१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

बैंकहरु अपाङ्गमैत्री नहुँदा सकस

प्रदेश मुख्यमन्त्रीको कार्यालयमा माग प्रस्तुत गर्न जाँदा अपाङ्ग संघ उदयपुरका अध्यक्ष राईलगायत। तस्बिर: महेश्वर/नागरिक

गएको दसैंताका अपाङ्गता भएका बुद्ध श्रेष्ठ खुद्रा (चानचुने) पैसा साट्न सदरमुकाम गाईघाटस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय पुगे। लौरोको सहाराले मुस्किलले २/४ मिनट उभिन सक्ने श्रेष्ठ एक सहयोगीका साथ विहान ९ नबजि ह्वीलचेयरमा पुगेका थिए। उनी पुग्दा पैसा साट्नेहरुको लाईन झण्डै दुईसय मिटर लम्बिइसकेको थियो। उनी ह्वीलचेयरमै लाईन लागे।  

झण्डै दुईघण्टापछि उनी घिस्रदै बैंक गेटनजिक पुगे, तर ह्वीलचेयर गुड्ने बाटो भए पो! उनलाई बैंकसम्म पुर्‍याईदिने सहयोगी फर्किसकेका थिए। उनलाई फसाद पर्‍यो। बल्लबल्ल एक अपरिचितले ह्वीलचेयर उचालिदिएर काउन्टरसम्म छिर्न सके। उभिन नसक्ने हुँदा चेक साट्न, पैसा लिन पनि उनले अपरिचितहरुकै सहयोग लिनु प¥यो। फर्कदा काउन्टरबाट सडकसम्म ओर्लन पनि अरुकै सहारा चाहियो। काउन्टरको भित्तो अग्लो हुने भएकाले बैंक कर्मचारीसँग देखादेख गर्नै नपाई पैसा लिएर घण्टौंपछि घर फर्के।  

अर्का अपाङ्गता भएका चन्द्रकुमार राईले पनि त्यस्तो समस्यामा बारम्बार भोग्दै आएका छन्। थ्री ह्वीलर स्कुटी चढ्ने गरेका राई स्कुटीबाट ओर्लेपछि चारपाउ टेक्दै हिड्ने गर्छन्। उनलाई पनि बैंक धाउँदा अचाक्ली असहज हुने गरेको छ। तर, चारपाउ गरेरै काउन्टर धाउँने, तल्लो माथिल्लो तला चढेर बैंक कर्मचारीसँग हाईहेल्लो गर्दै कारोबार गर्ने गर्छन्। 

नेपाल राष्ट्रिय अपाङ्ग संघ उदयपुरका अध्यक्षसमेत रहेकाले पनि उनलाई बैंकिङ कारोबारसँगै अन्य कामले पनि भेटघाट गर्नुपर्ने बाध्यता छ। अर्का अपाङ्ता युवक कैलाश परियार गाईघाटबाट प्रकाशित हुने स्थानीय पत्रिकाहरु बिक्रीबितरण (हकर)को काम गर्छन्। जन्मै पोलियोले अपाङ्गता भएका उनी ‘ह्याण्ड ड्राईभ’ ह्वीलचेयर चलाउँछन्। बजारक्षेत्रमा बितरणको जिम्मा लिएका उनलाई गाईघाटका सबै बिभिन्न कार्यालयसँगै बैंकहरुमा पनि पत्रिका दिनुपर्ने हुन्छ। ह्वीलचेयर बैंकसम्म पुग्न नसक्ने भएपछि सडकबाटै पाले (चौकीदार)लाई बोलाएर पत्रिका दिन्छन्। पैसा साट्नु पर्दा पनि उनी चौकीदार या त कोही तेस्रो व्यक्तिकै सहारा लिनुपर्ने हुन्छ।  

माथिका व्यक्तिहरु प्रतिनिधि पात्र मात्र हुन्। गाईघाटमा सञ्चालित डेढदर्जन बैंक तथा बित्तीय संस्थाहरु कुनै पनि अपाङ्गमैत्री छैनन्। सरकारी स्वामित्वका पुराना बैंकहरु राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकसमेत अपाङ्गमैत्री छैनन् निजी बैंकको त के कुरा? निजी बैंकहरु एनआईसी एसिया, ग्लोबल आईएमइ, एनसीसी, इन्भेस्टमेन्ट, ज्योति, सिद्धार्थ, मेघा, प्रभु, सिटिजन्स, कामना, नबिल, माछापुछ्रे, सानिमा, लक्ष्मी बैंकहरु कुनै पनि अपाङ्गमैत्री बनेका छैनन्।  

