र गढी, कोतखाना, इनार र बगैंचा निर्माण गरिने योजना छ। बंकरभन्दा केही मुनिको भागमा सार्वजनिक शौचालय बन्दैछ। शौचालयको जग निर्माण भईसकेको छ भने पुसभित्रै सक्ने गरी काम भईरहेको छ।

गढी पुनर्संरचना गर्दा गोलाकार जमिनमा गढीको स्वरुप निकाल्दा बनाइने संरचना ढुंगाको हुनेछ। त्यसका लागि काँचो ढुंगालाई चिल्लो र आयाताकारमा ढाल्ने काम भईरहेको छ। त्यसबेलाको गढीमा जस्तो संरचना थियो, उस्तै बनाउन आयताकार र कलात्मक बनाउन ढुंगा मठार्ने उपकरण (मेसिन)को प्रयोग भईरहेको छ। अहिले ३ जना कालीगढले मेसिनमार्फत ढुंगा कुँद्ने काम भईरहेको छ भने ज्यामी र डकर्मीको समूह शौचालय भबन निर्माणमा जुटिरहेको छ।

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले उदयपुरगढी नेपालका १ सय पर्यटकीय गन्तव्यमध्येको एक भएको बताए। उनका अनुसार नेपाल सरकारले २ वर्षअघि घोषणा गरेको ‘भिजिट २०२०’को क्रममा गढीलाई सय गन्तव्यमध्येमा समावेश गरेको थियो। तर, भ्रमण वर्ष सुरु हुनुअघि नै विश्वभर कोविड महामारी आईलागेपछि पर्यटकीय गतिबिधि नगरी दुईवर्ष बितिसकेको छ। कोविड कहरबाट मुलुक ङ्ग्रदै गएसँगै पर्यटकीय गतिबिधि बढाउने क्रममा गढी पुनर्निर्माण कार्यलाई पनि तीब्रता दिइएको उनले बताए।

अध्यक्ष मगरका अनुसार उदयपुरगढीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पुरानो गढी पुनर्निर्माणको खाका अघि सारेको हो। जसका लागि आर्थिकवर्ष ०७६/७७ मा पर्यटन मन्त्रालयबाट प्राप्त ५० लाख सहयोगबाट बंकर निर्माण सुरु भयो। बोधकुमार घिमिरे नेतृत्वको उपभोक्ता समितिमार्फत निर्मित बंकर बनाउन सोही वर्ष गाउँपालिकाले २२ लाख खर्च गरेको थियो। त्यही बजेटले बंकर निर्माण भईसकेकाले चालु वर्षको बजेटबाट गढीलाई अन्तिम रुप दिने योजना रहेको अध्यक्ष मगरले बताए।

तत्कालीन राजा पृथ्बीनारायण शाहका सेनाले २२ से २४ से राज्यको रुपमा रहेको उदयपुरका चौदण्डीगढी र उदयपुरगढीलाई कब्जामा लिएको थियो। हालको चौदण्डीगढी नगरपालिका १ मा पर्ने चौदण्डीगढी राज्यको सहायक मुकाम रहेको उदयपुरगढीलाई पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा कब्जा गरेर युद्धपोत स्थापना गरेको इतिहास सम्झाउन पुननिर्माण कार्य भईरहेको अध्यक्ष मगरले बताए। इतिहास स्मरण गराउन पुरानो गढीको पुनर्सरचना थालिएको र यसको मुल उदेश्य गाउँपालिकालाई पर्यटकीय केन्द्र बनाउने नै भएको उनको भनाई छ।

वडा नं. ५ मा रहेको पुरानो गढीक्षेत्र पुग्न गाउँपालिका केन्द्रदेखि पैदल १० मिनट लाग्ने झण्डै एक किलोमिटर दूरीमा रहेको छ। झण्डै दुईसय ५० वर्षअघिको पुरानो गढीको भग्नावशेषलाई पुनर्जीवन दिदै गढी पुनर्सरचना गर्न लागेको निर्माण उपभोक्ता समितिका अध्यक्ष घिमिरेले बताए। उनका अनुसार पुरानो गढी, तत्कालीन सैनिक बंर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनाको भग्नावशेषका संरचना पनि त्यहाँ रहनेछन्।

बीचमा दमस्याईलो थुम्को तथा आसपास तलतिर भिरालो हुँदै गएको उदयपुगढी अत्यन्त मनमोहक र पर्यटकीय विकासको प्रचुर संभावना बोकेको ठाउँ हो। उदयपुर सदरमुकाम त्यहाँ ०२८ सालसम्म थियो। त्यतिबेलै ५ मिटर चौडाईको कच्ची सडक खन्दै गरेका बेला ०२९ सालमा हालको सदरमुकाम गाईघाट सारेपछि गढी क्षेत्र बिरानो बन्दै गएको हो। सदरमुकाम हटेसँगै अवसर र रोजगारीका लागि दक्ष जनशक्ति गाउँ छाड्दै गएपछि पुरै गढी भग्नावेशषमा सीमित हुन पुगेको थियो।

गढीमा साविक पञ्चावती गाविस, जिल्लाको सबभन्दा पुरानो र जेठो मावि पञ्चावती (१–१२), प्रहरी चौकी, स्वास्थ्यचौकी, इलाका हुलाक, कृषि तथा भेट्नरीजस्ता सरकारी कार्यालयहरु रहे पनि खानेपानीको असुविधाका कारण आकर्षण घट्दै गएर उजाडिदै गएको थियो। ०७३ मा स्थानीयतह पुनर्संरचना भएपछि ०७४ मा भएको निर्वाचनसँगै गाउँपालिका केन्द्र भएपछि गढीक्षेत्र फेरि पहिलेकै अवस्थामा फर्कदै गएको गाउँपालिकाका कृषि प्राविधिक पारश फुयाँलले बताए।

उनका अनुसार गाउँपालिका भवननजिकै ५० फिट अग्लो भ्यु टावर निर्माणको अन्तिम चरणमा पुगिसकेको छ। वरिपरि दुईतीनसय वर्ष पुराना बरपिपल, पञ्चावती मन्दिर छन्। उयदपुरगढी गाउँपालिका साविकका पञ्चावति, तावाश्री, बर्रे, डुम्रे र भलायडाँडा गाविस समेटेर पुनर्संरचना गरिएको हो।

प्रकाशित: ११ पुस २०७८ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App