बैंकहरु अपाङ्गमैत्री नहुँदा धेरै समस्या भोग्नु परेको अध्यक्ष राई बताउँछन्। उनका अनुसार अहिलेको जमानामा सबै कारोबार बैंकमार्फत हुने गर्छ। सानोभन्दा सानो रकम पनि बैंकिङ प्रणालीबाट भुक्तानी लिने/दिने व्यवस्थाले बैंक नधाई नहुने अवस्था छ। तर,, जति बैंकहरु खुले, कुनैपनि अपाङ्गमैत्री बन्न नसकेको उनको गुनासो छ।  

हुन त ३÷४ वर्षअघि नै अपाङ्ग संघले तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई भेटेर जिल्लाका सबै सरकारी कार्यालय तथा बित्तीय संस्थाहरु अपाङ्गमैत्री बनाउन आग्रहसमेत गरिसकेको उनी बताउँछन्। तर, माग गरेको वर्षौ भईसक्दा पनि सम्बन्धित निकायको सोँचाईमा परिवर्तन आएन, त्यसैले अव फेरि एकपटक प्रशासन गुहार्ने योजना बनाएको अध्यक्ष राईले बताए। ‘सबलाङ्गहरु आफुजस्तै ठानेर भौतिक संरचनाहरु बनाउँछन्, हामीलाई त्यसले कति समस्या पार्छ भन्ने हेक्कै राख्दैनन्’ उनी भन्छन् ‘कमसेकम सार्वजनिक संस्थाहरु, सरकारी कार्यालयहरु त अपाङ्गमैत्री बनाउनुपर्छ नि।’

बैंक जाँदा सरासर छिर्न नसक्ने मात्र होईन, कर्मचारीसँग कुराकानी गर्नुपरे हेराहेर गरेर गर्न नपाउने, मेनेजरसँग त भेट हुनै नसक्ने समस्या अपाङ्गता भएकाहरुलाई छ। ‘अपाङ्गमैत्री संरचना भए पो सरासर गुडेर जान, बोल्न पाइन्छ’ उनी भन्छन् ‘हाम्रो समस्या नबुझ्ने संरचना निर्माणले सडकमै ह्वीलचेयर छाडेर जानुपर्ने या सँधै सहयोगीको सहारा लिनुपर्ने बाध्यता छ। त्यसैले बैंकहरु तत्काल अपाङ्गमैत्री बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ।’

अपाङ्ग संघ उदयपुरका अनुसार जिल्लामा झण्डै २ हजार ८ सय हाराहारी अपाङ्गता नागरिकहरु छन्। यो तथ्याङ्क साविक जिल्ला महिला तथा बालबालिका कार्यालयको हो। संघीय संरचनासँगै त्यो कार्यालय हटेर स्थानीयतहमा समायोजन भईसकेको छ। पछिल्लो समय स्थानीयतहमार्फत अपाङ्गता नागरिकको खोजी, पहिचान गर्ने, परिचयपत्र बितरण तथा सेवा सुविधाको भरणपोषणजस्ता सबै काम हुने भएकाले यो संख्या बढेको अनुमान राईको छ।  

गाईघाटको सबभन्दा पुरानो बैंक राष्ट्रिय बाणिज्य बैंक शाखाका प्रबन्धक विष्णु भट्टराईले अरुकै घर भाडामा लिएर चलाउनुपर्दा अपाङ्गमैत्री हुन नसकेको बताए। उनको अनुमान अनुसार सदरमुृकाममा रहेका सबै बैंक भाडाकै घरमा भएकाले पनि यो समस्या सबैमा रहेको हो। पछिल्लो समय मात्र बजार बिस्तार भएको हुनाले गाईघाटमा कुनै पनि बैंकको आफ्नो भवन नभएकाले भाडाको भवनमा बैंक राख्नुपर्दा अपाङ्गमैत्री हुन नसकेको भट्टराईको भनाई छ।  

राष्ट्रिय बाणिज्य बैंकलाई भने अव पुनर्सरचना गरेर अपाङ्गमैत्री बनाउने योजना अघि सारेको उनले बताए। ‘हाम्रो भवन पनि भाडाकै भएकाले अहिलेसम्म अपाङ्गमैत्री हुन सकेको छैन, त्यसले गर्दा धेरै गुनासो आईसक्यो’ मेनेजर भट्टराईले भने ‘हामी अव यसै आर्थिक वर्षभित्र भवनको तल्लो तलालाई रिस्ट्रक्चर गरेर अपाङ्गमैत्री बनाउने योजनामा छौँ।’

प्रकाशित: २८ मंसिर २०७८ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App